+
+

दयाहाङलाई पछ्याउँदै फिल्ममा डेब्यु गर्न लागेका किरण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १४:४९

काठमाडौं । तपाईं नाटकको नियमित दर्शक हुनुहुन्छ भने किरण श्रेष्ठ नयाँ नाम होइन । मण्डला थिएटरका यी कलाकारले १३ नाटकमा अभिनय गरिसके । दयाहाङ राईका यी विद्यार्थी अब भने फिल्ममा भाग्य खोज्दैछन् ।

उनको डेब्यु फिल्म ‘पर्खिबसें तिमीलाई’ पुस २७ गते प्रदर्शन हुँदैछ । सात वर्ष लगातार रंगमञ्चमा देखिएका उनी अब भने एक्सन–कट्तिर सोझिएका छन् । दीपक श्रेष्ठ निर्देशित यो रोमान्टिक फिल्ममा किरणको शीर्ष भूमिका छ जहाँ उनले रक्षा बुढाथोकीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

उनी यो मेसोमा फिल्म खेल्दैछन्, जुन समयमा उनलाई अभिनय सिकाउने गुरु दयाहाङ राईको जगजगी बक्स अफिसमा छ । कुल मिलाएर भन्दा उनी दयाहाङ, अनुप बराल, सुनिल पोखरेल र सौगात मल्लपछि नाटकको दोस्रो पुस्ताका कलाकार हुन् । अनलाइनखबरसँग कुरा गर्दा उनले आफ्ना लागि फिल्म पनि किन महत्वपूर्ण छ भन्ने चर्चा गरे ।

उनले आफ्नो कलालाई विश्वव्यापी फैलाउन चाहेको बताए । ‘फिल्म र नाटकमा गर्ने त एउटै हो । तर माध्यम फरक हुन् । नाटकलाई बढीमा हेर्ने भनेको हजारदेखि दुई हजारले हो । फिल्मबाट विश्वव्यापी जान सकियोस् र कलालाई विश्वका दर्शकले हेर्न सकुन् भन्ने उद्देश्य हो,’ किशोरले भने ।

किरणलाई लाग्छ फिल्ममा अभिनय गर्न केही प्राविधिक हुनु जरुरी छ । ‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा लाइभ एक्टिङ गर्थ्यौं । फिल्ममा चाहिं रेकर्डेड हुन्छ । फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ,’ उनले अनुभव सुनाए ।

खासमा नेटफ्लिक्सको एक सिरिजको अडिसनका लागि मुम्बई जाने तयारीमा थिए किशोर । त्यहीबेला निर्देशक दीपकले उनलाई फिल्मको प्रस्ताव राखे । आफ्नो रोल, स्क्रिप्ट र टिम काइदाको ठानेपछि किशोरले फिल्ममै हामफाल्ने निधो गरे । त्यसपछि उनको फिल्म यात्रा सुरु भयो ।

निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खिबसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई ब्रेक दिएका थिए । यसपटक पनि उनले किशोर र रक्षालाई ब्रेक दिएका छन् । नाम चलेको निर्देशक र ब्यानरबाट लिड रोलमा खेल्न पाउनु पक्कै पनि किशोरका लागि खुसीको कुरा हो ।

यो फिल्मको कथा अहिलेको समाजको कथा भएको बताउँछन् । ‘मुख्य कुरा अहिलेको यथार्थसँग आधारित छ । कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो,’ उनी भन्छन् ।

उनी को–एक्टर बुढाथोकीको पनि प्रशंसा गर्छन् । ‘उहाँले पात्रलाई न्याय गर्नुभएको छ । स्वभाव सकारात्मक छ । काम गर्दा खुसी लाग्यो,’ उनले भने ।

स्टार बन्ने चाहना कसको नहोला ? स्टार भइसकेकालाई एक्टर बन्ने चाहना पनि होला । किरणलाई भने स्टार र एक्टर दुवै भन्ने रुचि छ । भन्छन्, ‘दुईवटा चुज गर्दा म एक्टर चुज गर्छु । एक्टर स्टार हुन्छ, स्टार एक्टर हुन सक्दैन जस्तो लाग्छ । मेरो भोगाइले त्यो बुझेको छ ।’

तर उनी हलसम्म दर्शक तान्न स्टारको खाँचो पनि देख्छन् । ‘अहिलेका लागि यी दुवै जरुरी हो,’ उनी भन्छन् । उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?