+
+

सन् २०२४ मा भारतीय फिल्ममा ३ हजार ७६५ करोडको दाउ, शाहरुखले लिनेछन् ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १२:१८

काठमाडौं । आइतबार सन् २०२३ को अन्तिम दिन । विश्व नयाँ वर्ष २०२४ को स्वागतको तयारीमा जुटेको छ । यस्तोमा बलिउडका लागि नयाँ वर्ष खास हुनेछ ।

भारतीय फिल्ममा आउने वर्ष केही रोचक कुरा हुँदैछन् । सोही वर्षमा अमिताभ बच्चन र रजनीकान्त ३३ वर्षपछि एकसाथ देखिनेछन् । नयाँसालमा अभिनेता शाहरुख खानले ब्रेक लिनेछन् ।

२५ वर्षपछि सलमान खान र करण जोहर फिल्म ‘द बुल’मा काम गर्दैछन् । कार्तिक आर्यनका दुई फिल्म रिलिज हुनेछन् । पहिलो पटक आलिया भट्ट एक्सन अवतारमा देखिनेछन् । ‘ओ स्त्री कल आना’को श्रृंखला पुनः आउनेछ ।

अगस्टमा ‘क्रान्ति’ रिलिज हुँदा बलिउड र टलिउड आमनेसामने हुनेछन् । यो वर्ष फिल्म उद्योगमा करिब ३ हजार ७६५ करोड भारु लगानी गरिएको छ । केही ठूला र रोमाञ्चक बलिउड फिल्म २०२४ मा रिलिजको लागि तयार छन् ।

जनवरीमा पहिलोपटक ऋतिक रोशन र दीपिका पादुकोण फिल्म ‘फाइटर’मा एकसाथ देखिनेछन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्मको बजेट २५० करोड भारु छ । निर्माताले यो फिल्मलाई भारतको पहिलो एरियल–एक्सन फ्रेन्चाइजको रूपमा आउनेछ । यो फिल्म गणतन्त्र दिवसको अवसरमा रिलिज हुँदैछ । फिल्ममा अनिल कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

क्रिसमस सकिएको एक साता बित्न लागेको छ । यस्तोमा कटरिना कैफ र विजय सेतुपति १२ जनवरीमा आफ्ना दर्शकका लागि क्रिसमस उपहार ‘मेरी क्रिसमस’ ल्याएर आउँदैछन् । फिल्मको कथा एक रातको वरिपरि घुम्छ, जहाँ विजय र कट्रिना क्रिसमसको दिन भेट्छन् र त्यसपछि उनीहरूले सँगै मनाउने निर्णय गर्छन् ।

गत वर्ष पंकज त्रिपाठीका लागि उत्कृष्ट वर्ष साबित भयो । जहाँ उनको ‘ओएमजी २’ ले बक्स अफिसमा राम्रै पैसा कमायो । यसले पंकज त्रिपाठीले फिल्मलाई मुख्य भूमिकामा लैजान सक्छ भन्ने विश्वास पनि दिलायो । पंकज त्रिपाठीले यो वर्ष पनि आफ्नो जादुलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । जनवरी १९ मा रिलिज हुने फिल्म ‘मै अटल हूं’ मा पंकज भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिनेछन् ।

फेब्रुअरी २३ मा विद्युत जामवालको एक्सन फिल्म ‘क्र्याक’, फेब्रुअरी १६ मा ‘सोरारई पोटरु’ प्रदर्शन हुनेछन् । मार्च १ मा ‘एक्सिडेन्ट या कन्स्पिरेसी गोधरा’ मार्च २ मा ‘नुरानी चेहरा’ र सिद्धार्थ मलहोत्राको ‘योद्धा’ प्रदर्शन हुनेछन् ।

अप्रिलमा रिलिज हुन लागेको ‘देवरा’बाट जान्हवी कपुरले दक्षिण भारतीय फिल्ममा डेब्यु गर्दैछिन् । ३०० करोडको बजेटमा बनेको यस फिल्ममा जुनियर एनटीआर मुख्य भूमिकामा हुनेछन् । फिल्मका निर्देशक कोरतला शिव हुन् । सोही महिनामा अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मिया र छोटे मिया’ रिलिज हुनेछन् ।

वरुण धवन स्टारर भीडी–१८ मे ३० मा रिलिज हुँदैछ । यो सुपरहिट तमिल फिल्म थेरीको रिमेक हो । यो एक्सन ड्रामा फिल्ममा कीर्ति सुरेश र वामिका गब्बी पनि देखिनेछन् । शाहरुख खानको फिल्म ‘जवान’का निर्देशक एट्लीले यो फिल्म निर्माण गर्दैछन् ।

जुन १४ मा कार्तिक आर्यन स्टारर ‘चंदू च्याम्पियन’ प्रदर्शन हुँदैछ । जुलाई महिनामा ठूला फिल्मको रिलिज मिति तोकिएको छैन । अगस्ट १५ मा रोहित सेट्टीको सिंघम फ्रेन्चाइजी फिल्म ‘सिंघम अगेन’ रिलिज हुनेछ । अगस्ट १६ मा ‘स्त्री २’ प्रदर्शन हुने तयारीमा छ । अगस्ट महिनामा ‘पुष्पा २’ पनि आउन सक्ने बताइएको छ ।

सेप्टेम्बर २७ मा आलिया भट्ट स्टारर फिल्म ‘जिगरा’ प्रदर्शन हुनेछ । यो उनको पहिलो एक्सन फिल्म हो । अक्टोबर अक्षय कुमार स्टारर ‘स्काइ फोर्स’ प्रदर्शन हुनेछ ।

नोभेम्बरमा कार्तिक आर्यनको भूलभुलैया ३, इमरजेन्सी रिलिज हुनेछन् । डिसेम्बर २० मा अक्षयकुमार र परेश रावलको ‘वेलकम टु द जंगल’ प्रदर्शन हुनेछ ।

सलमान र करणको फिल्म ‘द बुल’को प्रदर्शन मिति यकिन नभए पनि आगामी इदमा रिलिज हुनसक्छ । सलमान सन् १९९८ मा करण जोहर निर्देशित फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । तर त्यसपछि सलमान–करणले सँगै काम गरेका छैनन् ।

करण जोहरले यस वर्ष वरुण धवनसँग आफ्नो ‘हम्प्टी शर्मा की दुल्हनिया’ फ्रेन्चाइजलाई अगाडि बढाउन सक्छन् । यो कमेडी ड्रामा फिल्ममा आलिया भट्ट देखिनेछिन् । रमेश तौरानीको ब्यानरमा बनेको दुल्हनिया ३ फिल्म २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुनेछ ।

साउथका ठूला फिल्म पनि सन् २०२४ मा प्रदर्शन हुनेछन् । आगामी वर्ष दक्षिण भारतमा पनि ठूला फिल्मको लाइनअप देखिएको छ । ‘थलाइवर १७०’ मा सुपरस्टारद्वय अमिताभ बच्चन र रजनीकान्त ३३ वर्षपछि एकसाथ देखिनेछन् । यो रजनीकान्तको करिअरको १७० औं फिल्म हुनेछ ।

वर्षको अन्त्यमा ‘कान्तारा २’ रिलिज गर्ने तयारी छ । १२ जनवरीमा ‘हनुमान’ रिलिज हुँदैछ ।

सन् २०२३ को कुरा गर्दा पठान, जवान, गदर २, ओएमजी २, रकी और रानीकी प्रेम कहानी, द केरला स्टोरी, एनिमल र सलार व्यावसायिक रुपमा सफल फिल्म रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?