+
+

पर्दा भित्र, पर्दा बाहिर : आज लासले छोराछोरी कुर्छ

भेषराज बुढाथोकी  भेषराज बुढाथोकी 
२०८० पुष १६ गते १२:०६
एआई सिर्जित तस्विर

बङ्गलादेशमा आम चुनाव सम्मुखमा छ। अब केही पाइला हिंडेपछि देश ‘चुनाव-चोक’ मा पुग्नेछ । त्यसैले यहाँका चोक, सडक, गल्ली र भित्ताहरू झण्डा, पर्चा, पम्प्लेटले भरिभराउ छन् । बिहेमण्डपमा सिंगारिएकी बेहुली जस्तै छ- रंगपुर। जताततै कागजको जंगल देख्न सकिन्छ । नेताहरू यति ‘महा-चतुर’ छन् कि उनीहरू जनतालाई सपना पनि कागजमा बाँड्छन् । आश्वासन गीतबाट दिन्छन् । यो देश–विदेश सबैतिरको नियति हो ।

मेरा गाउँको भाषामा डिसेम्बर सकिन ‘एक सल्ली बेल’ (केही दूरी) छ । डिसेम्बरले चिसोसँग अंकमाल गरेको छ । डिसेम्बर र चिसो दुवै ‘जनवरी’लाई स्वागत गर्ने तयारीमा छन् । त्यसपछि चिसो र जनवरी आधा-बाटो सँगै हिंड्नेछन् । अनि यो शृङ्खलाबाट डिसेम्बर बिदाइको हात हल्लाउँदै छुट्टी जानेछ ।

झ्याल खुला छ । आधा पर्दा छ । आधा हुनु भनेको अस्तित्व रहिरहनु पनि हो । पर्दा भित्र एक्लो म छु । पर्दा बाहिर एक्लो सुपारीको अग्लो रूख छ । जोडले बतास चल्यो । सुपारीको पात झर्‍यो । बतासले सुपारीको पात मेरो बेडमै बोकी ल्यायो । यो बतास के के बोकी ल्याउँछ ल्याउँछ । कहिले फूलको सुगन्ध बोकी ल्याउँछ । कहिले टिष्टा नदीको चिस्यान बोकी ल्याउँछ । सपना र बतास उस्तै त रहेछन् । सपनाले कहिले बाजुरा बोकेर मेरो जिम्मा लाउँछ । कहिले हिमाल बोकेर मेरो छातीमा राख्छ । सपना आफू विलाउँछ। कहिले त सपना भन्दा अगाडि मेरो गाउँ आउँछ ।

कलेजबाट आएर सुत्ने समय हो, यो । म प्रायः सुत्ने बेला गीत सुन्छु । दुलोबाट छेपारो निस्केला र च्याप्प समाउँला भनेर चुपचाप तयारी अवस्थामा रहेको सर्प जस्तो एकाग्र ध्यानपूर्वक युट्युबमा नारायणगोपालको गीत सुनिरहेको छु-

‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको । कहाँ हो कहाँ बादल भित्र म रोइरहेको !’

विडम्बना यो गीत लेख्ने राष्ट्रकवि माधवप्रसाद घिमिरे र गाउने नारायणगोपाल आज हामीमाझ हुनुहुन्न । तर उहाँहरूका सिर्जना अमर छन् । आफू मरेर जाँदा समाजमा आफ्नो ज्यूँदो छाप छोड्न सके मात्रै आफ्नो जन्म सार्थक हुन्छ।  मैले कतै पढेको थिएँ, राष्ट्रकविले गीत लेखेर गाउन नारायणगोपाललाई दिंदा उहाँले भन्नुभएछ, ‘मर्स्याङ्दी सुसाएको नहेरी म यो गीत गाउँदिनँ ।’  एकदिन नारायणगोपाल मर्स्याङ्दी सुसाएको हेर्न मात्रै मर्स्याङ्दीको तीरै तीर हिंड्नुभएछ । यो चिज सुन्दा मात्रै कति मज्जा लाग्छ। अचेल गायकहरू खोला नघुमी खोलाको गीत गाउँछन् ।  वन नघुमी न्याउलीको गीत गाउँछन् । यो बेला  शहरमा पढेको बच्चालाई ‘दूध कसले दिन्छ बाबु ?’ भनेर सोध्दा ‘डेरीले अंकल’ भनेको सम्झिन्छु ।

भेषराज बुढाथोकी 

रेड नोटिस जारी भएको कुनै अपराधीलाई समात्न प्रहरी जसरी उसको डेरामा पस्छन् त्यस्तै मेरा साथीहरू एक–एक गरेर मेरो डेरामा पसे । एउटा साथीले मोबाइल खोस्यो र भन्यो, ‘आज घुम्न जान्छस् कि नाइँ ? जान्छस् भने मात्रै मोबाइल दिन्छु ।’

यति नगर्दासम्म म खटियाबाट तल झर्दिनँ भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ । म ‘महा-अल्छी’ छु । एक जना साथीले थप्यो- ‘खाना खान र ट्वाइलेट गर्न नपरे यो बेडबाट कतै हल्लिंदैनथ्यो होला  है ?’ अर्कोले थप्यो- ‘हैन, भूकम्प आउँदा त यो सबभन्दा पहिले भाग्छ ।’ सबै जना एकसाथ हाँसे।

उनीहरूले बाहिरबाट चुकुल लगाए र भने, ‘छिटो रेडी हो ।’  मैले फटाफट पेन्ट र सर्ट लगाएँ । फोटो राम्रो आओस् भनेर ढाका टोपी खोजें तर भेटिनँ । खोजेको बेला केही भेटिंदैन । नखोजेको बेला पनि भेटिने भनेको त समस्याको चाङ मात्रै हो । ऐनामा एक पटक आफ्नो अनुहार हेरें । मुसुक्क मुस्कुराएँ । सबैलाई अरूको चिज मात्रै राम्रो लाग्छ । मलाई पनि आफ्नो अनुहार राम्रो लागेन। कोठामा ताला लगाएँ र हामी निस्कियौं- घुम्न ।

 000

‘घुम्न कहाँ जाने ?’ भनेर मैले सोध्दा- उनीहरूले मलाई एक ‘भालो जग्गा’ (राम्रो ठाउँ) भनेका थिए। तर अटो कतै नरोकी त्यो ठाउँबाट निकै अगाडि गइसक्यो । त्यसपछि मलाई लाग्यो- यिनीहरूले मलाई झुक्याएर अन्यत्रै लैजान थालेका छन्। मैले मनमनै आफैंलाई भनें- ‘बुढ्थोकी सर कुछ गडबड है !’

एउटा साथीले खल्तीबाट मोबाइल झिक्यो । फोन डायल गरेर भन्यो, ‘मामा, सात जनाको टिकट काटी देउन।’ बल्ल थाहा भो, साथीहरूको प्लान फिल्म हेर्न जाने रहेछ। त्यो फोन टिकट काउण्टरमा गरेको रहेछ ।

हल दोस्रो तलामा थियो । भुइँतलामा ठूलो पोष्टर थियो र त्यहाँ लेखिएको थियो – ‘डंकी’ अनि त्यहाँ ठूलो फोटो थियो -शाहरूख खान, विक्की कौशल र साथीहरूको ।

फटाफट भर्‍याङ चढेर एकतला माथि गयौं । ढोकामा उभिएको ठूलो मान्छेले हाम्रो टिकट र सङ्ख्या यकिन गर्यो । चेक-जाँच गर्यो। सब फत्ते भएपछि हातले इशारा गरेर जान भन्यो।  हामी सीटमा गएर बस्यौं ।

 000

सिनेमा ‘डंकी’ राजकुमार हिरानीले निर्देशन गरेका रहेछन् ।

यो चलचित्रमा अभिनेता शाहरूख खान, सैनिक हरदयाल सिंह ढिल्लन उर्फ हार्डीको भूमिकामा छन् । तीन जना साथीहरूको एक समूहलाई विना भिसा, विना टिकट उनीहरूको सपनाको देश ‘इङ्गल्याण्ड’ पुर्याउन शाहरूख खान ‘जोखिमपूर्ण  जिम्मेवारी’ काँधमा बोक्छन् ।

उनीहरू अवैध आप्रवासीको रूपमा आफ्नो यात्रा आफैं तय गर्छन् । आफ्नो बाटो आफैं बनाउँछन्। चुनौती र खतराको धारमा उनीहरूको जीवन हिंडिरहेको हुन्छ । हृदयमा युके पुगिछाड्ने सपना बोकेर, हत्केलामा ज्यान बोकेर, काँधमा परिवारको भोलिको जिम्मेवारी बोकेर उनीहरू नूतन (नयाँ) यात्राको सँगैका सारथि बन्छन् । यस्तो जोखिमपूर्ण, साहसिक र अप्ठेरो यात्रालाई हार्डीले सफलतापूर्वक सम्पन्न गर्छन् ।

त्यसपछि कथाले नयाँ मोड लिन्छ । जीवन भन्नु पनि एउटा लामो कथा त रहेछ। कथाले जता जता मोड्छ उतै उतै मोडिनुपर्ने ।

क्यामेराको रिलमा विभिन्न महादेशको परिदृश्य गज्जबले कैद गरिएको छ। बीचमा चुनौतीका अग्ला–अग्ला पर्खाल आइपर्छन् । समस्याका चट्टान उभिन्छन् ।

अन्त्यमा उनीहरू सपनाको देश युके पुग्छन् । कल्पना गरेको भविष्यको उज्यालो भेट्न उनीहरु वर्तमानको अँध्यारो बाटोबाट लण्डन पुग्छन् । त्यो पनि अवैध आप्रवासीको रूपमा ।

 000

केही समय पहिला मैले अनलाइनखबरकर्मी दाङका पत्रकार आभास बुढाथोकीको ‘सिङ्गो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा’ शीर्षकको कभर स्टोरी पढेको थिएँ। त्यसको केही समयपछि अनलाइनखबरमै हिमाल (नाम परिवर्तित)ले लेखेको ‘मेरो अमेरिका यात्रा – अस्थिपञ्जर छल्दै जंगलको बाटो’ पढेको थिएँ। यो हिमालको अवैध बाटोबाट अमेरिका छिर्ने सपनाको दस्तावेज थियो। कस्तो संयोग ? डंकी फिल्मको कथासँग यो कुरा मिल्न जान्छ ।

मैले परदेशमा बसेर विदेशीको फिल्म हेर्दा आफ्नै देश सम्झिएँ । ठूलो पर्दाभित्र हार्डी र उसका साथीहरूको युके यात्रा हेरिरहँदा मेरो मनको पर्दा भित्र रूकुम आइरह्यो । पर्दाभित्र पञ्जाब आउँथ्यो । पर्दा बाहिर अर्थात् मेरो मनमा रुकुम आउँथ्यो । पर्दाभित्र शाहरूख खान पञ्जाब बाँच्थे। पर्दा बाहिर म रूकुमको बाफिकोट बाँच्थें ।

पत्रकार बुढाथोकीले लेखेको कभर स्टोरीका अनुसार रूकुमको बाफिकोट गाउँपालिका र सिस्ने गाउँ पालिकामा ‘जसरी हुन्छ अमेरिका छिर्ने’ सपनाको डढेलो नराम्ररी फैलिएको छ । एक घरको एक जना मान्छे अमेरिका जान तानाबाना बुनिरहेको हुन्छ, त्यो पनि अवैध बाटोबाट ।

नेपालगञ्ज- काठमाडौं- दिल्ली- मस्को- मेडिट- ईकोटर- टर्बो- कपुरगाना- पानामा- मेक्सिको- अमेरिका यो रूटबाट अमेरिका छिर्नुलाई चलनचल्तीको भाषामा ‘तल्लो बाटोबाट अमेरिका छिर्नु’ भन्दा रहेछन्। यो अवैध बाटो हो ।

हिमाल (नाम परिवर्तित) ले लेखे अनुसार अमेरिका जाँदा काठमाडौं- दिल्ली- मस्को- मेडिट- ईकोटर सम्म जहाजमा अनि टर्बोबाट कपुरगाना पानीजहाजमा जाने रहेछन् । पानीजहाजको यस्तो जोखिमपूर्ण यात्रा पार गर्नु र खुकुरीको धारमा हिंड्नु एकै रहेछ । सोच्नु त कति जोखिमपूर्ण होला ?

पञ्जाबी बाबुछोरा र हिमाल एउटै पानीजहाजमा रहेछन् । सुरक्षाकर्मीको आँखा छल्न पानीजहाजबाट एकदमै छिटो र हतारमा ओर्लिनु पर्दोरहेछ । एक मिस्टेक भयो भने, एक मिनेटमा ज्यान स्वाहा हुने रहेछ । ती पञ्जाबी बाबुछोरा मध्ये पानीजहाजबाट ओर्लंदा बाबु समुद्रमा खसेछन् । समुद्रमा खसेका आफ्ना बुवालाई समुद्रमै छोडेर छोरो अगाडिको यात्रामा हिंडेछ । नहिंडेको भए अवैध आप्रवासीको रूपमा छोरोलाई सुरक्षाकर्मीले पक्राउ गर्थे । यो पढ्दा मात्रै मेरो मुटु फुत्केला जस्तो भयो । सास रोकिएला जस्तो भयो । प्रिय पाठक तपाईंलाई भएन ?

ठ्याक्कै यी र यस्तै दृश्य ‘डंकी’ चलचित्रमा पनि छन् । त्यहाँ पनि शाहरूख खान उर्फ हार्डी उज्यालो भविष्यको खोजीमा सुरक्षाकर्मीको आँखा छल्दै, लड्दै पड्दै ‘अँध्यारो यात्रा’ हिंडिरहन्छन् ।

कपुरगाना पुगेपछि पानामा जंगल हिंड्नुपर्ने रहेछ । बाह्रै महिना पानी पर्ने भएकोले पानामा जंगल हिलैहिलो हुन्छ । उकाली, ओराली, भञ्ज्याङ, चौतारी, खोला, नदीनाला तरेर महिनौं हिंड्नु पर्दोरहेछ । हिंड्दा हिंड्दै आधा कुहिएको शरीर, आधा खाएको पेट बोकेर यात्रा भने पूरा गर्नुपर्ने । कस्तो नियति ! पानामा जंगलमा खाई नखाई, भोक–तिर्खा नभनी हिंडेका भिडियो र फोटोहरू यदाकदा सामाजिक सञ्जालमा देख्न सकिन्छ । पानामा जंगलको बाटोलाई ‘मृत्यु-मार्ग’ पनि भनिंदो रहेछ । पानामा जंगल कटेर बाँचेकाहरू त्यसपछि लगभग मर्दैनन् । त्यहाँबाट मेक्सिको हुँदै अमेरिका पुगिंदो रहेछ । पानामा जंगल कटेर बाँच्यो भने ‘आफू दोस्रो पटक’ जन्मिएको ठान्दा रहेछन् ।

आफ्ना छोराछोरी, भाइबुहारी अमेरिका जाँदा यता गाउँमा परिवारको इज्जतको क्षेत्रफल निकै ठूलो हुन्छ । नाक घिरौंला जत्रो हुन्छ। छाती टुँडिखेल जत्रो हुन्छ । यो कुरा डंकी फिल्ममा पनि अवैध बाटोबाट लण्डन जानेहरूका परिवारमा पनि लागू हुन्छ । लण्डन जानेहरूका परिवारको मान, प्रतिष्ठा र इज्जत निकै उचाइमा उडिरहेको चिल जत्तिकै अग्लो हुन्छ ।

यता घरमा यस्तो हुन्छ । उता वास्तविकता अर्कै । अब समय फेरिएको छ । हिजो गाउँमा बाआमा बितेपछि छोराछोरीले लास कुर्थे । आज लासले छोराछोरी कुर्छ। जबसम्म छोराछोरी विदेशबाट आउँदैनन् तबसम्म लास उठ्दैन । हामी ‘नेफोलीहरू’ले गणतन्त्रको हरियो साग खाएपछि हाम्रा आँखाले देखेको ‘टर्रो समाजवाद’ यही हो । नेपालको रूकुम र इण्डियाको पञ्जाब प्रतिनिधि ठाउँ हुन् । यो कथा नेपाल, भारत, बंगलादेश र पाकिस्तानको साझा हो ।

सामाजिक सञ्जालमा एक जना नेताले भनेको सुनेको थिएँ, ‘सजिलै भिसा दिने हो भने, यो देशमा बुढीबुढी, पशुपक्षी र ढुङ्गामाटो बाहेक कोही बस्दैनन्।’ साँच्चै आजको देशको सजीव नक्सा यही हो ।

रंगपुर, बंगलादेश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?