+
+

शक्तिराष्ट्रहरूसँग प्रमुख पार्टीबीच मतभेद हुनु दुर्भाग्यपूर्ण : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १८:५७

१६ पुस, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालका प्रमुख राजनीतिक दलहरूबीच छिमेकी मुलुक चीन र भारतसँगै अमेरिकाका विषयमा पक्ष र विपक्ष देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा पाण्डेले प्रमुख राजनीतिक दलहरूबीच देखिने यस्तो ध्रुविकरणले विपत्ति निम्त्याउने बताए ।

‘वैदेशिक सम्बन्धमा विशेष गरी छिमेकिहरू र अमेरिकासँगको सम्बन्धमा प्रमुख पार्टीहरूमा रहेको मतभेद तथा पक्ष वा बिपक्षमा ध्रुविकरण दूर्भाग्यपूर्ण छ । यसले विपत्तिलाई निम्त्याउँछ’, उनले भने, ‘परराष्ट्र नीति र वैदेशिक सम्बन्ध नेपालको हुनुपर्छ ।

यसको प्रवक्ता र सञ्चालक प्रधानमन्त्री र परराष्ट्रमन्त्री मात्रै हुनुपर्छ । भारत र चीनसग समदूरीको नीतिले दूरी बढाउँदै लगेको छ । समनिकटताको सम्बन्धमार्फत दुबैसँग समझदारी र पत्यारको घनिष्टता बनाउनु पर्छ ।’

उनले एकतिर भारत, चीन र अमेरिकाको सामरिक राडारमा परेको जोखिमयुक्त तथ्यप्रति चनाखो शासकीय संयन्त्र बनाउन र वैदेशिक सम्बन्ध परिपक्व ढँगले सञ्चालन गर्न नेपाल चुक्दै गएको बताए ।

साथै, अर्कोतिर आफ्नो बिरुद्ध तेस्रो पक्षबाट आउने दवाव वा हुने षड्यन्त्र रोक्ने नेपालको क्षमतामा दुबै छिमेकिहरुको अविश्वास बढ्दै गएको उनको भनाइ छ ।

‘यसलाई पत्यारिलो शैलीमा सम्बोधन गर्न ढिलो गर्नु हुँदैन । विशेष गरी राष्ट्रिय सुरक्षाको अभेद्य कबच युवाशक्ति देश छाडेर बिदेश पलायन हुने प्रवृति कहाली लाग्दो संख्यामा बढिरहेको, गाँउ र जिल्लामा बृद्ध र बालक मात्रै रहने अवस्था बनीरहेको र प्रभाव बढाउदै लगेका बिदेशी शक्तिहरु नेपालमा आफूले ब्यवस्थापन गर्न सक्ने राजनीतिक अस्थिरता रुचाउन थालेकाले नेतृत्वमा बसेका मित्रहरुलाई सचेत हुन आग्रह गर्दछु’, उनले भने ।

विश्वलाई विनाशतिर घचेट्ने कारण र प्रवृत्ति सकृय र शक्तिशाली भएको भन्दै उनले रुस–युक्रेन युद्ध र इजरायल हमास द्वन्दले युद्धको झिल्का जहाँबाट पनि निस्किएर कुनै पनि बेला दन्किन सक्ने चेतावनी दिएको विश्लेषण गरे ।

अहिले क्षेत्रिय वा विश्वशक्तिहरुको सामरिक स्वार्थ जोडिएको भूराजनीतिक स्थापना भएको सानो देश असुरक्षित हुँदै गएको घटनाक्रमहरुले देखाएको उनले बताउ । तर यसप्रति चनाखो भएर सुरक्षित भविष्यको निर्माण गर्ने सट्टा परराष्ट्र नीतिमा असंगति, वैदेशिक सम्बन्धमा एकाङ्कीपन र छिमेकिहरुसँगको सम्बन्धमा रित्तीँदै गएको विश्वासको सन्चितीले नेपाल दुखद भविष्य तिर उन्मुख भएको पाण्डेले बताए ।

पाण्डेले विश्वमा नेपाल भाडाका सेनाको देशका रुपमा बदनाम भइरहँदा पनि सरकार निष्कृय रहेको टिप्पणी समेत गरे ।

सरकारकै छनौटमा इजरायलमा पढिरहेका विद्यार्थीलाई हमासले तीन महिनादेखि बन्धक बनाएर राख्दा पनि नेपाल सरकार निष्कृय र कूटनीतिक अग्रसरताको बिकल्प भाग्यलाई बनाएर बसेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?