+
+

इलाममा ओली : कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १६:२५

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् ।

इलाम–२ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् ।

‘हामी कैयौं जात, कैयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’

ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । उनले भने, ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमती लगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’

ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिए ।

उनले भने, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’

ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको बताए । उनले भने, ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै छ ।’

उनले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको बताए । उनले भने, ‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनुभयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?