+
+

खेलाडी अभावले संकटमा परेको सुदूरपश्चिम

नमिता दाहाल नमिता दाहाल
२०८० पुष १६ गते १९:१०

१६ पुस, काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग ९ विकेटले पराजित भयो ।

अनुभवी खेलाडी विभागीय टिममा भर्ना हुन जाने र प्रदेश क्रिकेट संघले महिला खेलाडीलाई प्रोत्साहन गर्न नसकेका कारण यसपटक सुदूरपश्चिममा खेलाडी अभाव देखियो ।

सुदूरपश्चिमलाई महिला क्रिकेट खेलाडीको हब नै मानिन्छ । राष्ट्रिय टिममा पनि सुदूरपश्चिमकै खेलाडीको प्रभुत्व छ । तर त्यही क्षेत्रको महिला क्रिकेट टिमले भने राष्ट्रियस्तरको प्रतियोगिताको फाइनल पनि पुग्न सकेन ।

कप्तान ऋतु कनोजियाका अनुसार सुदूरपश्चिमका दुई खेलाडी हालै नेपाली सेनामा भर्ती भएका छन् । त्यस्तै अलराउन्डर कविता कुँवर एपेन्डिक्सको अप्रेसनका कारण टिम बाहिर छिन् । त्यस्तै ब्याटर डली भट्ट पनि यस पटक टिममा छैनन् । सुदूरपश्चिमलाई यी दुई खेलाडीको अभाव प्रत्यक्ष खट्केको छ ।

यसपटक तयारी पनि विगतमा जस्तो हुन सकेन । जम्मा दुई दिनको प्रशिक्षणपछि सुदूरपश्चिम प्रधानमन्त्री कप खेल्न आएको हो । प्रदेश छनोटबाट अन्तिममा आएका २२ जना खेलाडीको दुई दिन बन्द प्रशिक्षण गरिएको कप्तान कनोजियाले बताइन् । प्रशिक्षणमा एक अर्काको कमजोरी र बलियो पक्ष जान्ने मौका नै नपाई खेल खेल्नुपरेको उनको भनाइ छ ।

‘पोहोरको हाम्रो टिममा सबै अनुभवी खेलाडी थिए । अहिले हाम्रो टिममा यू–१९ का नयाँ बहिनीहरु आएका छन्’, कनोजियाले भनिन् ।

पहिलो एलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले हराएको सुदूरपश्चिमको ब्याटिङ लय दोस्रो एलिमिनेटरमा देखिएन । यसपटकको प्रधानमन्त्री कपमा ऋतुले फिल्डिङमा त्रुटि र बलिङमा पेस बलरको कमी महसुस गरिन् । ‘हिजो बागमतीलाई जितेपछि टिममा धेरै उर्जा जागेको थियो । तर आज ब्याटिङमा ओपनिङ सोचेजस्तो चलेन । त्यसमा पेस बलरको कमी निकै महसुस भयो’, उनले भनिन् ।

खेलाडीले सुरक्षित भविष्य खोजे

सुदूरपश्चिममा टिमका अरु धेरै खेलाडीले पनि नेपाली सेनामा भर्ना हुन फारम भरेका छन् । युवा खेलाडीले प्रदेशको टिम छोड्दा आगामी दिनमा पनि टिम बलियो नहुने कनोजिया बताउँछिन् । ‘दुई जना नहुँदा त प्रदर्शनमा असर प¥यो, अब झन् अनुभवी खेलाडी भर्ती हुँदा प्रदेश टिमको प्रदर्शनमा असर पर्छ’, उनले भनिन् ।

सुदूरपश्चिमका युवा खेलाडी ईश्वरी विष्ट र मनिषा चौधरीले हालै नेपाली सेनामा भर्ना भएर तालिममा छन् । प्रदेशको टिमबाट खेल्दा नियमित आम्दानी नभएकाले भविष्य सुरक्षित गर्न उनीहरु सेनामा भर्ना भएका हुन् ।

हाल आर्मीले महिला क्रिकेट टिम निर्माण गर्ने उद्देश्यले खेलाडीलाई भर्ना गरिरहेको कप्तान ऋतुले बताइन् । उनका अनुसार सुदूरपश्चिमबाट खेलिरहेका रुवी पोद्दार, स्नेहा महरा, लक्ष्मी साउद र सम्झना खड्का र रेवती धामी पनि नेपाली सेनामा भर्ना हुने क्रममा छन् ।

‘खेलाडीले आय स्रोत खोज्नु स्वभाविक हो । तर उनीहरुलाई प्रदेशले केही दिएको छैन’ कप्तान ऋतुले भनिन् ।

प्रदेश क्रिकेट संघले खेलाडीको वृत्ति विकासमा ध्यान दिने हो भने नयाँ खेलाडी पनि आउन सक्ने उनले बताइन् । ‘अब नयाँ पिढीं टिममा आउँछ । जसरी कर्णालीमा आइरहेको छ । त्यसरी नै नयाँ पिढीहरु आउँदै जान्छ पछि मिहनेत ग¥यो भने पक्कै माथि जानेछ ।’

यसपटक प्रधानमन्त्री कप महिला क्रिकेट राउण्ड रोबिन आधारमा खेलाउँदा महिला खेलाडीले धेरै खेल्न र अनुभव बटुल्न पाएको छ । ‘समूह छुट्याएको भए ३ वटा खेल खेलेर घर फर्किने हुन्थ्यो, राउन्ड रोबिनमा हुँदा सबैले सबैसँग खेल्ने मौका मिल्यो । नयाँ खेलाडीले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने मौका पाए’, कनोजियाले भनिन् ।

राष्ट्रिय टिमबाट सन्यास लिने चाहना

सुदूरपश्चिमकी कप्तान ऋतु ४२ वर्षकी भइन् । उनले यस प्रतियोगितामा ९ खेल खेल्दा ४ खेलमा उनले ब्याटिङमा मौका पाइनन् भने ५ खेलबाट ५५ रन बनाइन् । बलिङतर्फ ९ खेलमा ७ विकेट लिइन् ।

राष्ट्रिय टिम र घरेलु प्रतियोगितामा एपीएफबाट पनि खेलिसकेकी ऋतुको खेलाडीको रुपमा अन्तिम इच्छा भनेको नेपालको जर्सी लगाएर खेलाडी जीवनबाट सन्यास लिने हो । ‘नेपालमै हुने वा नेपालबाट हुने एक खेल खेल्दै खेलाडी जीवनबाट सन्यास लिन चाहन्छु’, उनले भनिन्, ‘मैले क्यानमा पनि भनिसकेको छु, उत्तर आएको छैन ।’

हाल बैतडी जिल्लामा खेलाडी उत्पादनमा लागिरहेकी उनी प्रधानमन्त्री कपबाट फर्केर बैतडी जिल्लाको क्रिकेट प्रशिक्षकको रुपमा नियुक्ति लिने तयारीमा छिन् । ‘मलाई अगाडि नै नियुक्ति लिन बोलाउनुभएको हो । यहाँबाट जानेबित्तिकै म प्रशिक्षकको नियुक्ति लिन्छु ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?