+
+

राष्ट्रिय सभामा नाउपालाई एक सिट दिने समझदारी भएको छ : रेशम चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १०:१३

१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने उनले बताए ।

कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो कुरा बताएका हुन् । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

बुधबार पनि बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपाका संरक्षक चौधरीले आफ्नो पार्टीलाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएका हुन् ।

यही पुस २६, २७ र २८ गते टीकापुरमा हुने पार्टीको प्रथम महाधिवेशनबारे जानकारी दिन चौधरीले पत्रकार सम्मेलन गरेका थिए । उनले दिएको जानकारी अनुसार नाउपाको महाधिवेशनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने तयारी छ । त्यसैले महाधिवेशनमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको संरक्षक चौधरीले बताए । उनकाअनुसार महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको समेत सहभागिता रहनेछ ।

महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने उनले जानकारी दिए । ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य महाधिवेनबाट चयन हुने उनले बताए ।

मुद्दाबारे बोल्न र सोध्न मिल्दैन : चौधरी

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको एक प्रश्नमा चौधरीले बाँकी कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाबारे बोल्न नमिल्ने बताए ।

कानुनलाई सम्मान गरेर जेल बसेको र कानुनी प्रावधानअनुसार नै रिहा भएको बताउँदै चौधरीले मुद्दाबारे प्रतिक्रिया दिन अस्वीकार गरे । ‘कानुनी कुराका बारेमा हामीले केही भन्न हुन्न । कानुनको हामीले सदा सम्मान गर्दै आएका छौँ । कानुनलाई सम्मान गरेर जेल गयौँ, सम्मान गरेर उतै बस्यौँ,’ चौधरीले भने, ‘कानुनले रिहा गरिदिएपछि हामी यहाँ आयौँ । त्यसकारणले विचाराधिन मुद्दाकाबारेमा बोल्न मिल्दैन, तपाईंले पनि सोध्न मिल्दैन ।’

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाह गरिदिएपछि १५ जेठमा कारागारबाट रिहा भएका थिए । राष्ट्रपतिको निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बलराम विष्टकी श्रीमतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?