+
+

विश्वलाई मुल्य वृद्धिको जोखिममा पुर्‍याउन सक्ने रेड सी संकट के हो ?

एजेन्सी एजेन्सी
२०८० पुष १९ गते २०:३७

विश्वकै ठूला ढुवानी कम्पनीहरुले अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र रेड सीबाट ढुवानी स्थगन गर्ने भएका छन् । इरान समर्थित हुथी विद्रोही समूहले मालबाहक जहाजमा आक्रमणको क्रम बढाएसँगै ढुवानीका विशाल कम्पनीहरुले रेड सीको मार्गबाट ढुवानी स्थगन गर्ने भएका हुन् ।

हुथीको आक्रमणपछि मालबाहक पानीजहाजहरु अफ्रिकाको दक्षिणी भेगमा रहेको केप अफ गुड होपतर्फ मोडिएका छन् । जसले गर्दा एशिया र युरोपमा ढुवानीका लागि अब निकै लामो बाटो तय गर्नुपर्ने हुँदा मुल्यवृद्धिको जोखिम बढेको छ ।

गाजामा इजरायल हमला नरोकिएको प्रतिरोधमा हुथी विद्रोहीहरुले व्यापारिक कन्टेनरहरुमा हमलालाई तीव्रता दिएका छन् । अरब प्रायद्वीपको बब-एल मन्डेबबाट हुथीहरुले व्यापारिक कन्टेनरहरुलाई निशाना बनाउँछन् । हुथी विद्रोहीको निशाना निस्तेज बनाउनका निम्ति अमेरिकी सेनाले हेलिकप्टर गस्तीसमेत गरेको थियो ।

असुरक्षित परिस्थिति निम्तिएसँगै गत साता डेनमार्कको विश्वव्यापी ढुवानी कम्पनी मर्सेकले रुट परिवर्तन गर्ने र रेड सीको मार्ग प्रयोग नगर्ने घोषणा गर्‍यो । यस्तै जर्मनीको हप्पग ल्योयडले पनि रेड सीको मार्ग तत्काललाई स्थगन गरिएको सूचित गरायो । रेड सी एशिया, युरोप र मध्यपूर्वलाई स्वेज क्यानलबाट जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग हो ।

रेड सी मार्ग कत्तिको महत्वपूर्ण छ ?

विश्व व्यापारको १२ प्रतिशत ढुवानी स्वेज क्यानलबाटै हुने गरेको छ । यस क्यानलबाट पास हुने आधाभन्दा बढी सामान कन्टेनरमा हुन्छन् । यो मार्ग पर्सियन गल्फदेखि युरोप र उत्तर अमेरिकाका लागि पेट्रोलियम पदार्थ ढुवानीको महत्वपूर्ण मार्ग हो । रेड सीबाट मोडिएर केप अफ गुड होपमा पुग्नका लागि जहाजहरुले ६ हजार किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ । यस्तै ढुवानीका लागि थप १० दिनको समय पनि बढ्नेछ ।

ढुवानीको समय बढेसँगै बन्दरगाहहरुमा पनि प्रभाव पर्नेछ । बेलायत तथा युरोपेली व्यापारिक हब रोटर्डम, एनवर्प र ह्यामबर्गमा यसको प्रभाव देखिनेछ । रेड सीबाट मोडिएर केप अफ गुड होपमा पुग्नका निम्ति ढुवानीमै १ मिलियन डलर खर्च बढ्ने देखिन्छ । यस्तै बीमाको शुल्कसमेत बढ्ने हुँदा ढुवानी खर्च ह्वात्तै बढ्छ र यसले वस्तुको मूल्यमा प्रभाव पार्ने निश्चित छ ।

मध्यपूर्व र एशियाबाट डिजेल तथा हवाइ इन्धन बोकेका कन्टेनरलाई अफ्रिकातर्फ  पठाइएको छ भने खाद्यान्न तथा अन्य उपभोग्य समग्रीका कन्टेनरलाई भने अफ्रिकातर्फ पठाउन ढिलाइ गरिएको छ । ढुवानीको मार्ग लम्बिएर लागत बढेसँगै बुधबार विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

ढुवानीको लागत बढ्नेबित्तिकै त्यसले महँगी निम्त्याउने निश्चित छ । कोरोना कालको समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आपूर्ति श्रृंखलामा थपिएको अवरोधले विश्व मुद्रास्फीति १ प्रतिशतले बढ्ने बताएको थियो । व्यापार तथा वाणिज्यविद् राहेस डेभिडले रेड सीमा उत्पन्न तनावका कारण मुद्रास्फीति तथा मुल्यवृद्धिमा सीमित प्रभाव पार्ने बताउँछन् ।

द गार्डियनसँग उनले भनेका छन्-‘यसले विश्व अर्थतन्त्रलाई विस्तारै असर पुर्‍याउनेछ । यसको असर कम्तीमा पनि एक वर्षपछि मात्रै देखापर्नेछ । रेड सीमा देखिएको संकट सीमित समयमा लागि मात्रै भएको अवस्थामा खासै प्रभाव पर्नेछैन । अन्यथा यसले मुल्यवृद्धि गराउनेछ ।’

सन् २०२१ मा स्वेज क्यानलमा अवरोध आउँदा विश्व व्यापार समस्यामा परेको थियो । रेड सीको व्यवधानको आर्थिक पृष्ठभूमि भने अलि फरक छ । दुई वर्षअघि विश्वव्यापी लकडाउनका कारण उत्पादित वस्तुका ढुवानी रोकिएको थियो । त्यस्ता वस्तुको आपूर्ति श्रृंखला लयमा फर्काउनका निम्ति ढुवानी कम्पनीहरु अझैपनि संघर्षरत छन् ।

अचेल, मुद्रास्फीति कम गर्नका निम्ति केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने नीतिको उपयोग गरेका छन् । यसले गर्दा घरायसी र व्यापारमा दबाब बढ्यो । जसले गर्दा विश्व व्यापारको आयातन र आर्थिक वृद्धिमा नकरात्मक प्रभाव मात्रै परेन अमेरिका, बेलायत तथा युरोपेली राष्ट्रहरु आर्थिक मन्दीतर्फ अग्रसर थिए ।

रेड सीमा अवरोधका कारण विश्वव्यापी ढुवानीमा लागत बढेपनि दुइ वर्षअघिको तुलनामा यो निकै कम हो । ढुवानी लागत हेर्ने हो भने चीनबाट विश्वव्यापी रुपमा ढुवानी गर्दा लागत घटेको नै देखिन्छ ।

अर्थविद् जेम्स स्मिथले द गार्डियनसँग भनेका छन्, ‘ अहिलेको घटनाक्रमले कोरोना महामारी बखतको स्मृति ताजा गराइदिएको छ । आपूर्ति श्रृंखला त्यसबेला ध्वस्त भएको थियो । स्वेज क्यानलसमेत बन्द हुँदा परिस्थिति निकै जटिल थियो । रेड सीमा अल्पकालीन अवरोधले तात्विक फरक पर्दैन तर यो बढेमा यसले मुल्यवृद्धिमा दीर्घकालीन प्रभाव पार्नसक्छ ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?