+
+

च्याङ्ग्रापालक किसानलाई ५० लाख अनुदान

रासस रासस
२०८० पुष १९ गते २१:३९

१९ पुस, म्याग्दी । मुस्ताङका किसानले च्याङ्ग्राको खोर सुधार र स्रोत केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमा पचास लाख रुपैयाँ भन्दा बढी अनुदान पाउने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले खोर सुधारका लागि सात र स्रोत केन्द्र स्थापना गर्न दुई समूह बुधबार छनोट गरेको हो । उनीहरुलाई यसवर्ष ५० लाख ४७ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङका प्रमुख नेत्र भट्टले बताए ।

‘अनुदानका लागि मापदण्डअनुसार आवेदन सङ्कलन र स्थलगत मूल्याङकनपछि छनोट गरिएको हो’, उनले भने, ‘सात च्याङग्राका खोर सुधार गर्न तीन लाख २१ हजार र दुई स्रोत केन्द्र स्थापना गर्न १४ लाख रुपैयाँका दरले अनुदान पाउनेछन् ।’ किसानले प्रस्तावित परियोजनाको कूल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

परम्परागत रुपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन तथा पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागू भएको छ ।

च्याङग्राका पाठापाठी उत्पादनका लागि यसवर्ष दुई ठाउँमा स्रोत केन्द्र स्थापना गर्न लागिएको च्याङ्ग्रा जोनका प्राविधिक गणेश खत्रीले बताए । च्याङग्राका बोका खरिद गर्ने कार्यक्रम रहेको छ । च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँदयाममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको छ । जोनमा आबद्ध किसानले १५ हजारभन्दा बढी च्याङग्रा पालेका छन् ।

च्याङग्रा जोनका लागि चालु आवमा ८६ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधि, आहारा, खोप, किसानलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन गरिने जोनले जनाएको छ ।

गतवर्ष ५८ किसान आबद्ध १० समूहलाई खोर सुधार गर्न तीन/तीन लाख रुपैयाँका दरले अनुदान दिइएको थियो । यसैगरी दुई स्रोत केन्द्र निर्माणमा २८ लाख रुपैयाँ अनुदान दिइएको थियो । आर्थिक वर्ष २०७८/७९ मा सात फार्मले खोर सुधार गर्न २१ लाख, सङ्कलन केन्द्रमा १२ लाख र स्रोत केन्द्रमा १४ लाख रुपैयाँ खर्च भएको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । त्यहाँ करिब ६५ ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घरघरमा च्याङग्रा पालेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?