+
+

खाद्य गोदाममा कुकुरले टोकेर २३ च्याङ्ग्रा मरे

बुधबार साँझ ७ बजे घाँस–पराल र पानी दिएर थुनिएका ४७ च्याङ्ग्रामध्ये बिहान करिब दुई दर्जन मृत फेला परेको छ । तर खाद्यको बागमती प्रदेश कार्यालयले यसबारेमा विस्तृत विवरण दिएको छैन ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० पुष १९ गते १८:११
खाद्य गोदाममा मरेका च्याङ्ग्रा ।

१९ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं–तिहारको लागि ल्याएर नबिकेका २३ च्याङ्ग्रा एकै रात मरेका छन् । बुधबार साँझ ७ बजे घाँस–पराल र पानी दिएर थुनिएका ४७ च्याङ्ग्रामध्ये बिहान करिब दुई दर्जन मृत फेला परेका छन् । १४ च्याङ्ग्रा घाइते छन् ।

कार्यालय परिसरमै रहेको खोरमा हताहती भएको घटनाको विवरण भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती कार्यालयले सार्वजनिक गरेको छैन । उसले मरेका च्याङ्ग्राबारे यकिन तथ्यांक आफूसँग नभएको भन्दै पन्छिन खोजेको छ । खोरमा थुनिएका च्याङ्ग्राहरू के कारणले मरे भनी पत्ता नलागेको उसको दाबी छ ।

‘हामी पनि अस्पष्ट छौं, वन्यजन्तुको आक्रमण वा अन्य फ्लुको कारणले मर्‍यो कि थाहा छैन । घाँटी र खुट्टामा चोट देखिन्छ । झोक्राएर बसेका केही त बिहान पनि मरेका छन्’, कार्यालय प्रमुख ज्ञानु थापाले अनलाइनखबरसँग भनिन् ।

उनले च्याङ्ग्रा मरेको थाहा पाउनेबित्तिकै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशुचिकित्सकहरूलाई खबर गरेको बताइन् । ‘बिहानै खबर गरेर पशु चिकित्सकहरू बोलायौं, ल्याबमा दुईवटा च्याङ्ग्रा पनि लगेका छन् । रिपोर्ट नआएसम्म कसरी यत्रो घटना घट्यो भन्न सकिने अवस्था छैन’, थापाले भनिन् ।

थापाका अनुसार च्याङ्ग्रा कसरी मर्‍यो भन्ने थाहा नभएसम्म अस्वस्थ देखिएका अन्य च्याङ्ग्राको उपचारसम्म गर्न नसकेको बताइन् ।

कार्यालयले राति १२ बजेपछि घटना घटेको हुनसक्ने अनुमान गरे पनि सिसीटिभी फुटेजमा घटनाबारे प्रष्ट केही नदेखेको जनाएको छ । कार्यालय प्रमुख थापाका अनुसार मरेको च्याङ्ग्रा विगतमा छाला काढेर कार्यालय, प्रहरी, सञ्चालक समितिको रोहबरमा मुचुल्का उठाई गाड्ने प्रचलन थियो । ‘यो घटना ठूलो भएकोले यसमा के गर्ने भन्ने विषय हाम्रो बोर्डले निर्णय गर्छ होला’, उनले भनिन् ।

तर कार्यालयले बोलाएर घटनास्थलमा पुगेका भेटेरिनरी अफिसर डा. एलबी साईले भने कुकुर आक्रमणबाट २३ वटा च्याङ्ग्रा खोरमै मरेको बताए ।

‘प्रारम्भिक रिपोर्ट हेर्दा कुकुरबाट आक्रमण भएको देखिन्छ, २३ वटा मरेका छन् । १४ वटा गम्भीर छन्, १० वटा भने स्वस्थ देखिएका छन्’, साईले भने । उनले सिसीटिभी फुटेजमा ४ वटा कुकुर खोरमा पसेको देखिएको भन्दै फुटेजमा कुकुरको आक्रामकता देख्दा रेविज नलागेको प्रष्ट हुने बताए ।

‘बाघ, चितुवाको जस्तै आक्रमण क्षमता भएको कुकुरले टोक्दै, मार्दै भाग्दै गरेको देखिन्छ । तर अनुसन्धानको पूर्ण रिपोर्ट पछि यसबारे थप थाहा हुन्छ’, साईले भने ।

बिक्री नभएपछि खोरमै थिए च्याङ्ग्रा

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो दशैंमा ५३८ वटा च्याङ्ग्रा किनेको थियो । कार्यालय प्रमुख थापाका अनुसार खाद्यले ल्याएको च्याङ्ग्रा दशैंमा २६४ वटा बिक्री भएका थिए भने २७४ वटा बाँकी नै थिए ।

उपभोक्तालाई सहुलियत दरमा बिक्री–वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि १५ मंसिरमा एकमुष्ट लिलाम गर्न सूचना निकालेको थियो ।

दशैंमा कम्पनीले च्याङ्ग्राको मूल्य १२५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । च्याङ्ग्रामा ग्राहकको आकर्षण नदेखिएपछि मंसिरसम्म नबिकेको ९० वटा च्याङ्ग्राको लागि लिलामी निकालेको थियो । न्यूनतम कबोल दर प्रतिकेजी ११२५ रुपैयाँ तोकेर लिलामी निकाल्दा पनि ४३ वटा मात्रै बिक्री भएको थियो । बाँकी ४७ मध्ये बुधबार राति २३ वटा च्याङ्ग्रा कुकुरले मारेको हो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?