News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित उद्योग र गृह मन्त्रालयको बीचमा रहेको उक्त बिक्री कक्षको उदघाटन गरिन् ।
- कम्पनीको वार्षिकोत्सवका अवसरमा सञ्चालित सो कक्षमा १२४ प्रकारका दैनिक उपभोग्य सामग्री सुलभ मूल्यमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
२८ साउन, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।
बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।
त्यहाँबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उद्योगमन्त्री यादवले बिक्री कक्षको उदघाटन गर्दै उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
सिंहदरबारको केन्द्रमै यस्तो बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सुविधा पाउने विश्वास छ ।
प्रतिक्रिया 4