News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।
- दरखास्तका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको व्यवस्थापकीय अनुभव भएको हुनुपर्ने छ ।
- इच्छुक उम्मेदवारले व्यावसायिक कार्ययोजनासहित सूचना प्रकाशित भएको २१ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
२९ जेठ, काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति प्रक्रिया अगाडि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सीईओ पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८’ को मापदण्ड अनुसार नियुक्ति प्रक्रिया अघि बढाएको छ ।
दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका इच्छुकले आवेदन दिन सक्नेछन् । शैक्षिक योग्यताका हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयभित्र आवेदन दिन भनिएको छ ।
‘योग्य र सक्षम नेतृत्व चयनका लागि खुला प्रतिस्पर्धाको बाटो रोजिएको’ सूचनामा उल्लेख छ । आवेदकले दरखास्तका साथ मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचामा वैयक्तिक विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजात र दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्ने छ ।
विशेषत: उम्मेदवारले कम्पनी सञ्चालनका लागि बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना समेत बुझाउनुपर्ने प्रावधान छ ।
दरखास्तका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंकमा रहेको मन्त्रालयको खातामा जम्मा गरी सक्कल भौचर पेस गर्नुपर्ने छ ।
छनोट प्रक्रिया अन्तर्गत सुरुमा परेका आवेदनमध्येबाट सर्टलिस्ट (छनोट सूची) तयार पारिने छ र ती उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइने छ ।
सरकारी निकाय वा संस्थानमा कार्यरत कर्मचारीका हकमा भने दरखास्तका साथ कार्यरत निकायबाट विभागीय स्वीकृतिको पत्र अनिवार्य गरिएको छ ।
यस नियुक्ति सम्बन्धी थप जानकारीका लागि मन्त्रालयको वेबसाइट र फोन नम्बर मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4