+
+

बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले उपमहानगरलाई हस्तान्तरण गर्दै

टोपराज शर्मा टोपराज शर्मा
२०८० पुष २० गते ११:३२

२० पुस, बुटवल । बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल आउँदै छन् ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । नगर प्रमुख पाण्डेयका अनुसार राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.सं. १८७१ देखि शुरु भएको युद्धमा नेपाली सेनाहरुले १८७२ वैशाख ७ गते जितगढीमा विजय हासिल गरेका थिए । ऐतिहासिक र सामरिक महत्वको भएर पनि दशकौंसम्म संरक्षणको अभावमा खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ मा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।

त्यसयता पनि लामो समयसम्म खासै संरक्षणका काम भएका थिएनन् । मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो स्थानीय तह निर्वाचनपछि जितगढीको संरक्षण र विकासले उल्लेख्य गति लिएको हो ।

किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

१८७१ देखि १८७२ सम्म भएको नेपाल–अंग्रेजयुद्धमा अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन ।

अंग्रेज फौजसँग कुमाउ–गढवाल (नाहान), मकवानपुरगढी, कोसी–टिस्टा र बुटवल जितगढीमा लडाइँ भएको थियो । बुटवलमा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको थियो । सोही जितको सम्झनानास्वरुप वैशाख ७ मा बुटवल उपमहानगरपालिकाले विजय उत्सव गर्दै आएको छ ।

पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना

किल्लाको संरक्षण र पुनर्निर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए । ‘उपमहानगर मातहतमा आएपछि किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं,’ पाण्डले भने, ‘यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।’

बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जनरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमल बहादुर शाक्य बताउँछन् ।

जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो । अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो ।

जनरल सुलेमान र जनरल ऊडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो।

शाक्यका अनुसार आधुनिक हतियारका साथ आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवल गढीको नाम जितगढी रहन गएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?