+
+

त्रिविको उपकुलपतिमा आवेदन दिनेले दलको सदस्य नरहेको स्वघोषणा पत्र बुझाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १४:४६

२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्नेछ ।

कार्यविधिमा भनिएको छ, ‘प्रचलति कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ ।’

साथै त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई पनि दरखास्त दिनबाट वञ्चित गरिएको छ । जारी कार्यविधि अनुसार त्रिविको उपकुलपतिमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने छन् ।

सोमबार जारी कार्यविधिमा न्युनतम योग्यतामा कुनै पनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने, उम्मेद्वारको शैक्षिक योग्यता न्युनतम स्नातकोत्तर हुनुपर्ने उल्लेख छ ।

आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालय सम्बन्धी सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणमा १०० अंकमा प्रतिस्पर्धा गराइनेछ ।
विश्वविद्यालय सम्बन्धी सोचपत्र र कार्य योजनालाई ३५ पूर्णाङ्क छुट्टाइएको छ भने प्रस्तुतीकरणमा २० र अन्र्तवार्ताका लागि १५ अंक तोकिएको छ ।

त्यस्तैगरी प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशन वापत ५ पूर्णाङ्क, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४ अंक, विद्यावारिधि योग्यताका लागि ५ अंक, प्राध्यापकको अनुभव भएको १० पूर्णाङ्कमा मुल्याङकन हुनेछ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

कार्यविधिमा उल्लेख भए अनुसार प्रतिस्पर्धीको आवेदनको मुल्याङ्कन गरेर अल्पसूचि प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचिमा परेकाबीच प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई त्रिविको उपकुलपतिमा नियुक्ति दिनेछन् ।

आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ । सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको छ । सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् ।

शुक्रबार विश्वविद्यालयका पदाधिकारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दरखास्त माग भएपछि विरोध भएको थियो । विवादित बनेपछि उक्त दरखास्त रद्द गर्दै शिक्षामन्त्री अशोककुमार राई संयोजक रहेको सिफारिस समितिले सोमबार पुनः उपकुलपतिको लागि दरखास्त आव्हान गरेको हो ।

कात्तिक १७ गते देखि रिक्त रहेको त्रिविमा उपकुलपति पदमा निमित्त उपकुलपतिको रुपमा शिक्षाध्यक्ष शिवलाल भुसाललाई जिम्मेवारी दिईएको छ । शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको पद पनि रिक्त रहेकोले निमित्तलाई जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् कार्यविधि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?