+
+

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १७:४६

२३ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए ।

जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ छ ।

‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’

नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भू-भाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्री महतले बताए । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा. महतले आग्रह गरे ।

उनले जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए ।

नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने उनको भनाइ छ । उनले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकिएको मन्त्री डा. महतले बताए ।

आगामी दिनमा सडक निर्माणमा समेत ध्यान दिइने उनले बताए । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?