+
+

१०० मोटरसाइकल चोरी, लागुऔषधदेखि बलात्कार मुद्दासम्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १८:४७

२३ पुस, विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका-६ का ४० वर्षीय नजाम अन्सारी हेर्दा सामान्य देखिन्छन् । तर उनको अपराधिक यात्रा भने डरलाग्दो छ । मोरङ– सुनसरीमा मोटरसाइकल चोरीको गिरोह चलाएका उनी विरुद्ध लागूऔषध कारोबार र बलात्कारको मुद्दा पनि छ ।

२९ मंसिरमा विराटनगर महानगरपालिका– १४ बाट पक्राउ परेका अन्सारीको अपराधिक यात्रा २०५९ सालदेखि प्रशासनको रेकर्डमा छ । २१ वर्षमा तीन चोरीका मुद्दामा पक्राउ पर्दै छुटेका उनी विरुद्ध बलात्कार र बैंकिङ कसुरको मुद्दा पनि  छ ।

‘हामीसँग एक सय भन्दा बढी मोटरसाइकल चोरेर भारत पुर्याएर बिक्री गरेको बयान दिएका छन्, तर सात वटा चोरीको सिसी क्यामेरा फुटेज भेटियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहाल भन्छन्,‘ सात वटा चोरीको मुद्दा चलाउने तयारी छ, थप अनुसन्धान पनि गर्दैछौं ।’ पक्राउ परेका अन्सारीको साथमा १.३ ग्राम ब्राउनसुगर पनि भेटिएको उनले बताए ।

प्रहरीले अन्सारीको चोरी गर्ने गिरोहका सदस्य भोक्राहा गाउँपालिका-२ का २३ वर्षीय निकाइल अन्सारीलाई पनि पक्राउ गरेको छ ।

उनीहरुले मोरङ सुनसरीमा मोटरसाइकल चोरीमा आतंक मच्याएका थिए । ‘मोटरसाइकल चोरीको उजुरी बढेपछि विषेश टोली परिचालित थियो, ट्रयाक गर्दै जादा विराटनगरबाट पक्राउ परे,’ उनले भने,‘अनुसन्धानका क्रममा २०५९ सालदेखिको अपराधि घटना देखियो ।’

चोरी मुद्दामा दशी प्रमाण नहुँदा यसअघि छुटेका अन्सारी लगत्तै चोरीमा संलग्न भएको पाइएको उनले बताए ।

यसरी चोरी भएको मोटरसाइकल जोगवनी, फारवेसगन्जलगायतका बजारमा पुर्याएर बिक्री गरेको गरेको देखिएको उनले बताए । चोरीको मोटरसाइकल भारतबाट लागूऔषध ओसारपोसारमा पनि प्रयोग भएको देखिएको उनले बताए ।

सात वटा चोरीको मोटसाइकल 

प्रहरीका अनुसार दुई अन्सारीले पछिल्लो पटक मंसिर २७ गते मोटरसाइकल चोरी गरेका थिए । विराटनगर महानगरपालिका– ६ भाटभटेनी सुपरमार्केटको पार्किङबाट को २१ प ५८९४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । सोही समूहले मंसिर २२ गते  नोबेल मेडिकल कलेजको पार्किङबाट को २९ प ५५४ मोटरसाइकल चोरेको थियो ।

त्यस्तै मंसिर ६ गते  विराटनगरको सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङबाट  को १० प ९५६६ नम्बरको मोटरसाइकल चोरेको थियो । मंसिर ८ गते विराटनगर ९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको मोटरसाइकल चोरोको गिरोहले मंसिर ९ गते कोशी अस्पताल परिसरबाट को २५ प १८११ नम्बरको बाइक चोरेको थियो ।

त्यस्तै असोज १५ गते नोबेल मेडिकल कलेजबाट को ४३ प ४८०४ नम्बरको मोटरसाइकल चोरेको थियो । भदौं १० गते मोरङ विराटनगर– २ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको मोटरसाइकल चोरेको थियो । सात वटा मोटरसाइकल चोरीको संलग्न भएको सिसी क्यामेरा फुटेजमा देखिएको डिएसपी दाहालले बताए ।

पक्राउ पर्दै छुट्दै

डिएसपी दाहालका अनुसार नजाम अन्सारी पक्राउ पर्दै छुट्ने घटनाक्रम २०५९ सालदेखिकै छ । उनका अनुसार २०५९ साल मंसिर ८ गते नजाम अन्सारी बिरूद्ध जिल्ला अदालत मोरङमा चोरी मुद्दा दर्ता भएको थियो । तर मंसिर ३० गते मोरङ अदालतबाट पाँच हजार धरौटीमा छुटे ।

२०६७ पुस २० गते उनी विरुद्ध सुनसरी जिल्ला अदालतमा अर्काे मुद्दा पनि चलेको थियो ।  केही सार्वजनिक अपराधमा मुद्दामा ९ हजार धरौटीमा छुटेका थिए । २०७२ जेठ २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई दोस्रो पटक केही सार्वजनिक अपराधमा मुद्दा गरेको थियो । २०७२ असार ७ गते अदालतबाट ३ हजार धरौटीमा छुटे ।

२०७६ माघ २० गते भने मोरङ प्रहरीमा जवरजस्तीकरणी कसूरमा जाहेरी परेको थियो । २०७९ कात्तिक १५ गते मोरङ अदालतमा बैकिङ कसूरमा पनि मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका दुई विरुद्ध भएका ७ वटा चोरी सम्बन्धी र अबैध लागू औषध ब्राउनसुगर मुद्दामा चलाउने तयारी भएको उनले बताए । दुई जना पक्राउ परेपछि विराटनगरमा हुने चोरीको घटनामा पनि कमि आएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?