+
+

कपिलवस्तुमा सोलार फार्ममार्फत १५ मेगावाट बिजुली उत्पादन गरिँदै, सवा १ अर्ब लागत

अच्युत पुरी अच्युत पुरी
२०८० पुष २५ गते १८:४६
गुगल म्यापसहितको आयोजना स्थल

२५ पुस, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकामा निजी जमिनमा सोलार फार्म जडान गरी १५ मेगावाट बिजुली निकाल्ने तयारी गरिएको छ । जमिनमा कृषिबाली लगाउने र त्यसमाथि सोलार राखी बिजुली निकाल्ने तयारी गरिएको छ ।

पशुपति रिन्यूएबल्स प्रालिले अगाडि बढाएको धरमनगर सोलार फार्मको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ ।

प्रतिवेदन अनुसार यो आयोजना निजी जमिनमा अगाडि बढाइएको छ । जसको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित आयोजनामा सोलार प्यानल मुनिको जमिनमा भुँइकटहर, पालक, खुर्सानी, बेसार, अदुवा, घाँस, जडीबुटीजस्ता बहुबाली रोप्ने उद्देश्य छ ।

यो आयोजना कुल १७ हेक्टर निजी जमिनमा बनाउने योजना बनाइएको छ । प्रस्तावित सोलार प्लान्टको सञ्चालनबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिड (शिवपुर सबस्टेशन)मा जोड्ने तयारी छ । यसबाट राष्ट्रिय स्तरमा विद्युतको आपूर्ति बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

कृषि पूरक आयोजना

शिवराज नगरपालिका वडा नं ६ स्थित धरमनगर तथा मजगवाँ गाउँ नजिक रहेको निजी जमिन भाडामा लिएर यो आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । यो आयोजनालाई ‘कृषि पूरक आयोजना’ नाम दिइएको छ ।

सोलार आयोजनाबाट कृषि जमिनमा असर नपरोस भन्ने उद्देश्यले यहाँ ‘एग्रो फोटो भोल्टायिक (एपीभी)’ प्रणाली अपनाइने भएको छ । यस्तो प्रणालीमा प्यानल मुनिको भूमि कृषि प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।

फोटो भोल्टायिक प्रविधिबाट ऊर्जा उत्पादन र बोट विरुवाको उत्पादन एकसाथ गर्दा ऊर्जा र खाद्यान्न दुवै एकै स्थानबाट उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । उपयुक्त बालीको छनोट गरी छायाँको प्रभावबाट आउने ह्रास कम गराउँदै एपीभी प्रविधि प्रयोग गर्दा कृषि आय ३० प्रतिशतसम्म बढ्न सक्ने समेत आयोजनाले जनाएको छ । यो प्रविधि विश्वका अन्य मुलुकमा धेरै प्रयोगमा आए पनि नेपालमा भने धेरै प्रयोगमा थिएन ।

वर्षभर औसत २२ डिग्री सेल्सियस तापक्रम

प्रस्तावित आयोजना स्थलमा वर्षभर औसत २२ डिग्री सेल्सियस तापक्रम रहने देखिएको छ । सोलार प्यानलमा दैनिक ८.७ घण्टा सौर्यकिरण पर्ने समेत देखिएको छ । जसबाट १५ मेगावाट र वार्षिक ३०.२ गिगावाट घण्टा बिजुली उत्पादन हुने अध्ययनमा देखिएको छ । यहाँ क्रिस्टलाइन मोनो सिलिकन (प्यानल) प्रयोग हुने भएको छ । प्रतिप्यानल उत्पादन क्षमता ६७० डब्लूपी देखिएको छ । प्यानलले कुल ७८ हजार ६२ वर्गमिटर क्षेत्रफल ओगट्ने छ । कुल २५ हजार १ सय प्यानल जडान गरी सो मात्रामा बिजुली उत्पादनको लक्ष्य राखिएको छ । यस विन्दुबाट शिवपुर सवस्टेशनसम्म प्रसारणलाइन बनाएर बिजुली जडान गरिने भएको छ । २.९ किलोमिटर लामो प्रसारण लाइन हुने भएको छ ।

आयोजनाको आयु २५ वर्ष, एक वर्षमा निर्माण सकिने

प्रतिवेदन अनुसार प्रस्तावित आयोजनाको आयु २५ वर्ष (विद्युत् खरिद बिक्री सम्झौता) तोकिएको छ । आयोजनाको लागत १२० करोड अनुमान गरिएको छ । निर्माण एक वर्षमा सक्ने लक्ष्य छ । १७ हेक्टर निजी जमिनमा आयोजनाको काम हुने भएको छ । यहाँ पछिल्लो ७ वर्षदेखि जमिन बाँझो अवस्थामा रहेका कारण तत्काल कृषि बालीमा असर नपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?