+
+

फोनपेको एकाधिकारले विद्युतीय भुक्तानी प्रणाली नै जोखिममा

बुधबार दिनभर फोनपेको सेवा अवरुद्ध भयो, जनताले समस्या भोगे तर के कारणले समस्या भयो भनेर कम्पनीले सर्वसाधारणलाई मात्रै होइन, नेपाल राष्ट्र बैंकलाई पनि जानकारी दिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते २०:२१
फाइल तस्वीर

२५ पुस, काठमाडौं । नेपालको विद्युतीय भुक्तानीमा एकाधिकार कायम गरेको ‘फोन पे’को सेवा पटकपटक अवरुद्ध हुँदा मुलुकको भुक्तानी प्रणालीमै जोखिम देखिएको छ ।

नेपाली जनताले ९० प्रतिशतभन्दा बढी क्यूआर भुक्तानी ‘फोन पे’ मार्फत नै गर्छन् । बुधबार फोन पेको सेवा बिहानैदेखि दिनभरजसो अवरुद्ध भयो । यसअघि पनि फोनपेको सेवा पटकपटक अवरुद्ध हुने गरेको थियो ।

बिहान ५ बजेदेखि नै फोन पे सिस्टम डाउन भएको र दिनभरजसो सञ्चालनमा नआउँदा डिजिटल बैंकिङ कारोबार गर्ने सेवाग्रहीलेसमस्या भोग्नुपर्‍यो ।

बुधबार बिहान ५ बजेर ६ मिनेटदेखि सेवा अवरुद्ध भएको र सेवा सुचारु गर्ने प्रतिवद्ध रहेको भन्दै फोन पेले सामाजिक सञ्जाल मार्फत सुचना प्रकाशित गरेको थियो । बिहान ५ बजेदेखि अवरुद्ध भएको सेवा करिब २ बजेबाट मात्रै सुचारु भएको थियो ।

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक सहित ५० वटा संस्थाको भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएको फोन पेमार्फत ९० प्रतिशतभन्दा बढी क्यूआर भुक्तानी हुने गरेको एक बैंकका आईटी विभाग प्रमुखले बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकबाहेक सबै बैंक फोन पेको नेटवर्कमा आवद्ध छन् ।

नेपालका सबैजसो बैंकको डिजिटल कारोबार फोन पेमार्फत हुने गरेकोमा यसमा पटकपटक देखिने समस्याले विद्युतीय भुक्तानी नै जोखिमपूर्ण बनेको एक बैंकरले बताए ।

‘एक हिसाबले नेपालको फिन्टेकमा फोनपे तथा यसको मातृ कम्पनी एफवान सफ्टको कब्जा छ, तर उसको प्रणालीमा पटकपटक समस्या आउने गरेको छ, यसले सर्वसाधारणमा डिजिटल बैंकिङप्रति नै अविश्वास पैदा हुनसक्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको २०८० कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख भन्दा माथि रहेको छ । जसमध्ये अधिकांश मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेको नेटवर्क प्रयोग गर्ने भएकोले फोन पेको सेवा अवरुद्ध हुँदा डिजिटल बैंकिङ कारोबार नै प्रभावित बन्न पुगेको थियो । फोनपेको लापरवाहीले सेवा अवरुद्ध हुँदा बैंकहरुको सेवाग्राही समेत प्रभावित बनेको एक बैंकरले बताए ।

‘फोन पेको सेवा प्रभावित हुँदा डिजिटल बैंकको अधिकांश सेवा प्रभावित हुन्छ । मोबाइल बैंकिङमा फोन पे र कनेक्ट आईपीएस गरी २ वटा नेटवर्क मार्फत फण्ड ट्रान्सफर गर्न सकिन्छ,’ ती बैंकरले अनलाइनखरसँग भने, ‘फण्ड ट्रान्सफर गर्दा फोनपेको सेवा अवरुद्ध हुँदा कनेक्ट आईपीएसको नेटवर्क प्रयोग गर्ने सकिन्छ । तर, क्यूआर कोड मार्फत हुने भुक्तानीमा भने ९० प्रतिशत हिस्सा फोनपेको नै रहेको छ ।’

देशभर फोनपेका मात्रै १३ लाख मर्चेन्ट पार्टनर छन् । नेपाल पे र स्मार्ट क्यूआरको करिब ७ लाख हाराहारी मर्चेन्ट भए पनि तिनको कारोबार कम रहेको स्रोतको भनाइ छ । फोनपेको सेवा अवरुद्ध हुँदा दिनभर आफ्नो पसलमा आउने ग्राहकहरुले समस्या बेहोर्नुपरेको काठमाडौंको बानेश्वरमा क्याफे सञ्चालन गर्दै आएकी ममता न्यौपानेले बताइन् । ‘फोन पेबाट भुक्तानी भइहाल्छ मान्छेहरु केही किन्न जानुपर्दा पैसा लिएर हिँड्नै छाडे,’ उनले भनिन्, ‘तर, फोनपे नचल्दा कतिपय ग्राहकसँग भुक्तानी नै लिन पाइएन ।’

अहिले क्यूआर कोड मार्फत विभिन्न बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिन्छ भनेपछि आम नागरिकले नगद बोक्न छोडेको अवस्था छ । अधिकांश मर्चेन्टले फोनपेकै क्यूआर प्रयोग गर्ने भएकोले क्यूआरमा आधारीत कारोबारमा ९० प्रतिशत हिस्सा फोनपेकै रहेको ती बैंकरले बताए ।

क्यूआरमार्फत हुने भुक्तानी फोनपेको सेवा प्रभावित हुँदा ठप्पजस्तै भएको र त्यसको मारमा आम सर्वसाधारण परेको ती बैंकरले बताए । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोजमा क्यूआरमा आधारित भुक्तानी संख्या १ करोड १८ लाख ८३ हजार पुग्दा ३६ अर्ब भनदा बढीको कारोबार भएको छ । यस्तै कात्तिकमा करिब ८७ लाख ३० हजार वटा कारोबारमा ३२ अर्ब भन्दा बढीको भुक्तानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसको ९० प्रतिशत हिस्सा फोन पेकै रहेको बैंकरहरु बताउँछन् ।

फोनपेको सेवा अवरुद्ध हुँदा मोबाइल बैंकिङ सेवा नै अवरुद्ध हुने भन्ने होइन । तर, अधिकांश क्यूआर भने फोनपेकै रहेकोले क्यूआरमा आधारित कारोबार भने प्रभावित भएको हो ।

बुधबार फोनपेमार्फत एक बैंकदेखि अर्को बैंकको फण्ड ट्रान्फसर पनि अवरुद्ध भएको थियो । त्यसले पनि मानिसहरुलाई पैसा पठाउन केही हदसम्म समस्या पर्‍यो । तर, फन्ड ट्रान्सफरमा कनेक्ट आईपीएसले पनि काम गर्ने हुँदा यसमा कम प्रभाव परेको तर क्यूआर भुक्तानीमा भने निकै ठूलो समस्या परेको उनले बताए ।

फोनपेको सेवा अवरुद्ध हुँदा विद्युत्, खानेपानी तथा स्कुल कलेजको बिल भुक्तानीदेखि अन्य अत्यावश्यक सेवाको बिल भुक्तानीमा समेत समस्या आएको सेवाग्राहीको गुनासो छ ।

यति लामो समयसम्म सेवा अवरुद्ध भए पनि यसबारे उसले राष्ट्र बैंकलाई जानकारी गराएको छैन । ‘फोन पेको सेवामा समस्या आएको जानकारी आएको छैन,’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेको भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्टले भने, ‘विभागमा सूचना आएर पनि आफूलाई जानकारी नआएको हुनसक्ने उनले बताए ।’

यस विषयमा बुझ्न खोज्दा फोन पे तथा एफवान सफ्टका कुनै अधिकारी पनि सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?