+
+

मकर योञ्जन भन्छन्- उपविजेता बनेपनि यसलाई मैले जितको रुपमा लिएको छु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १५:०३

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेमा दर्शकको क्रेज हेर्दा लाग्थ्यो, मकर योञ्जनले ट्रफी उचाल्नेछन् । ४० वर्षीय मकर भ्वाइसको नेपाली संस्करणमा प्रभावशालीमध्येका एक ट्यालेन्ट हुन् ।

ब्लाइण्ड अडिसनदेखि फिनाले एपिसोडसम्म भ्वाइसको परिदृश्य मकर प्रेरित रह्यो । कुनै गीतलाई आफ्नै शैलीमा ढालेर गाउन सक्ने सामर्थ्य बोकेका मकरको लोकप्रियता अहिले सामाजिक सञ्जालदेखि सार्वजनिक थलोसम्मै छ ।

भ्वाइसको गोदावरी फिनालेबाट विनोद राईले ट्रफी उचाले । लोभलाग्दो फ्यान क्रेज र देश तथा विदेशबाट प्राप्त समर्थनको बाबजुद मकर उपविजेता बने । होस्ट सुशील नेपालले जब विजेता घोषणा गरे, तब मकरका फ्यान स्तब्ध हुनु स्वभाविकै हो । उपविजेता बनेपनि मकरको समर्थनमा फ्यानको क्रेज अचम्मकै छ । यस्तो क्रेज भ्वाइसका अघिल्ला फाइनलिस्टमा कमै थियो । भोटको प्राविधिक अंकगणितमा मकर उपविजेता बने । तर उनीप्रतिको लोकप्रियतामा कमी आएको छैन ।

भ्वाइसको ग्राण्ड फिनालेपछि अनलाइनखबरसँग कुरा गर्दै मकरले नतिजाप्रति आफू सन्तुष्ट रहेको र उपविजेता बनेपनि यसलाई आफूले जितको रुपमा लिएको बताए । ‘भ्वाइसमा जोडिंदा यहाँसम्म आउने आशा राखेको थिइनँ । म कृतज्ञ छु दर्शकप्रति । मेरो सांगीतिक करिअर बल्ल सुरु भएको महसुस भएको छ,’ उनले भने ।

आफ्ना लागि दर्शकको माया सबथोक भएको उनको भनाइ छ । ‘म यो नतिजालाई लिएर एकदमै सन्तुष्ट छु । किनभने दुईजनामा एकजनाले जित्नैपर्ने हो । उहाँ (विनोद राई) अगाडि आउनुभयो । मैले फस्ट रनरअपको उपाधि पाउनु पनि धेरै ठूलो कुरा हो यो मञ्चमा । दर्शकको मायाले नै त म यहाँसम्म आएको हुँ,’ मकर भन्छन्, ‘केही भोट कम भयो होला मेरो तर दर्शकको माया यति धेरै पाएको छु नि, मैले केही भन्नै पर्दैन ।’

उनले विजेता विनोद राईलाई जितको लागि योग्य भन्दै प्रशंसा गरे । ‘डिजर्भिङ मान्छेले पाउनुभएको छ । विनोदजी राम्रो गायक हुनुहुन्छ । भर्सटायल आवाजको धनी हुनुहुन्छ । राम्रो पर्सनालिटी हुनुहुन्छ । जितसँगै खुसीको माहोल त छँदैछ, त्यससँगै जिम्मेवारी पनि उहाँलाई थपिएको छ,’ मकर भन्छन्, ‘चुनौतीलाई सामना गर्ने क्षमता उहाँमा छँदैछ र जिम्मेवारीलाई बहन गर्ने क्षमता पनि उहाँमा छ ।’

फिनालेमा जुन दर्शकीय समर्थन मकरले पाए, यसप्रति उनी कृतज्ञता जनाउँछन् । ‘फिनालेमा त्यो हलभित्र, त्यो ठाउँमा पनि मेरा लागि यति धेरै सपोर्टर आउनुभएको थियो, सबैलाई धन्यवाद दिन चाहन्छु । जति पनि दर्शक-श्रोताले मलाई यहाँसम्म पुर्‍याइदिनुभएको छ । एकदमै आभारी छु । एकदमै कृतज्ञ छु,’ उनी भन्छन् ।

अहिल्यैदेखि आफूलाई धेरै सांगीतिक अफर आएको सुनाउँदै मकरले अब आफूले स्तरीय गीत-संगीत बनाउन जोड दिने बताए । उनी भन्छन्, ‘आएका कन्टेन्ट र अफरलाई पनि म छुटाउने छैन ।’

शास्त्रीय जनराबाट आएको मान्छेलाई पनि दर्शकले दिएको माया उल्लेखनीय रहेको उनको बुझाइ छ । ‘सुरुमा अडिसन दिंदा यति अपेक्षा राखेको थिइनँ । बीचमा धेरै नयाँ कुरा प्रयास गरेको छु । रियालिटी शोको परिदृश्यमा हेर्नुहोला, कन्टेन्टमा यति आफ्नोपन दिने प्रयास गरेको छु, त्यो कुराले नै मलाई मान्छेले स्वीकार गरे । त्यही भएर यहाँसम्म आइपुग्दा खुसी छु । क्लासिक जनराबाट आएको मान्छेलाई पनि यति धेरै स्वीकार गर्नुभएको छ, मलाई अगाडि काम गर्न बाटो खुलेको छु,’ उनी भन्छन् ।

उनले बल्ल आफ्नो सांगीतिक करिअर सुरु भएको बताए । ‘यहाँको माया र भोटले नै यहाँसम्म आइपुगेको छु । मेरो सांगीतिक यात्राको सुरुवात भइसकेको छ,’ उनी भन्छन्, ‘अब नेपालमै बसेर सांगीतिक करिअरलाई अघि बढाउँछु ।’

भ्वाइसमा जोडिनुअघि मकरले लामो समय भारतमा रहेर संघर्ष गरेका थिए । सर्लाहीमा जन्मेर कञ्चनपुरमा बसोबास गर्दै आएका मकरको लोकप्रियता भ्वाइसपछि निकै चुलिएको छ । मकरले टिम राजेशपायल राईको समूहबाट भ्वाइसमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?