+
+

सन्तलाल चेपाङको कथामा डकुमेन्ट्री ‘कथाभित्रका कथाहरु’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते २१:५१

काठमाडौँ । दीपेन्द्र केसी कुनै समय म्युजिक भिडियो निर्देशनमा व्यस्त नाम हो । उनले नवीन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचेँ तिमीलाई’ लगायतका चर्चित गीतको भिडियो निर्देशन गरेका छन् ।

म्युजिक भिडियो निर्देशनमा व्यस्त र स्थापित नाम बनेपनि उनको गन्तव्य फिल्म थियो । त्यसका लागि खुलेको ओस्कार कलेजमा पढ्ने सोच उनले बताए । ‘मलाई फिल्म निर्देशनको अफर नआएको होइन तर मैले पहिला अध्ययन नै गर्ने निर्णय लिएँ । अध्ययन गर्दै जाँदा आफ्नो हैसियत पनि बुझेँ’ दीपेन्द्र भन्छन् ,‘पढाइ सकाउँदासम्मको ग्यापले काम केही कम हुन थालेको थियो । पछि यसले म्युजिक भिडियो गर्दैन भन्ने हल्ला भयो ।’

सिकाइकै क्रममा म्युजिक भिडियो निर्देशक बनेका दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री बनाउनतिर लागेका छन् । केही समय यता उनी ‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त छन् । प्रायः पशुपतिनाथ मन्दिर वरपर पुगिरहने दीपेन्द्रले एक दिन त्यहाँ कथा देखे । त्यसपछि उनलाई त्यसभित्रको कथा खोज्ने रहर लाग्यो । अनि सुरु भयो, ‘कथा भित्रका कथाहरू’ ।

‘एकदिन पशुपति पुग्दा मैले त्यहाँ छाप्रोमा खाजा बेच्नेलाई देखेँ । त्यो मानिसले त्यहाँ खाजा बेचेर जीविकोपार्जन गरिरहेका थिए । मलाई उनी भित्रको कथा जान्न मन लाग्यो र सोध्न थालेँ’, उनले भने, ‘त्यसपछि मैले डकुमेन्ट्रीमार्फत देखिएको कथाभित्रको कथा देखाउने निर्णय लिए ।’

त्यसपछि उनले चेपाङ समुदायको कथा खोजे । ‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथा भेटेपछि यसमै डकुमेन्ट्री बनाउने निर्णय लिएँ र सुरु गरे कथा भित्रका कथा’, उनले भने ।

मनहरी गाउँपालिका ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

उनले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन् । फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । डकुमेन्ट्रीलाई उनले समय दिएर तयार गरिरहेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ ।

उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए । ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्, ‘मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेकी हुन् भने सह निर्मातामा बालकृष्ण खड्गी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?