+
+
Shares
फिल्म :

ढोरपाटन : कठिनाइमा हाँस्दै बाँच्न सिकाउने सुन्दर फिल्म

प्रसुन संग्रौला प्रसुन संग्रौला
२०८० माघ ३ गते १६:२९

काठमाडौं । ठिहिर्‍याउने चिसो र वरिपरिको पातलो बस्तीमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? घुँडासम्मै गाडिने बाक्लो हिउँमा फस्दा तपाईंलाई मद्दत गर्न कोही आएन भने के गर्नुहुन्छ ?

यी कुरामा कौतुहलता छ भने नेपाली वृत्तचित्र ‘ढोरपाटन’ले तपाईंसामु यस्तो परिस्थितिको चित्रण गर्छ, जहाँ सत्तरी काटेका दुई वयोवृद्ध महिलाको काँधमा सिंगो गाउँको हेरचाह गर्नुपर्ने दायित्व छ, त्यो पनि चिसो कठ्यांग्रिदो हिउँदमा ।

ढोरपाटनमा चिसो अधिक छ । हावाहुरीसँगै हिउँ पर्दा स्थानीयको जीवनयापन अझै कष्टकर हुन्छ । यो बेलामा लेकमा बस्नेहरु चिसो छल्न बेसीमा झर्छन् । तर जो हिंड्न सक्दैनन्, उनीहरु जाडोको यातना सहँदै घरमै बस्नुको उपाय छैन । चिसो छल्न गाउँलेहरु बेसी झर्दा दुई महिला चाहिं पुसको ठिहीमा गाउँमै बस्छन् र गाउँको रेखदेख गर्छन् ।

राजन कठेत र सुनीर पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘ढोरपाटन’ हेरेपछि तपाईंले त्यो चिसो महसुस गर्न सक्नुहुन्छ । निर्देशकद्वयले हिउँदयामको चिसोमा दुई गृहिणी रतिमा र कालिमाले कसरी चिसोको असह्य पीडालाई खेप्छन् भन्ने दारुण अवस्था चित्रण गरिदिएका छन् । ७० वर्षको उमेरमा पनि उनीहरुले चिसोसँग लड्दै खेतबारी, पशुपालन र पाखाथर गाउँको कामलाई कसरी अघि बढाएका छन् भन्ने देख्न सकिन्छ ।

कसरी बन्यो फिल्म ?

सन् २०१८ निर्देशक पाण्डेले देशका आमजनताको कथा भन्ने श्रृंखला ‘हेर्ने कथा’को एपिसोड हेरेपछि ‘ढोरपाटन’ बनाउने विचार आएको बताए । उक्त एपिसोडमा चिसो छल्न बेसी झर्नेदेखि दुई वृद्ध महिला रतिमा र कालिमाले पनि गाउँ छाड्नुको सट्टा कसरी गाउँको हेरचाहमा लाग्छन् भन्ने कथा प्रस्तुत थियो । पाण्डे भन्छन्, ‘त्यो हेरेपछि मैले राजन (कठेत)लाई जाडोमा पाखाथर जानुपर्छ, कम्तीमा १०० दिन बिताएर ती दुई महिलालाई लिएर फिल्म बनाउनुपर्छ भनें ।’

उक्त कथाबाट चासो लिंदै पाण्डे र कठेत पाखाथर पुग्छन् र ती दुई महिलाको दैनिक जीवनलाई आफ्नो लेन्समा कैद गर्न थाल्छन् । दुई साता बिताएपछि उनीहरु काठमाडौं फर्किए । अनि ती दुई महिलाको कथालाई कसरी खिच्ने भन्ने योजना बनाए ।

लगत्तै पाण्डे र कठेत सिनेम्याटोग्राफर बबिन दुलालसँग झोला बोकेर पाखथरतर्फ लागे । तर फिल्म छायांकन गर्न भने सजिलो थिएन । ठिहिर्‍याउने चिसो थियो भने घरहरु हिउँले पुरिएका थिए । बारम्बार आउने आँधीले फिल्म खिच्ने टोलीलाई कठिन भइरह्यो ।

‘अत्यधिक चिसोले ब्याट्री जोगाउन समस्या भएको थियो र जलविद्युत प्लान्टमा समस्या आएप उक्त गाउँको बिजुली आपूर्ति बन्द हुँदा झन् समस्या भयो,’ पाण्डेले सम्झिए ।

तर फिल्म निर्माताले विचलित नभई विभिन्न स्रोतको प्रयोग गर्दै यी चुनौतीलाई पार लगाए । प्राविधिक चुनौतीको सामना गर्नुपर्दा पनि टोलीले स्वास्थ्य समस्याबाट आफूलाई जोगाउन पूर्ण तयारी गरेको थियो । सुटिङको क्रममा स्वस्थ र न्यानो रहन भिटामिन सी, हट चकलेट, चीज, ग्रिन टी र अन्य अत्यावश्यक वस्तु लिइरहे ।

चाखलाग्दो कुरा के छ भने पाण्डे, काठेत र दुलाल तीनैजनाले यी चुनौती र सीमिततालाई सकारात्मक नतिजाको रुपमा लिए । उनीहरूले उक्त कठिन परिस्थितिप्रति आभार व्यक्त गर्दै फिल्मबारे आफूहरुको चेतना बढेको र सिर्जनात्मक प्रक्रिया थप समृद्ध बनेको रुपमा यसलाई लिए ।

हिउँदयामको जीवन

वृत्तचित्र ‘ढोरपाटन’ले भयंकर कठिनाइ र चिसोको बाबजुद पनि पात्रको जीवनको विविध र मार्मिक दृश्य पेश गर्छ । पात्रहरूको विगत र वर्तमानलाई अन्तरदृष्टि प्रदान गर्न चुनौतीपूर्ण थलोमा फिल्म खिच्ने निर्माताको प्रयत्न प्रशंसनीय छ ।

कथावाचनको बीचमा पनि फिल्ममा केही यस्ता पक्ष छन्, जसले दर्शकलाई उत्सुक बनाउन सक्छ । एउटा उदाहरण पूरै फिल्ममा पात्रको नाम नछुटाउनु हो । पात्र र उनीहरुको नभनिएको कथालाई प्रतिविम्बित गर्ने फिल्म निर्माताको यो शैलीले दर्शकमा जिज्ञासा र भावनाको एक चाखलाग्दो तहको विकास गर्छ ।

फिल्मको अर्को चाखलाग्दो पक्ष के हो भने सार बताउन प्रतीकात्मक कुराको कुशल प्रयोग गर्नु हो । उदाहरणका लागि एक विशेष दृश्यमा दुई बाख्राका पाठाको टाउको ठोक्काइएको देखाइएको छ । फिल्मभरि कथाको अर्थका तहलाई थप समृद्ध तुल्याउँदै प्रतीकात्मक ढंगले प्रस्तुत गरिएको छ ।

यी प्रतीकलाई पूर्ण रूपमा बुझ्न फिल्मलाई आफैं अनुभव गर्नुपर्छ । यसले कथाको सूक्ष्मतालाई खुलाउन र समग्र कथाको गहिराइमा पुग्न योगदान समेत दिन्छ । कथाको प्लटले प्रशस्तै संघर्ष र कठिनाइलाई चित्रण गर्छ । योसँगै फिल्मको ब्याकग्राउण्ड स्कोरले कथाको प्रस्तुति थप मार्मिक र यथार्थपरक दर्शाउँछ ।

‘ढोरपाटन’ उदासीको मात्र चित्रण होइन, यसले मानिसलाई उमेरको पर्वाह नगरी कसरी चुनौती सहन सकिन्छ भनेर प्रेरित पनि गर्न सिकाउँछ । स्थानीय लवज, कुराकानी र लोकगीतमार्फत यसले हास्य र आनन्द पनि प्रदान गर्छ । साथै, ढोरपाटन उपत्यकाको सुन्दर परिदृश्य प्रस्तुत गर्दै यसको प्राकृतिक सौन्दर्य पनि पेश गरेको छ ।

विश्वव्यापी पहिचान

जुन २०२३ मा शेफिल्ड डकफेस्टमा प्रिमियर भएको फिल्मले नाटिभा अवार्ड प्राप्त गरेको थियो भने डोकुबाकु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा पुरस्कृत समेत भयो । लिमा अल्टरना अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो फिल्म अनरबेल मेन्सन विधामा पुरस्कृत भयो ।

डिसेम्बर ९ देखि १२ सम्म काठमाडौंमा भएको ११ औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यो फिल्मले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको थियो । यसबाहेक ‘ढोरपाटन’को हालै डीएमजेड अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलमा एसिया प्रिमियर र भारतको धर्मशाला इन्टरनेसनल फिल्म फेस्टिभलमा साउथ एसिया प्रिमियर भएको थियो ।

विश्वव्यापी सफलतापछि यो निर्देशकीय जोडीले नेपालको सिनेमा हलमा फिल्म रिलिज गरेको छ । अहिले काठमाडौंको सीडीसी हलमा फिल्म प्रदर्शन भइरहेको छ । यस्ता खाले फिल्म हलमा रिलिज गर्न हिच्किचाउने निर्माताले त्यो अभ्यासलाई तोड्दै दर्शकलाई अद्वितीय फिल्मको अनुभव प्रदान गरिरहेका छन् ।

निर्देशक पाण्डे भन्छन्, ‘यस्ता फिल्ममा दर्शक छन् भन्ने देखाउन चाहन्छौं । हामीले हलमा यस्ता फिल्म हेर्ने संस्कृति स्थापित गर्ने लक्ष्य राखेका छौं ।’

फिल्मका निर्माता के कुरामा विश्वास राख्छन् भने यस्तो असामान्य जनराका फिल्म हलमा प्रदर्शन गर्दा यस्ता फिल्म हेर्न चाहने व्यक्तिसँग सम्पर्क स्थापित गर्न मद्दत पुग्छ ।

पाण्डेले भने, ‘बितेका चार–पाँच वर्षमा हामीले के गर्‍यौं भनेर जान्न साथीभाइ र परिवारसहितका मानिस उत्सुक छन् र यो फिल्ममार्फत हामी जवाफ दिन चाहन्छौं ।’

(यो  लेख अनलाइनखबर डटकमको अंग्रेजी संस्करणबाट भावानुवाद गरिएको हो ।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?