+
+

उपमेयरसँग हर्क साम्पाङको भनाभनको कारण राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते २१:०७

१ माघ, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच बढेको तिक्तता सामाजिक सञ्जाल हुँदै कार्यपालिका बैठकसम्म पुगेको छ ।

शनिबार बसेको कार्यपालिका बैठकभर साम्पाङ र बेघाबीच भनाभन चल्यो । गत १७ पुसमा मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा राखेको एक भिडियोलाई लिएर उपमेयर बेघाले कार्यपालिका जवाफ मागेका थिए ।

मेयरलाई असहयोग गरेको सन्देशसहितको त्यस भिडियोबारे जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नदिने उपमेयर बेघाले अडान लिएका थिए । चुनाव सम्पन्न भएको १८ महिनासम्म साथ दिएको तर्क गरेका उपमेयर बेघालाई साम्पाङले चित्तबुझ्दो जवाफ दिएनन् ।

बरु असहयोग भएको तर्कमा अडिग रहँदै मेयर साम्पाङले दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गरे । दिउँसो बसेको बैठकमा पनि उपमेयर बेघाले जवाफ मागेका थिए ।

तर कार्यपालिका सदस्यहरुले बैठक चलाउनुपर्ने अडान लिएपछि मेयर साम्पाङ अघि बढे । उपमेयर बेघा बेलाबेला प्रश्न राख्दै बैठकमा बसिरहे । अहिले त्यही बैठकमा साम्पाङ र बेघाबीच चलेको भनाभन सामाजिक सञ्जालमा चलिरहेको छ ।

उपमहानगरका प्रवक्ता मनोजकुमार भट्टराई मेयर र उपमेयरबीच अहिले चलिरहेको भनाभन गएको १२ पुसबाट सुरु भएको बताउँछन् । ‘मेयरको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाइयो, अहिलेको समस्या त्यहीँबाट सुरु भएको हो’ उनी भन्छन्, ‘अर्को कारण कार्यपालिका बैठकमा एजेण्डा तय गर्दा उपमेयरलाई पनि सोधिएनछ ।’

हर्क साम्पाङ र उनको कार्यकक्षमा रहेको यलम्बरको तस्वीर ।

तर मतभेदको मूल कारण मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हटाएर यलम्बरको तस्वीर राख्नु नै हो । धरानलाई संघीय सरकारले साथ नदिएको भन्दै मेयर साम्पाङले गत १२ पुसमा आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका थिए ।

मेयर साम्पाङको यस्तो निर्णयमा उपमेयर बेघाको चर्को असन्तुष्टि थियो । कतिसम्म भने भोलिपल्टै (१३ पुसमा) नगरपालिकाको लेटरप्याडमा उपमेयर बेघाले मेयर साम्पाङको निर्णयबाट दुखी बनेको भन्दै वक्तव्य जारी गरेका थिए ।

‘धरान उपमहानगरपालिकाका प्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरु हटाएको विषयले दुखी बनाएको छ, जसबाट सम्माननीय माथि पर्न गएको असरप्रति दुख व्यक्त गर्दै क्षमा समेत माग्छु’, उपमेयर बेघाको वक्तव्य थियो ।

उपमेयर बेघाको यही वक्तव्य र त्यसमा आएको प्रतिक्रिया समेत पढेर बनाइएको भिडियो मेयर साम्पाङले १७ पुसमा फेसबुकमा शेयर गरेका थिए । त्यो भिडियोमा बेघालाई दलको सेवा गर्ने र मेयरलाई असहयोग गर्ने भनिएको छ ।

उपमेयर बेघाको मुख्य आपत्ति अहिले त्यही भिडियो मेयर साम्पाङले शेयर गरेकोप्रति छ । ‘मेयरको कार्यशैलीप्रति वडाध्यक्षहरुले बारम्बार प्रश्न उठाउँदै आयौं । तर उपमेयर सधैं हाँसेर बस्नुभयो । अहिले उहाँहरुकै मन मिलेन’, एक वडाध्यक्ष भन्छन् ।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउनु अघिसम्म पनि साम्पाङ र बेघा सँगसँगै थिए । मेयर साम्पाङको जनश्रम अभियानदेखि काठमाडौं यात्रामा समेत उपमेयर बेघाले साथ दिएका थिए ।

प्रधानमन्त्रीलाई धरानमा निम्तो गर्ने क्रममा पत्र बुझाउँदै मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा ।

तर गत २०–२४ पुसमा सम्पन्न धरान महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएको भन्दै मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट तस्वीर हटाइदिए ।

जसको विपक्षमा उपमेयर बेघा छन् । शनिबार (२९ पुस) कार्यपालिका बैठक कक्षको भित्तामा उपमेयर बेघाले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राखेका छन् । उनले राष्ट्रप्रमुख र प्रधानमन्त्रीको तस्वीर हटाएर राज्यलाई चुनौती दिन नहुने तर्क गर्दै आएका छन् ।

तर यो विषयमा मेयर साम्पाङले कुरै गर्न नचाहने मात्रै नभएर सामाजिक सञ्जालबाट यलम्बरको तस्वीर नहट्ने अडान लिने गरेपछि उपमेयर बेघाले बैठक अवरोधको प्रयास गरे । ‘मेयरले उपमेयरको फोन उठाउनु हुन्न, अनि बैठकमै कुरा राख्नु परेको हो’, बेघा निकट एक नेताले भने ।

यद्यपि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको साथ पाएकाले उपमेयरकै विरोधबीच मेयर साम्पाङले बैठक चलाए । २० वडा रहेको धरान उपमहानगरमा एमालेका १०, कांग्रेसका ७, माओवादीका एक, राप्रपाका एक र स्वतन्त्र एक वडाध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?