+
+

विदेशी विद्यार्थीको सङ्ख्या घटाउने क्यानडेली आप्रवासन मन्त्रीको संकेत

क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने गरी काम गरिरहेको संकेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १५:३४

२ पुस, काठमाडौं । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गरेका छन् ।

गत सप्ताहन्तमा मिडिया अन्तर्वार्ताको श्रृङ्खलामा उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई सीमित गर्न खोजिरहेको उल्लेख गरेका हुन् ।

मन्त्री मिलरका अनुसार संख्या कटौतीबारे प्रान्तहरूसँग पनि कुराकानी भइरहेको छ । विभिन्न प्रान्तमा शैक्षिक संस्थाहरूको गतिविधिलाई गम्भीरताका साथ हेर्नुअघि संघीय तहमा संख्या मिलाउन आवश्यक रहेको समेत उनले बताए ।

क्यानडामा सन् २०२३ मा अहिलेसम्मकै उच्च करिब १० लाख विद्यार्थी भर्ना भएका थिए । क्यानाडाको अध्यागमन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार क्यानाडामा भर्ना भएका विदेशी विद्यार्थीहरूको संख्या सन् २०१२ र २०२२ बीचमा १९३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

विदेशी विद्यार्थीको सङ्ख्या अत्यधिक बढेसँगै क्यानडाले आवास र रोजगारीको समस्यासँग जुधिरहेको छ । बीबीसीका अनुसार पछिल्लो दुई वर्षमा आवासको निरन्तर अभावले आवास भाडा २२ प्रतिशतले बढेको छ ।

आवास समस्या सम्बोधन गर्न सरकारले २०२३ मा विदेशीलाई क्यानडामा घर किन्न दुई वर्षको प्रतिबन्ध लगाएको थियो ।

अध्यागमन मन्त्री मिलरले क्यानडामा भित्रिएको विद्यार्थीको सङ्ख्यालाई ‘निराशाजनक’ भनेका छन् र, सरकारले चालेको कदमलाई ‘नियन्त्रण बाहिर गएको प्रणाली’ लाई सम्बोधन गर्ने प्रयास बताएका छन् ।

उनले यस वर्षको पहिलो र दोस्रो त्रैमासिकमा आवासको माग घटाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा सीमा तोक्ने सम्भावनाबारे विचार गर्ने स्पष्ट पारे ।यो कति हुन्छ भन्नेबारे भने सरकारले विचार गरिरहेको उनले बताए ।

क्यानडाको सार्वजनिक प्रसारक सीबीसीसँगको कुराकानीमा उनले विद्यार्थी घटाउनु सबै समाधान नभए पनि यसले बढ्दो ब्याजदर, आपूर्ति र अन्य चुनौतीहरूको सामनाको लागि सहयोगी हुने दाबी गरेका छन् ।

खासगरी आवास संकट बढिरहँदा यसको प्रत्यक्ष दबाव प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि परेको छ । प्रमुख प्रतिपक्षी दल कन्जरभेटिभ नेता पियरे पोइलिभ्रे भनेका छन्, ‘यदि सरकारले थप मानिसहरू ल्याउँदै छ भने थप आवासहरू बनाउनुपर्छ । तर अहिले हामी पर्याप्त घरहरू निर्माण गरिरहेका छैनौं ।’

यद्यपि विद्यार्थीको संख्यामा सीमा राख्दा त्यहाँका क्याम्पस र विश्वविद्यालयहरू भने प्रभावित हुनेछन् । किनकी क्यानडामा आप्रवासी विद्यार्थीहरूले महंगो शुल्क तिरिरहेका हुन्छन् ।

नेसनल पोस्टका अनुसार यस वर्ष क्यानडा प्रवेश गर्ने विद्यार्थीको संख्या बढेर ९ लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१५ मा लिबरल सत्तामा आएपछि यो संख्या तीन गुणा बढेको छ ।

लिबरलहरूले क्यानाडाको अध्यागमनको स्तरलाई उल्लेखनीय रूपमा बढाएका छन् । सन् २०२५ र त्यसपछि प्रति वर्ष ५ लाख नयाँ स्थायी बासिन्दाहरू वृद्धि गर्ने उनीहरूको लक्ष्य छ । अक्टोबर २०२३ सम्म लगभग ४ लाख ५५ हजार नयाँ स्थायी बासिन्दाहरू स्वीकार गरिएको थियो । अहिलेसम्म २०२३ भरीको सम्पूर्ण तथ्याङ्क भने अझै सार्वजनिक गरिएको छैन ।

क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्थायी बासिन्दाहरू मानिन्छ । कतिपय अर्थशास्त्रीहरूले ट्रुडो सरकारले उचित आधार विना अस्थायी आप्रवासीहरू तीव्र दरमा बढाउँदा आर्थिक समस्या देखिएको तर्क गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?