+
+

पढ्न क्यानडा जाँदै हुनुहुन्छ ? ६ महिनालाई पुग्ने खर्च बोक्नुहोस्

अहिले पढ्नका लागि क्यानडा पुग्ने धेरै विद्यार्थीले चार–पाँच सय डलर मात्र लिएर जाने गर्छन्, जुन रकम त्यहाँ अरूसँग मिलेर बस्दा एक महिनाको कोठाभाडामै खर्च हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते २०:२१

२ माघ, काठमाडौं । गएको केही हप्तामै काम पाइने र तुरुन्तै पैसा कमाउँदै पढ्दै गर्ने सोच बनाएर क्यानडा गएका विद्यार्थी सोचे जस्तो अवस्था नहुँदा समस्यामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीले समयमै काम नपाएपछि कतिपयमा मानसिक समस्या पनि देखिएको छ ।

‘नेपालबाट क्यानडा पढ्न आएका केही विद्यार्थीमा गम्भीर मानसिक समस्या देखिएको छ’ लामो समयदेखि क्यानडामा रहेका अनिल थापाले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिनौंसम्म काम नपाउने, कलेजले बीचमा शुल्क बढाउने, महङ्गो कोठाभाडा र खानासँग जुध्न धेरैलाई समस्या परेको छ ।’

हुन पनि क्यानडाको टोरन्टो क्षेत्रमा महङ्गो कोठाभाडा तिर्नुपर्ने हुन्छ । यसबाहेक गाडीभाडा, लत्ताकपडाका लागि पनि महङ्गो रकम जोहो गर्नुपर्ने हुन्छ । मेन्टल हेल्थ तथा करिअर काउन्सिलर युवराज पौडेल ‘कामको समस्या परेका विद्यार्थीलाई सहयोग कसरी जुटाउन सकिन्छ भन्ने विषयमा छलफल नगरे समस्या बढ्न सक्ने ठान्छन् ।

टोरन्टोको सेन्टेनियल कलेजका प्रोफेसर तुलसी धरेलले धेरै विद्यार्थीलाई पढ्न पठाउने कि कमाउन भन्नेमा स्पष्ट हुन उनीहरूका परिवारसँग आग्रह गरेका छन् । धरेल भन्छन्, ‘कम्तीमा ६ महिना पुग्ने रकम उनीहरूसँग पठाइदिनुस् ।’

‘अध्ययनरत सन्तानलाई कामको लागि दबाब नदिनुहोस् र विद्यार्थीले पनि पैसा कमाउनतिर भन्दा पढ्न ध्यान दिनुहोस्, पढेपछि काम पाइहाल्छ नि’ उनी भन्छन्, ‘आफ्ना सन्तानलाई कम्तीमा ४–५ महिना खान बस्न पुग्ने रकम पठाइदिनुहोस् ।’

अहिले पढ्नका लागि क्यानडा पुग्ने धेरै विद्यार्थीले चार–पाँच सय डलर मात्र लिएर जाने गर्छन्, जुन रकम त्यहाँ अरूसँग मिलेर बस्दा एक महिनाको कोठाभाडामै खर्च हुन्छ । कतिपय कलेजले पूर्व जानकारी विना बीचमै शुल्क बढाइदिने पनि गर्छन् । यसले विद्यार्थीलाई मारमा पार्ने जानकारहरूको भनाइ छ ।

एनआरएनए आईसीसी मेम्बर भानु सिवाकोटी कोभिडपछि विगत दुई वर्षमा विद्यार्थीको संख्या ह्वात्तै बढ्दा आवाससँगै रोजगारीको समस्या बढेको बताउँछन् । ‘विगत ७/८ महिनादेखि क्यानडा बस्दै आएका विद्यार्थीहरूले पनि काम नपाएको भेटिएको छ’ सिवाकोटी भन्छन्, ‘धेरैले सानोतिनो मात्रै काम पाएका पनि छन् ।’

नेपालमा पढ्नेक्रममा काम नगरेका विद्यार्थीलाई क्यानडा आएर कमाउँदै पढ्दै गरेर अनुकूलित हुन केही समस्या देखिएको उनी स्वीकार्छन् । ‘परिवार मिस गर्ने, एक्लोपनको अनुभूति गर्ने, विन्टर डिप्रेसन लगायत समस्यासँगै कतिपयमा मानसिक समस्या बढेको पाइएको छ, खासगरी जहाज भाडा र दुई महिनाको कोठाभाडा मात्रै लिएर आउनेमा यो समस्या देखिन्छ’, उनी भन्छन् । उनी अभिभावकलाई आफ्नो सन्तानलाई विदेश पढ्न पठाउँदा ६ महिनासम्म पुग्ने खर्च व्यवस्था गरेर पठाउन आग्रह गर्छन् ।

विगत एक दशकभन्दा लामो समयदेखि क्यानडाको अल्बर्टामा रहेका एक व्यवसायी भने नयाँ विद्यार्थीलाई अलि धेरै समस्या ओन्टारियोतिर रहे पनि अल्बर्टातिर उति साह्रो नरहेको बताउँछन् । ‘यद्यपि रोजगारीको समस्या रहेको र मलाई पनि सहयोगका लागि अनुरोधहरू आइरहेको अवस्था भने हो’, उनले भने ।

क्यानडामै रहेर पत्रकारिता गरिरहेका जयराम गौतम विद्यार्थीका समस्यालाई यहाँको आर्थिक मन्दीसँग जोडेर हेर्नुपर्ने बताउँछन् । ‘कोभिडपछि ब्याजदर सस्तो बनाउँदा घरजग्गा कारोबार चुलियो । यसले मुद्रास्फीति बढेसँगै ब्याजदर अत्यधिक बढ्यो र अर्थतन्त्र सुस्त भयो । यसको असर सबैलाई परेको छ, तर अलि बढी नयाँ विद्यार्थीलाई परेको छ ।’

उनी आर्थिक मन्दीले एकातिर गुणस्तरीय रोजगारीमा समस्या छ भने सँगै महँगी अत्यधिक बढेको उल्लेख गर्दै भन्छन्, ‘खासगरी कोभिडको समयमा अनलाइन पढिरहेका र रोकिएका विद्यार्थी कोभिडपछि ठूलो संख्यामा क्यानडा प्रवेश गर्दा आवासदेखि रोजगारीसम्मका समस्या बढेको छ ।’

यद्यपि यो समस्या नेपालीले मात्रै नभएर अरू सबै आप्रवासी विद्यार्थी र स्वयं क्यानडेली नागरिकले पनि व्यहोरिरहेको गौतमको बुझाइ छ । साना–ठूला सबै शहरमा यो समस्या भए पनि बढी चर्चा ठूला शहरमा देखिएका समस्याको भइरहेको पत्रकार गौतम बताउँछन् ।

जानकारहरूका भनाइमा बेरोजगारी सबैतिर साझा समस्या भए पनि टोरन्टोमा बढी देखिन्छ । यद्यपि शैक्षिक परामर्शदाताहरू भने टोरन्टो नै सबै उद्देश्यका लागि उपयुक्त भएको भनेर धेरै विद्यार्थीलाई टोरन्टो नै पठाइरहेका हुन्छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे भने पढ्न जाने विद्यार्थीले आफ्नो सम्पूर्ण खर्च त्यहाँ गरेको ‘पार्ट टाइम’ कामबाटै पुर्‍याउँछु भन्ने सोच राखेपछि समस्या देखिएको बताउँछन् ।

उनले भने ‘भिसाका लागि आवेदन दिइरहँदा म आर्थिक रूपमा सम्पन्न छु, खर्च गर्न सक्छु भन्ने तर त्यहाँ पुगेपछि काम गरेरै सम्पूर्ण खर्च पुर्‍याउँछु भन्ने मानसिकता बनाएर गएकाहरूमा समस्या देखिन्छ ।’

अहिले परामर्श केन्द्रहरूले क्यानडा मात्रै नभएर अन्य देशहरूमा पढ्न जाने विद्यार्थी र अभिभावकहरूलाई दुई वर्ष पढ्नको लागि न्यूनतम ४० लाख खर्च गर्न सक्ने भए मात्रै जान सुझाव दिइरहेको पाण्डेले दाबी गरे ।

यो पनि पढ्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?