+
+

कमाउन होइन, पढ्न पठाउनुस् क्यानडा

नेपालमा आफ्ना सन्तानलाई पढ्न भन्दा कमाउन विदेश पठाउने अभ्यास बढ्यो। परिवारले विदेश जानासाथ कमाउन थालोस् भन्ने चाहना राखेर पठाउँदा समस्या बढिरहेको हो।

प्रा.डा. तुलसी धरेल प्रा.डा. तुलसी धरेल
२०८० माघ २ गते २०:२०

अध्ययनपछि रोजगारीको सुनिश्चितता नहुनु र विदेशिंदा भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास बलियो हुनुले नेपालबाट विद्यार्थीको वैदेशिक अध्ययनमा ओइरो नै लागेको देखिन्छ। यसका राम्रा-नराम्रा दुवै पक्ष होलान्।

अरब र मलेसियाको गर्मीमा जोखिमपूर्ण काम गर्नुभन्दा संसारका विकसित देशमा अध्ययन गरेर दक्ष जनशक्ति बनेर राम्रो कमाउनु कसरी नराम्रो हुनसक्छ ? तर यसलाई व्यवस्थित गर्ने सरकारसँग दीर्घकालीन नीति छ कि छैन ?

विश्व बैंकको तथ्यांक अनुसार क्युबा, फिलिपिन्स, चीन, भारत लगायत देशहरुले ठूलो संख्यामा आफ्ना शिक्षित नागरिकहरुबाट अत्यधिक रेमिट्यान्स भित्र्याएको यथार्थबाट नेपाल सरकारले पनि सिक्नुपर्ने हो।

विश्व बजारमा के–कस्तो जनशक्तिको माग छ, त्यही अनुसार जनशक्ति उत्पादन गर्नु र वैदेशिक अध्ययनमा जानेलाई पनि सोही अनुसार अध्ययन गर्न उत्प्रेरित गर्ने गरी नीति तथा कार्यक्रम बनाउन सरकार चुक्नुहुँदैन।

क्यानडामा क्रमशः भारत, नाइजेरिया, ब्राजिल, चीन, फिलिपिन्स, भियतनाम, कोलम्बिया लगायत देशबाट अध्ययनका लागि विद्यार्थी आउँछन्। नेपालबाट यहाँ आउने विद्यार्थीको संख्या पनि गत वर्षदेखि बढिरहेको छ।

अन्टारियो प्रान्तमा २४ सरकारी कलेज र २२ विश्वविद्यालय छन्, यीमध्ये ६ कलेज र ५ विश्वविद्यालय टोरन्टो नजिक सञ्चालनमा छन्। त्यस्तै, टोरन्टो बाहिर निजी संस्थालाई ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ को अवधारणा अनुरूप कलेजको शाखा सञ्चालन गर्न दिने सरकारी नीति छ।

यसको केही रणनीतिक कारण छन्। टोरन्टो ठूलो शहर हो। टोरन्टो बाहिरका साना शहरहरूमा विद्यार्थीलाई रोजगारीमा अलि कठिनाइ हुनसक्छ। त्यसैले सरकारले नै विद्यार्थीलाई आकर्षित गर्न र क्याम्पसको आर्थिक अवस्था उकास्न निजी संस्थालाई  ठेक्का सम्झौतामा टोरन्टो क्षेत्रमा कलेज सञ्चालन गर्न दिएको हो।

अधिकांश मानिस टोरन्टो जस्तो ठूलो शहरमा केन्द्रित हुन चाहन्छन्। विद्यार्थीको चाप बढी हुँदा तत्काल सबै विद्यार्थीलाई रोजगारी उपलब्ध हुन सक्दैन। मैले अध्यापन गर्ने क्याम्पसमा मात्रै ६०-७० हजार विद्यार्थी छन्।

पहिला पढ्न दिनुस्, विस्तारै कमाउँछन्

नेपालबाट अभिभावकले आफ्ना सन्तानलाई पढ्न भन्दा कमाउन विदेश पठाउने अभ्यास बढ्यो। परिवारले विदेश पठाउनासाथ कमाउन थालोस् भन्ने चाहना राखेर पठाउँदा समस्या बढिरहेको हो।

आफ्नो अवस्था अनुसार अभिभावकले सन्तानलाई वैदेशिक शिक्षा दिन चाहनु अस्वाभाविक होइन। २०-२२ वर्षका विद्यार्थीले नेपालमा पढिरहँदा काम गरेका हुँदैनन्। उनीहरू जब विदेश आउँछन्, एकसाथ खान, बस्न, ट्युसन फी र कलेज फी एकसाथ जुटाउनुपर्ने हुन्छ। पढाइ पनि नेपालमा जस्तो होइन, यहाँ क्याम्पसले असाइन्मेन्टहरू प्रशस्तै दिन्छन्।

हरेक हप्ता कलेजले गर्ने असाइन्मेन्टहरू सकेर काम गर्दै खर्चको जोहो गर्नुपर्ने अवस्थाले विद्यार्थी अत्यधिक दबाबमा पर्छन्। यसमाथि पनि नेपालबाट खर्च र सेलफोन/ल्यापटप लगायतका सामग्री पठाइदिए हुन्थ्यो भन्ने आशा व्यक्त गर्न थालिहाल्छन्। ‘फलानाका छोरा-छोरीले यति कमाइसक्यो, हाम्राले के गरे ?’ भन्ने प्रश्न गर्न थालिन्छ।

धेरै विद्यार्थीले भन्छन्, घर-परिवारबाट सामना गर्नुपर्ने प्रश्न अनौठो हुन्छ। ‘अवस्था कस्तो छ, पढाइ-बसाइ कस्तो छ होइन, काम पाइस्, कमाउन थालिस् ?’ यसले विद्यार्थीमाथि चौतर्फी दबाब बढाउँछ।

एउटा गाउँको मानिसले मिटरब्याजमा ऋण खोजेर बच्चालाई विदेश पठाउनु भनेको मुर्ख्याईं हो। जग्गा बेचेर, ठूलो परिमाणमा ऋण लिएर सन्तान विदेश पठाउँछन् ताकि छिट्टै कमाउन थालोस् भनेर। जबकि विद्यार्थी यहाँ आउने पढ्न हो। तत्काल कमाउन सम्भावना हुँदैन। भए पनि जेनतेन आफ्नै खर्च जोहो गर्न सक्लान्।

उहाहरणको लागि, एक हजार डलरले यहाँ खान बस्न ठिक्क पुग्छ। यो रकम भनेको नेपालमा लगभग एक लाख रूपैयाँ हो। गाडी भाडा ४० हजार आसपास हुन्छ भने कम्तीमा ५० हजार घरभाडा तिर्नुपर्छ। २०-३० हजार अड्कली अड्कली खाँदा पनि खानपानमा खर्च हुन्छ।

यसमाथि यहाँको सरकारी नियम अनुसार विद्यार्थीले पूर्णरूपमा काम गर्न पाउँदैनन्। पार्टटाइम रूपमा काम गर्नुपर्छ। यो कुरा अभिभावक र विद्यार्थी दुवैलाई प्रष्ट रूपमा थाहा हुनुपर्छ।

क्यानडा नआउने भनेको होइन, आउनुपर्छ। तर यसका लागि अभिभावक संयमित हुनुपर्छ। सन्तानलाई दबाब दिनुहुँदैन। उनीहरू पढुन्जेल केही समयलाई पुग्ने खर्च घरबाटै पठाउनुपर्छ। ‘तिमी नआत्तिऊ, यो पढाइमा ध्यान दिने बेला हो, लागेको पैसा हामी पठाउँछौं’ भन्न सक्ने र आवश्यक परे पठाउन पनि सक्ने अवस्थामा मात्र सन्तानलाई पढ्न विदेश पठाउने हो।

आफ्नो आर्थिक अवस्थालाई नजरअन्दाज गरेर बच्चालाई अध्ययनका लागि विदेश पठाउने काम गलत सावित हुनसक्छ। पोखराबाट काठमाडौं आउनुपर्दा प्लेन, बस, कार, ट्रकमा सम्म यात्रा गर्ने यात्रु हुन्छन्। आफ्नो आर्थिक अवस्था र अनुकूलता अनुसार साधन तय गर्ने हो।

विदेशमा पढ्न आउने विद्यार्थीले कम्तीमा केही महिना विना दबाब, तनाव नयाँ ठाउँ, परिस्थिति, वातावरण र संस्कृतिमा अनुकूलन हुने अवसर पाउनुपर्‍यो। उमेर र अनुभव दुवैका कारण यी काम चुनौतीपूर्ण हुन्छन् नै।

यसमा थप आर्थिक अभाव थपिएपछि २०-२२ वर्षका युवामा कस्तो मनस्थिति सिर्जना होला ? हामी कल्पना गर्न सक्छौं। त्यसैले केही समय काम नपाए पनि खर्च धान्न सक्छु भन्ने अवस्थामा विद्यार्थीलाई अतिरिक्त तनाव हुँदैन।

कतिपयले आर्थिक मन्दी र आप्रवासन नीतिसँग पनि जोडेर कुरा गर्छन्। तर क्यानडामा पढ्न आउने विद्यार्थीका लागि यसले धेरै प्रभाव पार्ने हो जस्तो लाग्दैन। किनभने उनीहरू त पढ्न आउने हुन् र निश्चित समय काम गर्न पाउँछन्।

यहाँको आप्रवासन नीति अनुसार विदेशी विद्यार्थीले क्यानडामा दुई वर्षसम्म पढेर न्यूनतम उत्तीर्ण जीपीए स्कोर पुर्‍याउन सके उनीहरूले तीन वर्ष काम गर्न पाउँछन्। तीन वर्ष वैधानिक रूपमा काम गरेपछि यसक्रममा यहीं बस्न चाहे पर्मानेन्ट रेसिडेन्स अनुमति पाउने सम्भावना ८०-९० प्रतिशत हुन्छ। यसरी विद्यार्थी भिसामा पढ्न आएकाहरूले कम्तीमा ५ वर्ष त बस्न पाए। उनीहरूले चाहँदा यहींको स्थायी बासिन्दा हुन पाउँछ।

त्यसैले आजको आजै पैसा पठाउनुपर्ने, कमाउनै पर्ने दबाबमा अभिभावकले आफ्ना सन्तानलाई राख्नुहुँदैन। त्यस्तो वातावरण सिर्जना गर्नुहुँदैन। दुई वर्ष आनन्दले पढ्न पाए भने बाँकी तीन वर्ष त उनीहरूले मज्जाले पैसा कमाउन सक्छन्।

सुरुमा घण्टाको १५ डलर कमाउँछन् भने पढाइ सकेपछि प्रतिघण्टा ४०-५० डलर कमाउन थाल्छन्। विना मानसिक तनाव राम्ररी पढेर कमाउन सक्छन्। त्यतिबेलासम्म विद्यार्थीको हातमा विदेशको राम्रो युनिभर्सिटीको डिग्रीसँगै राम्रो कमाइ पनि हुन्छ। उनीहरू यहीं बस्न पनि सके, आफ्नो देश फर्कन पनि सके। सबै हिसाबले सुविधासम्पन्न अवस्थामा उनीहरू हुन्छन्।

त्यसैले अभिभावकलाई मेरो आग्रह छ- आफ्ना सन्तानलाई पढ्न दिनुहोस्। काम गर्न दबाब नदिनुहोस्। केही समयलाई पुग्ने पैसा सँगै पठाउनुहोस्। करिब ४–५ महिनालाई पुग्ने खर्च कलेजको शुल्क बाहेकको खर्च विद्यार्थीसँग हुनुपर्छ।

यसक्रममा उनीहरूले साथीभाइ चिन्छन्। प्राध्यापकहरू चिन्छन्। एउटा सर्कल बन्छ। जागिर पाउन सजिलो हुन्छ। पढाइ सकिएपछि त काम जसरी पनि पाइहालिन्छ। धेरै महत्वाकांक्षा नपाल्नुहोस्। धैर्य गर्नुहोस्।

मैले नचिनेका नेपालीको फोन आउँछ। ‘लौ न सर मेरो बच्चाले जागिर पाएन’ भन्नुहुन्छ। म सोध्छु, ‘बच्चा क्यानडा आएको कति भयो ?’ उहाँहरू भन्नुहुन्छ, ‘सर दुई हप्ता भइसक्यो।’

यसरी दुई हप्तामै जागिर खोज्ने भनेको त पढ्न पठाएको होइन नि! काम गर्न पठाएको जस्तो भयो नि! निराश हुनु आवश्यक छैन, पढेपछि राम्रो जागिर पाइन्छ। कृपया धैर्य गरिदिनुहोस्।

कन्सल्टेन्सीहरूलाई पनि मेरो आग्रह छ- विद्यार्थी र अभिभावकलाई यथार्थ बताइदिनुस्। सही सल्लाह दिनुहोस्। परामर्शदाताहरूको गलत सल्लाह सुझावले पनि विद्यार्थीले दुःख पाइरहेका छन्। उनीहरूले झुटा विवरण दिएर विद्यार्थीलाई पठाउनुहुँदैन।

यसमा सरकारले पनि एक्सन लिनुपर्छ। जसरी पनि, जे भनेर पनि विद्यार्थीलाई विदेश पठाउने अवस्था रह्यो र गलत गर्नेलाई कारबाही गर्न सकिएन भने समस्या अहिलेभन्दा बढ्न सक्छ। विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन।

केही घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएका छन्। यी अपवादहरू हुन्। तनाव हुनसक्छ, दबाब हुनसक्छ तर दुई–चार जना मानिसमा देखिएको समस्यालाई सामान्यीकरण गर्नुहुँदैन।

(२५ वर्षदेखि क्यानडामा रहेका र हाल मार्केटिङ प्राध्यापनरत धरेलसँग कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?