+
+

‘नेपाली फिल्म १०० करोडभन्दा माथिको उद्योग बन्न सक्छ’

नीर शाह नीर शाह
२०८० माघ २ गते १७:४९
वरिष्ठ फिल्म निर्देशक नीर शाह निफको पत्रकार सम्मेलनमा ।

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) अन्तर्राष्ट्रिय चलचित्र गतिविधि र राष्ट्रभित्रै संचालित चलचित्रसँग सम्बन्ध राख्ने ब्यापक फाँट जुन हामीसँग छ, त्यसबारे गम्भीररुपले सोच्ने एउटा एउटा प्राज्ञिक मञ्चका रुपमा विकसित भएर गैरहेको मैले अनुभव गरेको छु । सातवर्ष यता निफको कारण हामीले प्राप्त गर्न सकेको सबैभन्दा यो ठूलो उपलब्धी हो । यसका लागि म निफको टीमप्रति आभार व्यक्त गर्छु ।

दुईटा कुराबाट आज हामीले चलचित्र उद्योगलाई बुझ्न जरुरी छ । म प्राज्ञिक कोणबाट यो कुरा गर्दैछु । पहिला- राष्ट्रको कुरा गरौं । हामीसँग चलचित्र नाम गरेको एउटा कर्म छ । त्यो कर्म हुर्किएर उद्योग भयो कि भएन, त्यसबारे आजपनि छलफल जारी छ । राष्ट्रिय चलचित्र उद्योग हामी जसलाई भन्छौं, त्यो उद्योग र राष्ट्रिय हुन सक्यो कि सकेन, यसबारे प्रशष्त विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो बिचारमा हुुन सकेको छैन । राष्ट्रिय पनि हुनसक्या छैन, उद्योग पनि हुनसक्या छैन ।

चलचित्र चाहिँ छ । चलचित्र भएको कारणले गर्दा चलचित्र कर्म हुने नै भयो । त्यो चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने, उपयुक्त किसिमको पूँजी र बजार व्यवस्थापन नहुनु चाहिँ आजको हाम्रो चलचित्रकर्मको सबैभन्दा ठूलो चुनौति हो । पुँजी भन्नाले चलचित्रलाई मद्दत गर्नको लागि राष्ट्रभरि कुनै पनि वित्तिय संस्थाबाट पूँजी उपलब्ध छैन । त्यो भन्ने बित्तिकै तपाईं ‘ग्रे एरिया’को अथवा कालो धनतिर आफूलाई निर्भर गर्नुपर्ने दिशातर्फ उन्मुख भएर जान्छ कुनै पनि उद्योग ।

बैंक, सहकारी र वित्तिय संस्थाबाट फिल्म बनाउनका लागि भनेर कुनै पनि प्रकारको नीति अवलम्बन गरिएकै देखिँदैन । राष्ट्रको प्राथमिकतामा पनि यो पर्दैन । त्यो गर्न नसक्नुको पछाडि चलचित्रकर्मीको आफ्नै भूमिकामाथि पनि प्रश्न उठाउने ठाउँ छ । तसर्थ, चलचित्रकर्मीले ‘हरिश्चन्द्र’देखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा बित्तिय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन । यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र कर्मको ।

चलचित्रकर्मको दोस्रो कमजोर पक्ष भनेको, यसको बजार हो । बजार भन्ने बित्तिकै प्रदर्शनसँग गाँसिएको हुन्छ । आफ्ना सामान बेच्नका लागि तपाईंसँग पसल नै छैन भने, तपाईंले आफ्नो सामान कसरी बेच्नुहुन्छ ? साधारण अर्थशाष्त्रको विद्यार्थीले पनि औंल्याउन सक्ने कुरा हो ।

नेपाली सिनेमा देखाउने चलचित्र घर नै छैनन् जुन देशमा, त्यो देशमा नेपाली चलचित्रको विकास कसरी हुन्छ ? जम्मा १६९ वटा पर्दा छन् देशभरि । कतिपय एउटै हलमा चारपाँच पर्दा पनि छन् । वर्षमा फिल्म १०० को हाराहारीमा बन्छन् । १६९ वटा पसल खोलेर, त्यो पनि आयातित सामानले प्राथमिकता पाउने गरि खोलिएका पसलहरुमा आफ्नो सामान बेच्नका लागि राखेर हामी पुग्न सक्छौं ?

नेपालमा यस्ता ३३ जिल्ला रैछन, जहाँ आजसम्म एउटा पनि सिनेमा हल छैन । गाउँ गाउँमा, समुदायमा, वडामा सिनेमा हल स्थापित हुनुपर्ने थियो नि । सिनेमाका पसल स्थापित हुनुपर्ने थियो नि । यसो गर्दा १०० करोडभन्दा माथिको कर्मका रुपमा अथवा उद्योगका रुपमा यो स्थापित हुनसक्ने सम्भावना देखिएको छ । भनेपछि, बजारका दृष्टिकोणबाट पनि हामीले हाम्रो चलचित्र उद्योगलाई निकै संकुचित ढंगले खुम्चाएर राखेको अवस्था छ ।

स्टुडियो भनेर दौड्या छौं । ठाउँ ठाउँमा फलानो चीज, ढिस्कानो चीज, विधेयक-ऐन-कानून भनेर दौड्या छौं । मुख्य दुईटा खुट्टा, जुन खुट्टामा चाहिँ चलचित्रकर्म उभिनुपर्ने हो, त्यसतर्फ यथेष्ट मात्रामा ध्यान दिन सकेका छैनौं । यो राष्ट्रिय समस्या भयो । त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारेको छलफल निफजस्तो प्राज्ञिक मंचमा चलोस् भन्ने मेरो चाहना छ । अथवा यसबारे विचार राख्ने चलचित्रकर्मीको चाहना छ । यसबारे यथेष्ट ध्यान दिइयोस् ।

यसबाहेक अन्तर्राष्ट्रिय बजारमा हामीले बिक्री गर्नुपर्ने भनेको पूर्वीय ज्ञान र विज्ञान हो । हामीकहाँ विषय वा प्रसंगको जुन अभाव भएर गएको छ, त्यो अभावलाई परिपूर्ति गर्न सक्ने सोच अब ओरिएन्टेल (पूर्वीय संसार)सँग मात्र बाँकी छ । ती सम्पूर्ण विषय र प्रसंग पूर्वीय ज्ञान र विज्ञानबाट ओतप्रोत छन् । पूर्वीय ज्ञान र विज्ञानको ओतप्रोतको स्र्रोत जुन हामीसँग छ, त्यसले चलचित्रकर्ममार्फत आफूलाई विश्वब्यापीरुपमा अघि बढाउन सक्यो भने, मानव सभ्यतासँग त्यसको स्पष्ट सम्बन्ध हुनजाने देखिन्छ ।

जुन प्रकारको मानव सभ्यताको विकास होस् भन्ने चाहना उनीहरुले राख्या होलान्, त्यस किसिमको संसार उपलब्ध गराउन फेस्टिभल र तिनले ठूलो भूमिका खेल्छन् । त्यो गर्नका लागि सबैभन्दा ‘फ्रन्टलाइनर’ भनेको भारत र चीन हो । भारतसँग असाध्यै ठूलो चलचित्र उद्योग छ, चीनसँग पनि असाध्यै ठूलो चलचित्र उद्योग छ । त्यो साइजको चलचित्र उद्योगसँग त विश्वभरिका चलचित्र उद्योगलाई ल्याएर जोड्दा पनि ‘ओभरफ्लो’ हुनसक्दैन । तसर्थ, यसतर्फ विशेष गरि चीन र भारतका चलचित्र निर्माताको ध्यान आकृष्ट गर्नेतर्फ निफले विशेष भूमिका खेल्न सक्छ ।

(नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पत्रकार सम्मेलनमा वरिष्ठ फिल्म निर्देशक नीर शाहको मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?