+
+
समयान्तर :

शालिकमा ठडिएको ‘राष्ट्रियता’

कसैप्रतिको आस्था नै हाम्रो बाँच्ने आधार बनिदियो । हामी कसै न कसैको प्रतिमा खडा नगरी बस्नै सक्दैनौं । नायकहरूको निर्माण नेपाली समाजको चरित्र हो । संभवतः पछिल्ला समय ठडिइरहेका राजा, महाराजाका शालिकहरू मार्फत पनि हामीले त्यही आस्थाको तलतल मेटाउन खोजेका छौं ।

मनिकर कार्की मनिकर कार्की
२०८० माघ ३ गते ८:०५

गएको पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’को रूपमा मनाइयो । सो अवसरमा खासगरी सरकार, सेना र केही राजनीतिक दलहरूले फरक-फरक कार्यक्रमहरू गरे । राजधानीका विभिन्न कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्तिहरूले पृथ्वीनारायण शाहको योगदानको चर्चा मात्र गरेनन्, उनलाई विगतमा जस्तै ‘राष्ट्रनिर्माता’कै रूपमा सम्मान पनि गरे ।

सञ्चारमाध्यमहरूमा आएका समाचार अनि सामाजिक सञ्जालहरूमा छाएको गतिविधि नियाल्दा विभिन्न साहित्यिक संस्था, सामाजिक संघ-संस्था, क्लबदेखि व्यावसायिक प्रतिष्ठानहरूले समेत ‘राष्ट्रिय एकता दिवसको शुभकामना’ लेखिएको डिजिटल शुभकामना पत्रहरू प्रकाशन गरेको देखियो ।

कार्यक्रमका झाँकीहरूकै शृङ्खलामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारका प्रधानमन्त्री सहित सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई एकैठाउँ बोलाएर पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरायो । यस वर्ष सन् २००८ मा गणतन्त्र घोषणा भएसँगै केही वर्ष कटौतीमा परेको सार्वजनिक बिदा विगत दुई वर्षदेखि पुनर्बहाली भएको छ ।

देशका विभिन्न स्थानमा विगतमा हटाइएका पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना गर्ने काम जारी छ । त्यस्तै अन्य कतिपय ठाउँहरूमा जनस्तरमा केही व्यक्ति वा संस्थाहरूको अगुवाइमा शालिक स्थापना गर्ने काम पनि चलेकै छ । शालिकहरूको अदली-बदली हेर्दा लाग्छ, हाम्रो अब बाँकी काम भनेकै चोक, चौराहमा शालिक राख्ने मात्रै हो ।

विगतमा सामन्तवादको नाइकेको रूपमा व्यवहार गर्नेहरूले यस वर्ष भने पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’कै रूपमा चर्चा गरे । त्यसो त पुस २७ गतेलाई ‘पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस’ भनी मनाउने प्रचलन राजा महेन्द्रले चलाइदिएका थिए । यसो इतिहासतर्फ चियाउने हो भने राजा महेन्द्रले नेपाल र नेपालीहरूको ‘नेपालीकरण’का लागि धेरै योगदान गरेका छन् ।

सन् २००६ को राजनीतिक परिवर्तनसँगै उदाएको गणतन्त्रको लप्कोले पृथ्वीनारायणको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने प्रचलनलाई केही वर्ष ओझेलमा पारिदिएको भए तापनि अघिल्ला केही वर्षदेखि पुनः यस दिनलाई सार्वजनिक वृत्तमा महत्वका साथ चर्चा गर्न थालिएको छ ।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा सुरु गरेको ‘गोर्खा राज्यको विस्तार’ले कालान्तरमा वर्तमान नेपालको निर्माण गरेको सत्य हो । तर, पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा पृथ्वीनारायण शाहका योगदानका बारेमा जे-जति चर्चा-परिचर्चा भइरहेको छ, त्यसमा भने उनलाई देवत्वकरण गरिएको स्पष्ट हुन्छ । जस्तैः पुस २७ मा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कुरा स्वाभाविक हो । तर, यस दिनलाई कथित ‘राष्ट्रिय एकता दिवस’ भन्नु चैं युक्ति संगत हुने छैन । किनकि यस दिन त पृथ्वीनारायण शाहको जन्मदिन हो ।

के राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने नेपालको राजनीतिक इतिहासको डिस्कोर्समा यी विषयहरू किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरूले फरक-फरक पहिचान झल्किने बहु-राष्ट्रियताका विम्बहरूलाई स्वीकार गर्नुपर्छ

कतिपय इतिहासका व्याख्याताहरूकै कुरालाई सही मान्ने हो भने पनि आधुनिक नेपाल निर्माणको दिन पुस २७ त हैन होला । अनि पृथ्वीनारायण शाहले पुस २७ गतेका दिन सबै स-साना राज्यहरूमाथि विजयी हासिल गरेका पनि होइनन् । अनि यही दिन महान् ‘एकीकरण अभियान’को घोषणा गरेका पनि होइन । अनि यो दिनलाई कसरी एकता दिवस मान्न सकिन्छ ?

लौ पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनलाई नै राष्ट्रिय एकताको आधार मानियो रे ! तर पनि व्यक्ति पृथ्वीनारायणलाई मान्ने कि उनको कामलाई ? यदि कामलाई मान्ने हो भने अहिलेको नेपालको भूगोल कायम हुने क्रममा गोर्खा राज्यले अन्तिम पटक विजयी प्राप्त गरेको दिनलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्नुपर्‍यो ।

जहाँसम्म पुस २७ को कुरा छ, यो चाहिं बढी व्यक्तिपूजन नै हो । इतिहासमा खास शासकीय स्वार्थ पूर्ति गर्नका लागि चलाइएको प्रचलन हो भन्दा अत्युक्ति नहोला । बरु लिखतमै सही, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नागरिक भएका छौं । त्यसैले गणतन्त्र घोषणाकै दिनलाई चाहिं खासमा ‘राष्ट्रिय एकता दिवस’ मान्न सकिन्छ । कुनै एक अमूक शासकको जन्मदिनलाई कसरी राष्ट्रिय एकता दिवस मान्ने ?

यद्यपि यो आलेखमा राष्ट्रिय एकता दिवस मुख्य चर्चाको विषय भने होइन । यो केवल लेखिएका-लेखाइएका, पढिएका-पढाइएका इतिहासहरू कति पूर्ण हुन्छन् ? ती कति सत्य-तथ्यको नजिक हुन्छन् ? तिनमा कत्तिको जनविश्वास गडेको हुन्छ ? तिनले कसरी शासकीय स्वार्थ पूरा गरेका हुन्छन् ? यस्तै विषयमा केही जिज्ञासा छाड्ने प्रयत्न मात्र हो ।

अब एकसरो पृथ्वीनारायण शाहलाई चित्रण गरौं- उनी गोर्खामा जन्मिए । गोर्खा राज्य तत्कालीन समयको एउटा सानो विपन्न पहाडी राज्य थियो । राज्यको आयस्ता सीमित थियो । त्यसैले गोर्खा दरबार समेत चरम आर्थिक संकटमा थियो । भनिन्छ, राजकुमार भइकन पनि उनको बाल्यकाल अभावै अभावमा बितेको थियो । सन् १७४३ मा २० वर्षको उमेरमा गोर्खाका राजा बनेका पृथ्वीनारायण शाह आफू राजा भएपछि गोर्खा राज्यलाई विस्तार गर्ने नीति अवलम्बन गरे । उनी आफू राजा भइसकेपछि सन् १७४४ मा नुवाकोटसँग तेस्रो पटकको युद्धमा विजय प्राप्त गरे ।

नुवाकोटपछि उनको दृष्टि काठमाडौं उपत्यकाका राज्यहरूमा परेको थियो । काठमाडौंमाथि विजय प्राप्त गर्न नुवाकोट जित्नु अति जरूरी थियो । किनकि नुवाकोटहुँदै काठमाडौं र भोट -तिब्बत)बीच व्यापारिक मार्ग थियो । काठमाडौं जित्न यसको लाइफलाइन विच्छेद गर्नु जरूरी थियो । अर्थात् त्यसबेलाको धनी काठमाडौंको व्यापार शृङ्खला अवरुद्ध गर्नु जरूरी थियो । त्यसैले पृथ्वीनारायण शाहले काठमाडौं वरपरका राज्यहरूलाई आफ्नो कब्जामा लिएर काठमाडौं हमला गर्ने रणनीति अख्तियार गरेका थिए ।

संभवतः काठमाडौं उपत्यकाको त्यो बेलाको वैभव, भारत र चीनसँग स्थापित व्यापारिक सम्बन्ध, मनै लोभ्याउने उपत्यकाको कृषि उत्पादनको प्रचुरता, स्रोत-साधनको पर्याप्तता एवं प्रशासनिक तथा कलाकारिताले सम्पन्न काठमाडौंप्रति उनी सम्मोहित भएका थिए । त्यसबेला उपत्यकाका मल्ल राज्यहरू पनि संगठित एवं सम्पन्न थिए ।
पछि उनले विभिन्न समयमा काठमाडौं उपत्यकामा विजय हासिल गरी गोर्खाको राजनीतिक केन्द्र काठमाडौं सारे । तथापि पृथ्वीनारायण शाह को थिए, को थिएनन् ? के हुन् के हैनन् ? यो विषयमाथिको बहस इतिहासकारहरूलाई नै छाडिदिऊँ । यत्ति धक फुकाएर भन्न सकिन्छ कि उनी तत्कालीन समयका एक कुशल, रणनीतिक रूपले चतुर योद्धा र शूरा शासक थिए । सत्ताको उत्कट महत्वाकांक्षा बोकेका एक लडाकू शासक थिए ।

उनको गोर्खा राज्य त्यो बेला कमजोरहरूकै प्रतिनिधित्व गर्ने राज्य थियो । आफ्नो राज्यको त्यो बेलाको गरिबी र निम्न अवस्थाबाट माथि उक्सिने अनेकन् उपायमध्ये उनले गोर्खा साम्राज्यको विस्तारलाई अंगीकार गरेका हुन् । अनि त्यो बेलाको आवश्यकता पनि भूगोल विस्तार गर्ने नै थियो । भूगोल जोडेर ठूलो राज्य बनाउँदा शक्ति बढ्दथ्यो । अतः सबैले आफ्नो क्षमताले भ्याएसम्म राज्य विस्तारमै ध्यान दिन्थे । अनि राज्यहरूको निर्माण र विनिर्माण, विस्तार र संकुचन केवल युद्धबाटै हुन्थ्यो । यहाँ मात्र हैन संसारभर त्यसैगरी राज्यहरू बन्थे र भत्कन्थे ।

नेपालमा पनि त्यही भयो । त्यही उपक्रममा पृथ्वीनारायण शाह अब्बल प्रमाणित भए । उनले तत्कालीन गोर्खा राज्य विस्तारमा सफलता हासिल गरे । इतिहासकार तुलसीराम वैद्यले उनको अभियानलाई गोर्खा राज्यको विस्तार अर्थात् ‘गोर्खानाइजेसन’ भनेका छन् । त्यही गोर्खानाइजेसनलाई नै कालान्तरमा ‘नेपालीकरण’ गरियो । त्यो नेपालीकरणको अभियान भने राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिइसकेपछि सुरु गरेका थिए । त्यसैले लेखाइएको र पढाइएको इतिहासले मात्रै वास्तविक इतिहासको यथार्थता उजिल्याउन सक्दैन । किनकि इतिहास लेखन पनि सत्ताको एक बृहत् परियोजना हो ।

झन् हाम्रो जस्ता निकैपछि मात्रै सुरु भएको लेखपढ र ज्ञान आर्जनको निकै छोटो इतिहास भएको समाजमा त इतिहास लेखन र बजारीकरणको जिम्मा नै सत्ताको थियो । खास उद्देश्य पूरा गर्नका लागि शासकहरूले नै इतिहास लेखाउँदथे । नेपालको इतिहासको सन्दर्भमा शाहवंशकेन्दि्रत इतिहास लेखनको व्यवस्थित सुरुवात तत्कालीन राजा महेन्द्रले गराएका हुन् । त्यसैले त्यो इतिहास लेखनमा शासकीय स्वार्थ थियो नै । हामी त्यही इतिहास पढेर ‘जान्नेसुन्ने’ भएका पुस्ता हौं । अतः हाम्रो बुझाइ र ज्ञानमा पनि सत्ताको नियन्त्रण नहुने कुरै भएन ।

यो सडक, चोक र चौबाटोमा शासकका शालिक ठड्याएर उनीहरूकै जन्मजयन्तीमा माल्यार्पण गरेर प्राप्त हुने वस्तु पनि होइन । अनि राष्ट्रियता फगत भूगोल मात्र पनि होइन । यो त त्यो भूगोलको परिधिभित्र बस्ने मानिसहरूको सभ्यता हो । त्यसैले राष्ट्रियता भनेको जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरूको पहिचान हो

सत्ताले लेखाउने इतिहासमा स्वाभाविक रूपमा शासकलाई नै केन्द्रमा राखिन्छ । नेपालमा पनि त्यही भएको हो । त्यहाँ मुलुक बनाउने र बचाउने जनता गौण हुन्छन् । अनि इतिहासका कथानकहरू तिनै शासकका गौरव गाथा र चरित्र चित्रणले भरिएका हुन्छन् । किनकि हाम्रो परम्परा नै व्यक्ति पूजक हो । यो मुलुकमा सामूहिकता र लोकतन्त्रको गर्विलो इतिहास पनि छैन । जनस्तरका विद्रोह र स्वतन्त्र ज्ञान निर्माणको शृङ्खला त छँदैछैन भने पनि हुन्छ ।

त्यसैले कसैप्रतिको आस्था नै यो समाज बाँच्ने आधार बनिदियो । हामी कसै न कसैको प्रतिमा खडा नगरी बस्नै सक्दैनौं । किनकि आस्थाको विभ्रममा बाँच्ने बानी जो हामीलाई परेको छ । त्यसैले नायकहरूको निर्माण नेपाली समाजको चरित्र हो । संभवतः पछिल्ला समय ठडिइरहेका राजा, महाराजाका शालिकहरू मार्फत पनि हामीले त्यही आस्थाको तलतल मेटाउन खोजेका छौं ।

अब फेरि पृथ्वीनारायण शाहकै कुरा गरौं । पृथ्वीनारायण शाहको जसरी अहिले एकथरी मान्छेहरू महिमामण्डन गरिरहेका छन्, त्यो वीरताको व्याख्या र विश्लेषण उनको पालादेखि अर्थात् सन् १७४३ देखि नै कायम थियो ? वा त्यो गौरवगाथाको कहानी निकै पछि मात्र लेखियो ? इतिहासका अध्येताहरू भन्छन्- सन् १९५० अघिका जनश्रुति, लेखोट, साहित्य, लोककथाहरू इत्यादिमा उनका ‘दिव्योपदेश’ र ‘एकीकरण अभियान’बारे खासै उल्लेख छैन । त्यसो हो भने यी इतिहासका गाथाको आधिकारिक स्रोत के हो ? संभवतः सत्ता । संभवतः दरबार ।

खासगरी सन् १९३३ को महाभूकम्प पश्चात् जसरी नेपालीकरणको प्रक्रिया आरम्भ भयो पृथ्वीनारायणसँगै भानुभक्त आचार्य, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापाहरूको योगदानबारे लिखत सुरु भयो । यसर्थ, नेपालको लेखिएको इतिहास भनेकै शाहवंशको इतिहास हो । अनि शाहवंशको इतिहासमा त्यही शासकीय मनोकांक्षा नै प्रदर्शित हुन्छ ।

त्यसैले यत्ति भन्न सकिन्छ कि नेपालको इतिहास लेखिएको हैन, लेखाइएको हो । दरबारले इतिहास लेख्न केही इतिहासकारलाई खटाएको तथ्य कतैबाट लुकेको छैन । अनि सत्ताले लेखाएको इतिहासमा जहिल्यै शासकीय समुदायको महिमा मात्रै हुनु किमार्थ अनौठो हैन । नत्र किन राज्य निर्माणकै क्रममा लडे-भिडेका अन्य व्यक्ति र समुदायहरूको चर्चा छैन ?

पृथ्वीनारायणको तत्कालीन गोर्खा राज्य विस्तारलाई बीपीदेखि पुष्पलालसम्मले पनि ‘राष्ट्रिय एकीकरण’ भनेका छैनन् । अनि हामीलाई चैं त्यही पगरी गुताउन किन हतारो ? यत्ति बुझौं पञ्चायतकालमा निर्माण गरिएका इतिहासका गाथा पढेर ‘राष्ट्रवादी’ कहलिएका हामी भन्दा अग्र्यानिक इतिहास नै पढेका थिए होला, बीपी र पुष्पलालहरूले । के उनीहरू अराष्ट्रिय भएरै पृथ्वीनारायणको अभियानलाई एकीकरण नभनेका हुन् ?

पृथ्वीनारायण शाहको न त देवत्वकरण नै जरूरी छ, न त दानवीकरण नै उचित छ । बस् उनको पनि एउटा उद्देश्य थियो । उनी पक्कै पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि हिंडेका थिएनन् । उनको अभियान जनता हैन, भूगोल केन्द्रित थियो । उनी आफ्नो राज्य विस्तार गरी ठूलो राज्यको सम्राट हुने मनोकांक्षा पालेर हिंडेका थिए । उनले आफ्नो अभियान सफल पार्ने अधिकतम प्रयत्न गरे र उनकै पदचाप पछ्याउँदै उनका पुस्ताहरूले पनि गोर्खा साम्राज्यको विस्तारमा भूमिका खेले ।

यो सत्य हो कि त्यो बेलाको आवश्यकता त्यही थियो । अनि ती गोर्खा साम्राज्यमा गाभिएका स-साना राज्य, रजौटाहरूलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जबर्जस्त रूपमा अंगीकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरूको छुट्टै भाषा, भेषभुषा, परम्परा, रीतिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा गोर्खा राष्ट्रियताको निर्माण भयो र त्यसैको नेपालीकरणको रूपमा अहिलेको ‘नेपाली राष्ट्रियताको डिस्कोर्स’ निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कोर्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरू हुन्छन् भन्दा जिब्रो टोक्नुपर्ने अवस्था आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरूले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता भनाइयो र हामीले पनि त्यही अनुसरण गर्दै आयौं । अहँ, हामीलाई कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन ।

के राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने नेपालको राजनीतिक इतिहासको डिस्कोर्समा यी विषयहरू किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरूले फरक-फरक पहिचान झल्किने बहु-राष्ट्रियताका विम्बहरूलाई स्वीकार गर्नुपर्छ । तब मात्र यो मुलुक साँच्चिकै राष्ट्र बन्नेछ ।

हामी इतिहासको निर्माण कसरी हुन्छ र कसरी गरिखाने वर्गलाई इतिहासले पाखा लगाउँछ ? त्यसबारे घोत्लिने चेष्टै गर्दैनौं । अनि यसै भनिदिन्छौं – ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ । अझै पनि हामी सयौं थुँगामै छौं । सयौं थुँगाले त एउटै जातको फूलका थुँगाहरूलाई जनाउने भयो । जस्तैः सयपत्रीका सयौं थुँगा, गोदावरीका सयौं थुँगा Û खासमा चाहिने ‘सयौं थुँगा’ हैन, ‘सयौं थरी’ फूलका माला हो ।

तर, अहँ हामीले ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दै सोचेका छैनौं । त्यसैले यत्ति त भन्नै पर्छ, राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको साँघुरो परिभाषा मात्र होइन । यो सडक, चोक र चौबाटोमा शासकका शालिक ठड्याएर उनीहरूकै जन्मजयन्तीमा माल्यार्पण गरेर प्राप्त हुने वस्तु पनि होइन । अनि राष्ट्रियता फगत भूगोल मात्र पनि होइन । यो त त्यो भूगोलको परिधिभित्र बस्ने मानिसहरूको सभ्यता हो । त्यसैले राष्ट्रियता भनेको जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरूको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?