+
+
ब्लग :

विश्व सामाजिक मञ्च किन ?

विश्व सामाजिक मञ्च समानता, सामाजिक न्याय, मानवअधिकार, दिगो विकास, वातावरणीय न्याय, शान्ति र मानवतावादका लागि बहस, पहल तथा हस्तक्षेप गर्ने संगठित प्रयास हो ।

विनय कार्की विनय कार्की
२०८० फागुन ३ गते १३:२१

विश्वमा रहेका सबैजसो देश र समाजमा समानता, स्वतन्त्रता र अधिकार प्राप्तिका आन्दोलन र अभियानहरू निरन्तर चलिरहेका छन् । राष्ट्रियता, लैंगिकता, भाषिकता, धार्मिकता, जातीयता, क्षेत्रीयता, वर्गीयता जस्ता अन्य धेरै आधारमा मानिसहरूबीच समाजमा असमानता रहेका छन् ।

यसले हरेक मानिसका भिन्न–भिन्न र सामूहिक पहिचानहरू निर्माण भएका छन् । विश्वमा यसैको आधारमा मानिसहरूको तहगत विभाजन हुँदा केही सीमित मानिसले असीमित अधिकार उपयोग गर्ने सामाजिक संरचना निर्माण भएका छन् ।

यस्ता संरचना र योसँग जोडिएका असमान मूल्य–मान्यताले समाजमा लामो समयदेखि प्रतिरोध पनि सँगै भोगिरहेको देखिन्छ । नेपालमा पनि किसान, श्रमिक, महिला, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, सीमान्तकृत र उत्पीडित समूहहरू अधिकारका लागि निरन्तर संघर्ष गरिरहेका छन् । यस्ता आन्दोलन र अभियानहरूको परिणाम आजको आधुनिक नेपाल हो । यो समाज इतिहासको कुनै समयमा भएको नेपाली समाजभन्दा प्रगतिशील छ ।

विश्वमा भइरहेका शृंखलाबद्ध युद्धमा लाखौं मानव हत्या र हिंसाको सिकार बनिरहेका छन् । सुरक्षाको नाममा मानव सभ्यता ध्वस्त गर्ने हतियारको निर्माण भएका छन् । हामी एकअर्कासँग भयभीत छौं ।

हामी सुरक्षाको नाममा हजारौं हजारलाई ध्वस्त बनाउने हतियार एकअर्कालाई ताकिरहेका छौं । हतियार आफैंमा सुरक्षासँगै असुरक्षा पनि हो । चेतनशील समाजले हतियारको न्यूनतम सीमा निर्धारण गर्नुपर्ने दायित्व भुल्दा सिंगो मानव सभ्यता र विश्व नै उच्च जोखिममा धकेलिएको छ ।

आज पनि गरिबी विश्वको सबैभन्दा ठूलो समस्या हो । गरिबी अन्य धेरै सामाजिक, राजनीतिक, सांस्कृतिक सहभागिताको अवसर र मानव जीवनका आधारभूत आवश्यकताबाट वञ्चित बनाउने कारण बन्छ । गरिबीको समाधान गरिब मानिसको मात्र समाधान गर्ने अनुदान र ऋण चक्रको निरन्तरताले हुनसक्दैन । गरिबी हाम्रो सामाजिक संरचनाको परिणाम हो ।

विश्वमा जति पनि गरिबी निवारणका उपाय अपनाइएका छन् ती केवल गरिब मानिसको समाधान गर्न विद्यमान असमान सामाजिक संरचनाभित्रको सुधारको प्रक्रिया जस्तो मात्र देखिन्छ । गरिबीको पुनः उत्पादन हुने सामाजिक व्यवस्था, मूल्यमान्यता, संरचनाको परिवर्तन विना समाजबाट गरिबीको अन्त्य हुन सक्दैन ।

नेपालले काठमाडौंको भृकुटीमण्डपमा फागुन ३ देखि ७ गतेसम्म विश्व सामाजिक मञ्च २०२४ को आयोजना गरेको छ । ब्राजिलबाट सन् २००१ मा सुरु भएर भारत, सेनेगल, ट्युनिसिया जस्ता देश हुँदै यसको १६औं संस्करणको आयोजना नेपालमा भएको हो । यो असमान सामाजिक संरचनाका कारण निर्माण भएका उत्पीडित वर्ग–समुदाय, महिला, दलित, आदिवासी, अपाङ्गता भएका व्यक्ति, किसान, मजदुर, गरीब समूहको पक्षमा बहस र छलफल गर्ने आन्दोलन हो ।

यो नेपाल र नेपालीका लागि ऐतिहासिक रूपमा भएका सामाजिक, राजनीतिक आन्दोलनका उपलब्धिका बारेमा विश्वलाई जानकारी गराउनुका साथै विश्वमा हुने सामाजिक अभियान र आन्दोलनसँग जोडिने अवसर पनि हो । विश्वभरिका ९० भन्दा धेरै देशबाट ३० हजारभन्दा धेरै मानिसको सहभागिता रहने अनुमान गरिएको यस मञ्चको नारा ‘अर्को विश्व सम्भव छ’ भन्ने रहेको छ ।

यो कार्यक्रमले हामीलाई रोमाञ्चित र आशावादी बन्ने मौका पनि दिन्छ । निराशा र द्विविधामा फस्दै गएको नेपाली समाज (मूलतः युवा पुस्ता) का निम्ति विश्व सामाजिक मञ्च वैचारिक खुराक पाउने बहुउपयोगी थलो बन्न सक्छ ।

आज विश्वलाई विकसित, विकासउन्मुख, अविकसित आधारमा विभाजित गरेर बुझिन्छन् । वातावरणीय न्यायको अवधारणाले आज विश्वले गर्व गरिरहेको विकासका पछाडि विनाशको कथालाई जोडिदिएको छ । यस्ता विनाशमा प्रभावित हुने मानव समाजले विश्व समाजमा न्यायको खोजी गरिरहेको छ । विकासको प्रक्रियामा प्रत्यक्ष सरोकार राख्ने सँगै कोसौं टाढा अदृश्य देखिने मानव समाजमा पनि त्यसको नकारात्मक प्रभाव हुने प्रमाणित भएको छ ।

गरिबी, असमानता, हिंसा, युद्ध र शोषण समाजका रोग हुन् । विश्वका अधिकांश सामाजिक संरचनाहरूले नै विश्वमा रहेका गरिबी, असमानता, शोषणको निरन्तरता गरिरहेका छन् । यस्ता सामाजिक संरचनाको निरन्तरता गरिरहेका हरेक सदस्य असमानताको लागि जिम्मेवार छन् । विकसित भनिएका राष्ट्र, धनी राष्ट्र, पूँजीपति वर्ग जसले यस्ता असमान संरचनाबाट निरन्तर लाभ लिएका छन्, उनीहरूको जिम्मेवारी सबैभन्दा धेरै हुन्छ ।

विश्वभरिका ९० भन्दा धेरै देशबाट ३० हजारभन्दा धेरै मानिसको सहभागिता रहने अनुमान गरिएको यस मञ्चको नारा ‘अर्को विश्व सम्भव छ’ भन्ने रहेको छ ।

विश्वका प्राकृतिक स्रोत र साधनहरू सबैका साझा हुन् । यसमा हरेक व्यक्ति र समुदायको स्वामित्व रहेको हुन्छ । आज हामीसँग भएका प्राकृतिक स्रोतको अधिकतम उपभोग गरिंदैछ । उपभोक्तावाद, विश्व बजारीकरण, नवउदारवाद र विज्ञान प्रविधिको विकास यसमा सहयोगी बनेका छन् । विभिन्न समयमा विभिन्न नाममा बहुसंख्यक मानिसहरूलाई आफ्नो स्रोत–साधनको स्वामित्वबाट अलग गरिएको इतिहास पाइन्छ ।

उत्पादनको स्वामित्व रहेका केही मुठीभर मानिसहरूको सेवामा बहुसंख्यक मानिस सेवक बन्न पर्ने स्थिति बनेको छ । उनीहरू सत्ता, शक्ति, प्रविधि र हतियारको प्रयोगसँगै आफू अनुकूल हुने विभिन्न सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सिद्धान्त र भाष्यको प्रयोग गर्दै शासक बनिरहेका छन् ।

विश्वका बहुसंख्यक मानिसहरू जीवन, स्वतन्त्रता, समानता साथै आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सेवाको पहुँचका लागि पुस्तौंपुस्ता भौंतारिन बाध्य छन् । यसरी शासकका इच्छा, चाहना र आकांक्षा पूरा गर्न शासित वर्ग मिहिनेत, श्रम र परिश्रम गरिरहेको छ ।

केही सीमित मानिसको सेवा, सत्कार र विलासी जीवनका लागि बहुसंख्यक मानिस काम गर्न बाध्यकारी हुनुपर्ने संरचना आफैंमा विभेदकारी छ । यस्ता विभेदकारी संरचना भत्काउन अनिवार्य रूपमा सामाजिक न्याय, समानता, स्वतन्त्रता र सामूहिक हितको प्रवर्धन गर्ने सामाजिक संरचना र मूल्य–मान्यताको प्रवर्धन गर्न आवश्यक पर्छ ।

संगठित र संरचनामा गडिएको यस्तो असमानता असंगठित प्रयत्नबाट परिवर्तन सम्भव छैन । त्यसैले विश्व सामाजिक मञ्च समानता, सामाजिक न्याय, मानवअधिकार, दिगो विकास, वातावरणीय न्याय, शान्ति र मानवतावादका लागि बहस, पहल र हस्तक्षेप गर्ने संगठित प्रयास हो ।

दार्शनिक जिन ज्याक्स रुसोलाई सम्झने हो भने मानिस स्वतन्त्र जन्मिछ तर सबैतिर बन्धनमा बाँधिएको हुन्छ । पूँजीवाद, पितृसत्ता, जातीयता, राष्ट्रियता, भाषिकता, क्षेत्रीयता जस्ता व्यवस्थाले एकल सँगै सांगठनिक रूपमा मानिसहरूका निम्ति सीमितताहरू निर्धारण गर्दैछन् । विश्वका ठूला कम्पनी, वित्तीय संस्थाहरू विश्वमा अधिकांश शहर र ग्रामीण इलाकामा पुगे र जीवनशैली र पुराना सामाजिक संरचना र प्रणालीलाई कमजोर बनाउँदै आत्मनिर्भर र नियन्त्रण गर्न सफल भएका छन् ।

त्यस्तै, विभिन्न वित्तीय संघ–संगठनहरू मार्फत लादिएका विश्वव्यापीकरण, खुला बजार र निजीकरण जस्ता नवसाम्राज्यवादी नीतिहरूको प्रवर्धन गरिरहेका छन् । मानवअधिकार, विश्व शान्ति र सुरक्षाका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठनहरू पनि यस्ता वित्तीय संस्थाहरूको प्रभावमा चल्न बाध्य भएकाले पनि उनीहरूको भूमिका कमजोर बनाइरहेका छन् ।

असमानता भोगिरहेका वर्ग, समुदाय, जाति र समूहहरू यस्ता असमानता विरुद्ध एकीकृत छैनन् तर ठिक विपरीत शासक वर्ग विभाजित छैनन् । असमानता निर्माण गर्ने सामाजिक संरचना विरुद्ध प्रतिरोध एकीकृत रूपमा गर्न जरूरी छ । विश्व सामाजिक मञ्च विश्वमा भइरहेका विभिन्न सकारात्मक परिवर्तन, न्याय र समानताको आन्दोलनको प्रवद्र्धन गर्ने र एकअर्काको अनुभवको आदान–प्रदान गर्दै परिवर्तनको पक्षमा लाग्न मानिसमा आशा, भरोशा र ऊर्जाको सञ्चार गर्ने बहस, छलफल सँगै एकीकृत प्रतिरोधलाई प्रवर्धन गर्ने मञ्च हो ।

अर्को विश्व सम्भव छ

नेपालमा २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले २३० वर्ष लामो राजतन्त्रको अन्त्य गर्‍यो । आज नेपाल संवैधानिक गणतान्त्रिक व्यवस्थाबाट सञ्चालन भइरहेको छ । त्यस्तै २००७ सालमा जहानियाँ राणाशासनको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । संघीयताको लागि भएका विभिन्न आन्दोलनले एकात्मक प्रणालीको नेपाललाई संघीय संरचनामा रूपान्तरण गर्‍यो ।

कुनै समय आफ्नो श्रीमानको मृत्यु हुँदा श्रीमती सँगै जलेर मर्नुपर्ने सती प्रथाको अन्त्य गरियो । विस्तारै समाज उनीहरूको पुनः विवाहमा पनि राजी हुन थालेको छ । कुनै बेला धर्मका आधारमा चलेको शासन परिवर्तन गरेर आज जनताद्वारा लिखित कानुन अन्तर्गत शासनको सञ्चालन गरिएको छ । सीमित मानिसले शिक्षा पाउनुपर्छ भन्ने मान्यताबाट सबैले शिक्षाको पहुँच पाउनुपर्छ भन्ने मान्यताको विकास भएका छन् ।

अर्को विश्व स्वरूपमा मात्र नयाँ विश्वको खोजी वा काल्पनिकताको फरक विश्वको खोजी हैन । विज्ञान–प्रविधिको प्रयोग गर्दै मानिसका आधारभूत आवश्यकता, जीवन, स्वतन्त्रता र समानताको संरक्षण गर्ने सामाजिक संरचनाको विकासले न्यायमूलक र शान्त अर्को विश्व बनाउन सम्भव छ ।

माथि उल्लेख भएका उदाहरणले नेपाली समाजको गतिशीलता र परिवर्तनलाई देखाउँछ । समाज सधैं गतिशील पनि हुन्छ । यहाँ परिवर्तनहरू भइरहेका हुन्छन् । तर, समाज गतिशील र परिवर्तनशील भए पनि माथि उल्लेख गरिएका कुनै परिवर्तन सहज र सरलरेखाबाट मात्र भएका छैनन् । यसमा विभिन्न सामाजिक र राजनीतिक जागरणका अभियान, आन्दोलन, हजारौं मानिसको त्याग र बलिदान पर्दापछाडि छायाँमा लुकेको हुन्छ । केही मानिसका सचेतन प्रयासहरूबाट परिवर्तनहरू सम्भव भएका हुन्छन् ।

त्यसैले के भनिन्छ भने मानव इतिहास भनेकै विश्वमा मानिसले समाजमा निर्माण भएका बन्धनबाट मुक्ति, सबै प्रकारका असमानताको अन्त्य गर्दै समानता, युद्धबाट शान्ति र अधिकार प्राप्तिकोे संघर्षको इतिहास हो । हिजोभन्दा प्रगतिशील, शान्त र सामाजिक न्याय तथा समतामूलक समाजको निर्माणको अभिभारा अब हाम्रो हो ।

अर्को विश्व स्वरूपमा मात्र नयाँ विश्वको खोजी वा काल्पनिकताको फरक विश्वको खोजी हैन । विज्ञान–प्रविधिको प्रयोग गर्दै मानिसका आधारभूत आवश्यकता, जीवन, स्वतन्त्रता र समानताको संरक्षण गर्ने सामाजिक संरचनाको विकासले न्यायमूलक र शान्त अर्को विश्व बनाउन सम्भव छ ।

विश्वमा रहेका विभिन्न असमानताको सामना गर्न हामीले संगठित प्रतिरोधको आन्दोलन र अभियान चलाउनुपर्छ । विश्व सामाजिक मञ्च संसारमा रहेका विभेदकारी संरचना, मूल्यमान्यताको अन्त्य गर्ने विचार, अभियान र एउटा विश्वस्तरीय सांगठनिक प्रयास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?