+
+

मुगुमा सामूहिक बलात्कार : बालिकाको गर्भ रहेपछि बाहिरियो घटना

यज्ञ खत्री यज्ञ खत्री
२०८० माघ ३ गते १३:५५

३ माघ, सुर्खेत । मुगुकी एक १४ वर्षीया बालिकामाथि दुई पटक सामूहिक बलात्कार भएको खुलेको छ । बालिकाको गर्भ रहेपछि घटना बाहिरिएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका ३० वर्षीय बसन्तबहादुर कार्की र कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय बसन्त रोकाया पक्राउ परेका हुन् ।

पक्राउ परेका अरु तीन जना १४ वर्ष मुनिका नाबालक हुन् । उनका अनुसार पक्राउ परेकाहरुलाई २५ पुसमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।चार जना फरार रहेको जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले जानकारी दिए । ‘घटनामा ६ जना नाबालक संलग्न भएको पाइएको छ ।

तीन जना पक्राउ परेका छन् भने तीन जना अझै फरार छन्,’ प्रहरी निरीक्षक बुढाथोकीले अनलाइनखबरसँग भने, ‘उनीहरुको खोजी भइरहेको छ ।’आफूमाथि १५ भदौ र १० असोजमा दुईपटक सामूहिक बलात्कार भएको पीडितले बालिकाले बताएकी छन् ।

कसरी भएको थियो घटना ?

छायाँनाथ रारा नगरपालिका–१४ घर भएकी पीडित बालिका पढ्नका लागि गमगढी बजारमा बसेकी थिइन् । कक्षा ७ मा पढ्दै गरेकी उनी कोठामा एक्लै बस्थिन् ।१६ भदौको साँझ चिनेका दुईजना साथी कोठामा आए । कुराकानी भइरहेका बेला थप दुई जना साथी पनि थपिए । राति अबेर भएपछि पनि उनीहरु जान मानेनन्, बरु बस्न दिन आग्रह गरे ।

आफूले नमाने पनि ढिपी गरेपछि उनीहरुलाई आफ्नो कोठामा बस्न दिएर उनी भने भान्साकोठामा सुत्न गइन् । तर केहीबेरमा थप दुईजना आए । उनीहरु पनि सबै ६ जना एउटै कोठामा बसे ।

बालिका भान्सा कोठामा सुतेकी थिइन् । ‘राति निन्द्रामै थिएँ, एक्कासी कसैले शरीरमाथि थिचेझैँ लाग्यो’ उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘बिउझिँदा एउटा केटा मेरो शरीरमाथि थियो ।’ हारगुहार गर्दा मुख थुनेर जबरजस्ती करणी गरेको उनले बताइन् ।

त्यसपछि के भयो उनलाई थाहा छैन । होस् खुल्दा केटाहरु भागिसकेका थिए । यो घटनापछि उनी केही दिन कोठाबाट बाहिर निक्लिइनन् । ‘कहाँ जाने ? कसलाई भन्ने थाहा थिएन’ बयानमा उनले भनेकी छन्, ‘बा–आमालाई भने गाली खाने डर । अरुलाई भने इज्जत जाने डर भयो ।’

फेरि सामूहिक बलात्कार

१० असोजमा उनी फेरि सामूहिक बलात्कारमा परिन् । उनी कोठामा थिइन्, कसैले ढोका ढकढ्क्यायो । बाहिर छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की थिए । उनले एकछिन काम छ भनेर बोलाए ।

हात समाएर कृषि विकास कार्यालय भवन पुर्याए । उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘कोठा अँध्यारो थियो, मलाई घचेटेर भित्र लग्यो । अरु दुईजना मान्छे पनि कोठाभित्र पसे ।’

उनीहरु कृषि विकास कार्यालयका कार्यालय सहयोगी वसन्त रोकाया र सवारी चालक पदमबहादुर कठायत थिए । उनीहरुले डर त्रास देखाएर बलात्कार गरे । बालिकालाई उनको कोठा बाहिर लिएर छोडिदिए । ‘कसैलाई भनिस् भने तँलाई मार्दिन्छु, गाउँभरी हल्ला गर्दिन्छु,’ भन्दै उनीहरुले धम्की दिएको बालिकाले प्रहरीलाई बयान दिएकी छिन् ।

अघिल्लो घटनामा संलग्न बालकहरुले गरेका कुराकानी सुनेका उनीहरुले पनि बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

चार महिनापछि घटना कसरी बाहिरियो ?

पीडित बालिकाले घटनाबारे कतै उजुरी दिइकी थिइनन् । तर पछिल्लो समय उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । पेट दुख्ने लगायतका समस्या देखा परेपछि उनी स्वास्थ्य संस्थामा पुगेकी थिइन् । त्यसक्रममा उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पत्ता लाग्यो । त्यसपछि मात्र उनले घटनाबारे बताएकी हुन् ।

लगत्तै पीडित बालिकाका अभिभावक, प्रहरी र जनप्रतिनिधिहरुलाई खबर गरिएको थियो । उनीहरुले बालिकालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको ओसीएमसी शाखामा पठाए । पीडितका तर्फबाट मुगु प्रहरीमा जाहेरी पनि दर्ता भयो ।

जाहेरीमा बालिकाले पहिलो घटनामा संलग्न ६ जनामध्ये एक बालकको  नाम मात्र किटान गरेकी थिइन् । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो । सोधपुछका क्रममा उनले आफ्नो संलग्नता मात्र स्वीकार गरेनन्, अरु ५ जनाको पनि नाम लिए । उनीहरुमध्ये २ जना पक्राउ परेका छन् भने  ३ जना फरार छन् ।

दोस्रो घटनामा संलग्नमध्ये नगर प्रहरी वसन्तबहादुर कार्की र सवारी चालक पदमबहादुर कठायत पक्राउ परेका छन् । कार्यालय सहयोगी भने फरार छन् । ‘यो घटनामा हामी सुक्ष्म अध्ययन गरिरहेका हौं र फरारहरुको खोजी भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?