+
+

कर्णाली एक्स्पो व्यवस्थापन ठेक्कामा ‘सेटिङ’ भएको आरोप

यज्ञ खत्री यज्ञ खत्री
२०८० माघ ४ गते १८:००

४ माघ, सुर्खेत । ‘कर्णाली एक्सपो-२०८०’ सञ्चालनको जिम्मा पाएको सुर्खेत उद्योग वाणिज्य संघले एक्सो व्यवस्थापन ठेक्कामा बदमासी गरेको आरोप लागेको छ ।

एक्सपो सञ्चालनका लागि मूल आयोजक बनेको संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्रावधानलाई लत्याउँदै प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको आरोप लागेको हो ।

एक्सो व्यवस्थापन साझेदारका लागि भन्दै ठेक्का आहृवान गरेपछि संघलाई इमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र प्राप्त भएको थियो, जसमा सबैभन्दा कम ५० लाख र बढी ८१ लाख ५० हजार ५५५ रुपैयाँको थियो । तर, संघले नियमअनुसार सबैभन्दा बढी ८१ लाखको आशयपत्र स्वीकृत गर्नुपर्नेमा ६१ लाख रुपैयाँ कबोल गरिएको आशय पत्रलाई छनोट गरेको छ ।

संघले हेटौंडाको कम्पनी ओम शक्ति मूर्ति इभेन्ट एन्ड म्यानेजमेन्टलाई ठेक्का दिएको छ । उक्त कम्पनीले ६० लाख ६ हजार ६६६ रुपैयाँ कबोल गरेर आशयपत्र पेस गरेको थियो । तर पछि उक्त फर्मको आशयपत्रमा एक लाख रुपैयाँ बढाएर छनोट गरिएको छ ।

उक्त कम्पनी र मूल आयोजक सुर्खेत उद्योग वाणिज्य संघबीच ठेक्का आहृवान गर्नुअघि नै छनोटको लागि चलखेल भएको आरोप छ ।

संघले आशयपत्र आहृवान गरेपछि बाँकेको एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५५५ रुपैयाँ कबोल गरेर आशयपत्र दिएको थियो । तर उक्त कम्पनीलाई भने छनोट गरिएन ।

आफूसँग विगत १६-१७ वर्षदेखि मेला महोत्सव सञ्चालनको अनुभव भएको र सबै कानुनी प्रक्रिया पूरा गर्दा पनि आफ्नो कम्पनी छनोट हुन नसकेको एजी सर्भिस प्रालिका अध्यक्ष नन्दबहादुर बुढाले बताए । ‘सबै प्रकृया पूरा गरेर आशयपत्र दिएको थिएँ । रकम ठूलो भएपछि मेरो कम्पनी छनोट हुनुपर्ने हो तर भएन,’ अध्यक्ष बुढाले अनलाइनखबरसँग भने, ‘हाम्रो कम्पनी छनोट नभएपछि मैले संघका अध्यक्षलाई फोन गरें, उहाँले हाम्रो सदस्यलाई दिने कुरा भइसकेको छ, तपाईंको छनोट हुँदैन भन्नुभयो ।’

अध्यक्ष बुढाले आफ्नो कम्पनीलाई सुनियोजित तरिकाले बाइपास गरिएको आरोप लगाउँदै कानुनी उपचार खोज्ने बताए । उनले आफ्नो कम्पनीले छनोटका सबै मापदण्ड पूरा गर्दा पनि छनोट हुन नसक्नुको कारण खोज्न जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म निवेदन दिएको बताए । ‘सबै प्रकृया पूरा गर्दा पनि मेरो कम्पनीलाई सुनियोजित तरिकाले बाइपास गरिएको छ । म सबै कानुनी लडाइँ लड्छु,’ उनले भने ।

ठेक्का आहृवान अगाडि नै सेटिङको शंका

संघले पुस २० गते महोत्सव व्यवस्थापन तथा सञ्चालनका लागि आशयपत्र माग गरेको थियो । तर माग गरेको सूचना भने आधिकारिक रूपमा प्रकाशन गरिएन । जबकि पुस २२ गते मात्रै वीरेन्द्रनगर नगरपालिकाले महोत्सवको मूल आयोजक समिति छनोटका लागि छलफल चलाएको थियो ।

नगरपालिकाको मेला महोत्सव व्यवस्थापन कार्यविधि, २०७५ अनुसार छलफलमा प्रदेश उद्योग वाणिज्य महासंघले आफू मूल आयोजक बन्नुपर्ने दाबी गरेको थियो ।

सुर्खेत उद्योग वाणिज्य संघले पनि आफू मूल आयोजक बन्नुपर्ने अडान लियो । प्रदेश महासंघ र जिल्लाका संघ एक आपसमा बाझिएपछि नगरपालिकाले आपसी सहमति गरेर आउन भन्दै फिर्ता पठायो ।

संघको प्रदेश र जिल्ला कार्यसमितिबीच सहमति भएपछि सोही दिन बेलुका नगरपालिकाको मेला महोत्सव व्यवस्थापन समितिले सुर्खेत उद्योग वाणिज्य संघलाई मूल आयोजकका रूपमा महोत्सव सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।तर संघले भने नगरपालिकाको अनुमति अगावै एक्सपो व्यवस्थापन साझेदार लागि ठेक्का आहृवान गरिसकेको थियो ।

संघले ठेक्का आहृवान प्रक्रिया अगाडि नै बदमासी गरेको शंका छ । संघले सार्वजनिक खरिद ऐन, नियमावलीको प्रावधान विपरीत सूचना निकालेको प्रक्रिया पुराउन गुपचुपमै सूचनाको म्याद सकिने अन्तिम दिन सूचना टाँस गरी ठेक्का प्रक्रियामै चलखेल गरेको थियो ।

सेवा तथा सामग्री खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली (संशोधनसहित) २०७९ ले १० लाखभन्दा बढीको सेवा खरिद तथा २० लाखभन्दा बढीको निर्माण तथा सामग्री खरिदमा राष्ट्रिय स्तरको पत्रिकामा ३० दिने बोलपत्रको सूचना प्रकाशित गरी खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ । तर संघले यी कुनै पनि विधि र प्रक्रिया पूरा गरेको देखिएको छैन ।

संघले चाहेको फर्मलाई ठेक्का दिनसक्छ : अध्यक्ष कँडेल

उक्त विषयमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने कसलाई ठेक्का दिने, कसलाई नदिने अधिकार संघमा निहीत भएको बताए ।

‘यो एउटा गैरमुनाफामुलक व्यवसायीहरुको संगठनले गर्न लागेको महोत्सव हो । यसको व्यवस्थापनको जिम्मा संघले जसलाई चाह्यो उसलाई दिन सक्छ,’ अध्यक्ष कँडेलले अनलाइनखबरसँग भने, ‘यो कुनै सरकारी टेन्डर प्रक्रिया होइन, जसले खरिद ऐन पालना गर्नुपर्छ ।’

 

उनले विषय सामान्य भए पनि अत्तिरञ्जित गरिएको बताए । संघले आशयपत्र छनोट गर्दा पैसा मात्र नभई सम्बन्धित कम्पनीको विवरण र कार्यअनुभवका आधारमा छनोट गरिएको अध्यक्ष कँडेलले बताए । ‘हामीले कम्पनी छनोट गर्दा अंक नभई उसको ट्रयाक रेकर्ड हेरेका थियौं,’ कँडेलले भने, ‘विगतमा धेरै मेला महोत्सव सञ्चालन गरेको, पुरस्कार सम्मान पाएको आधारमा ओम शक्ति मूर्तिलाई छनोट गरेका हौं ।’

धेरै रकम कबोल गरेको फर्म एजी सर्भिसको डकुमेन्ट नपुगेपछि छनोट नगरिएको कँडेलले बताए । ‘एजी सर्भिसले इमेलमार्फत बिडिङ्ग गरेको थियो । साथै ३० प्रतिशत एडभान्स पनि जम्मा गरेको थिएन । ठूलो रकम भए पनि प्रक्रिया नपुगेपछि छनोटमा पर्न सकेन,’ अध्यक्ष कँडेलले अनलाइनखबरसँग भने ।

सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत भने आशयपत्र छनोटका क्रममा प्रक्रियागत त्रुटि भएको बताउँछन् ।

आशयपत्र माग गर्दा सिलबन्दी नभनिए पनि पछि ठूलो रकम कबोल गरेको आशयपत्र आउँदा भने सिलबन्दी नभएको भनेर व्याख्या गरिएको उनले बताए । ‘यो विषयमा अन्तिम निर्णय हुँदा म बैठकमा थिइनँ, प्रक्रियागत रूपमा त्रुटिपूर्ण छ,’ वरिष्ठ उपाध्यक्ष बस्नेतले भने, ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा आधिकारिक छलफल भएको छैन ।’

आफ्नै कार्यविधि लत्याउँदै नगरपालिका

सुर्खेतमा प्रत्येक वर्ष मेला महोत्सव आयोजना हुने र सधैं आयोजकका विषयमा विवाद हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले कार्यविधि नै बनाएको छ । ‘मेला महोत्सव व्यवस्थापन कार्यविधि, २०७५’ अनुसार प्रदेश उद्योग वाणिज्य संघ, सुर्खेत उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ र चेम्बर अफ कमर्स सुर्खेत लगायत संघ संस्थाहरुले तीन/तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्न पाउने व्यवस्था छ ।

सोही अनुसार आर्थिक २०७५/०७६ मा चेम्बर अफ कमर्स सुर्खेत र २०७६/०७७ मा सुर्खेत उद्योग वाणिज्य संघ मूल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा कोभिड महामारीका कारण महोत्सव भएन । २०७९/०८० मा घरेलु तथा साना उद्योग महासंघ मूल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेको छ ।

कार्यविधिका आधारमा यो आर्थिक वर्ष प्रदेश उद्योग वाणिज्य महासंघ कणर्ालीले मूल आयोजकका रूपमा महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दाबी गरेको थियो । तर सुर्खेत उद्योग वाणिज्य संघले नगरपालिकाबाट अनुमति पायो । त्यसमा प्रदेशले पनि सहमति जनाइसकेको छ ।

नगरपालिकाले आफैंले बनाएको कार्यविधि लत्याएर महोत्सव सञ्चालनको स्वीकृति दिएको छ । कार्यविधिको परिच्छेद २ (१) मा प्रत्येक आर्थिक वर्षमा वीरेन्द्रनगरभित्र मेला महोत्सव लगाउन चाहने संस्था वा कार्यालयले भदौ मसान्तभित्र आवेदन पेस गर्नुपर्ने भनिएको छ । तर सुर्खेत उद्योग वाणिज्य संघले सो समयभित्र नगरपालिकामा आवेदन नदिएको नगरपालिका स्रोतले बतायो ।

यो अवधिमा कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघले भने आवेदन दिएको थियो । प्रदेश उद्योग वाणिज्य महासंघले साउन २ गते नै आवेदन दिएको थियो । संघले कार्यविधिले नै व्यवस्थापन गरेको पालोका आधारमा आफूले महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दाबी गरेको थियो ।

सुर्खेत उद्योग वाणिज्य संघले माघ २६ गतेदेखि फागुन ५ गतेसम्म वीरेन्द्रनगरमा ‘तेस्रो कणर्ाली एक्सपो, २०८०’ सञ्चालन गर्न खोजेको छ । तर मूल आयोजकको जिम्मेवारी पाएको संघले व्यवस्थापन साझेदार छनोट गर्दा बदमासी गरेको आरोप लागेको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?