+
+

हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १०२ रुपैयाँको उतारचढाव, धैर्य गर्नेले कमाए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १७:३५

४ माघ, काठमाडौं । बिहीबार दोस्रो बजारमा हिमालयन रिइन्स्योरेन्सको सेयर नियमित कारोबार भएको ८ दिन पुग्यो । अघिल्ला ७ कारोबार दिनमा १० प्रतिशतले मूल्य बढेकोमा आठौं दिनमा भने उच्च उतारचढाव देखियो ।

सेयर मूल्यमा आएको उच्च उतारचढावले कम्पनीको कारोबार पनि सर्वाधिक हुन पुग्यो । बिहीबार कुल ८ अर्ब १७ करोडको कारोबार हुँदा हिमालयन रिको मात्रै १ अर्ब ८४ करोडको कारोबार भयो । कम्पनीको ३० लाख ४४ हजार ७०२ कित्ता सेयर किनबेच भयो ।

बुधबार कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढेर प्रतिकित्ता ६०२ रुपैयाँ पुगेको थियो । बिहीबार प्रिओपनिङ कारोबारमा कम्पनीको मूल्य उच्चतम २ प्रतिशत बढेर ६१४ रुपैयाँ पुग्यो । तर नियमित बजार खुलेलगत्तै उच्च सेयर आपूर्ति हुन पुग्यो ।

मूल्य घटाउँदै बेच्ने प्रतिस्पर्धा चल्यो, १० प्रतिशत नेगेटिभ सर्किट लेभलको अवस्थामा पुग्ने त्रासले गर्दा आईपीओ पर्ने अधिकांशमा बिक्री गर्ने होड चल्यो । जसले गर्दा सवा ११ बजे नै कम्पनीको मूल्य प्रतिकित्ता ५५९ रुपैयाँमा झर्‍यो । अघिल्लो दिन ६०२ रुपैयाँमा खरिद माग हुँदा पनि सेयर नबेचेकाहरुले समेत बिहीबार सवा ११ बजे ५५९ रुपैयाँमै बेच्न हतारिए । त्यसको ५ मिनेटपछि ११ : २० बजे कम्पनीको मूल्य फेरि ६ सय रुपैयाँ पुग्यो । मूल्य बढ्दै गएपछि ११ : ५५ बजे ६२० रुपैयाँमा पुग्यो । २ : ३५ बजे कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ पुग्यो ।

एक दिनमा कारोबार भइरहँदा यस कम्पनीको न्यूनतम मूल्य ५५९ र अधिकतम मूल्य ६६१ रुपैयाँ कायम भयो । एकै दिन कम्पनीको मूल्यमा १०२ रुपैयाँको उतारचढाव हुन पुग्यो । धैर्य गर्न सक्नेहरुले अन्ततः बिहीबार पनि यस कम्पनीको मूल्यबाट लाभ लिएका छन् । बुधबार ६०२ रुपैयाँमा कारोबार बन्द भएकोमा बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ६५३ रुपैयाँ पुग्यो । आत्तिनेहरुले भने ६ सयभन्दा कम मूल्यमै कम्पनीको सेयर बिक्री गरेर बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?