+
+

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ सुरु (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १६:३२

४ माघ, काठमाडौं। कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ सुरू भएको छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा आजदेखि सुरु भएको मिश्रका कार्टुन प्रदर्शनी १४ माघसम्म जारी रहनेछ ।

कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक उमेश चौहान, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरे ।

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रूपमा रहेको भन्दै मिश्रले वर्तमानमा आफूले देखेको समाजको दृश्यलाई कार्टुनमा उतारेको बताए । ‘यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो’ उनले भने, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ । तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न आइपुगेको छु ।’

मिश्रले कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याएर कार्टुनका लागि नयाँ जमिनको खोजीको सुरुवात गरेको समेत बताए । ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो’ मिश्रले भने, ‘अखबारका कोलम र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो । कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो ।’

प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा सामाजिक, राजनीतिक घटनाक्रममाथि बनाएका ३५ वटा कार्टुन समावेश गरिएका छन् ।

मिश्रले विगत १७ वर्षदेखि कार्टुन बनाइरहेका छन् । विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलो पटक एकल प्रदर्शनी गरेका हुन् ।

हिमालय टाइम्सबाट आफ्नो कार्टुनिष्ट यात्रा सुरु गरेका मिश्र अहिले नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । नयाँ पत्रिकामा मिश्रका कार्टुन ‘कर्नर किक’ शीर्षकमा प्रकाशित हुन्छन् । उनी कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन् । कार्टुनसँगै उनी व्यंग्य लेखन समेत गर्छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?