+
+
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट :

आशुतोषको आशालाग्दो प्रदर्शन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ५ गते २२:५२

५ माघ, काठमाडौं । शतक हरेक ब्याटरको सपना हुन्छ । त्यसमा विभागीय टोलीविरुद्ध हानेको शतकको महत्व बेग्लै छ । वागमती प्रदेशका ओपनर आशुतोष घिरैया प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पहिलो खेलमै त्यो अवसर नजिक पुगेका थिए ।

तर सिनियर टोलीका तीव्र गतिका बलर करण केसी र स्पिनर ललित राजवंशी जस्ता बलरको डटेर सामना गरेका उनी नेपाल पुलिस क्लबविरुद्ध शतक बनाउन ८ रनले चुके ।

नेपाली क्रिकेटका अलराउन्डर तथा पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा कट खेल्ने धुनमा एज लागेर विकेटकिपर दीलिप नाथबाट क्याच आउट भएका थिए । त्यो खेलमा ८७ बलमा ९ चौका र ४ छक्कासहित ९२ रनको इनिङ खेलेका थिए ।

नजिक पुगेर चुक्दाको पीडा उनको अनुहारमा झल्किन्थ्यो । हुन त चोटका कारण ६३ रनमा रिटायर्ड हर्ट भएका उनी उपचारपछि पुनः मैदान फर्किएर खेलेका थिए ।

अघिल्लो साता पुरा नभएको शतक सपना आशुतोषले कोशी प्रदेशविरुद्ध पुरा गरेका छन् ।

बाग्मती प्रदेश ६४ रनले विजयी भएको खेलमा उनले कोशी प्रदेशविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेका हुन् । ४१ रनमा फस्ट स्लिपमा सुजन थपलियाले उनलाई जीवनदान दिएका थिए । त्यसको भरपूर्ण फाइदा उठाउँदै आशुतोषले करिअरकै पहिलो शतक हाने ।

टीयू एण्डतर्फ लेग स्पिनर हेमन्त राईलाई लङअफमा सट खेल्ने धुनमा उनी क्याच आउट भए । कमल खत्रीले लङअफबाट दौडिएर मिडअफमा पुगेर ड्राइभ हान्दै स्तरीय क्याच लिएपछि १११ बलमा १६ चौका र २ छक्कासहित ११८ रन बनाउँदै ड्रेसिङ रुम फर्किए ।

आशुतोष घरेलु क्रिकेटमा नयाँ नाम भने होइनन् । २०७५ मै वाग्मतीबाट प्रधानमन्त्री कप खेलिसकेका खेलाडी हुन् । स्थानीय, इन्डोर र कलेज क्रिकेटमा राम्रो गर्दै आएका थिए । तर नजिकबाट निहाल्ने बाहेक धेरैको नजरमा पर्न सकेको थिएनन् । त्यसको मुख्य कारण राष्ट्रिय प्रतियोगितामा उनको ब्याटबाट रन नबन्नु नै हो ।

जारी प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङका साथ उनले धेरैको ध्यान आर्कषित गरेका छन् ।

प्रतियोगितामा सुरुवाती समय ५ खेलमा २६१ रनका साथ आशुतोष सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा शीर्ष स्थानमा छन् । अन्य ब्याटरले २०० रनको आँकडा पार गरेका छैनन् । कोशी प्रदेशका सुजन थपलियाले १८४ रनका साथ पछ्याएका छन् । सिनियर टोलीका प्रमुख ब्याटर नै आशुतोष भन्दापछि छन् ।

कोशीविरुद्ध शतक पूरा गर्नुअघि उनी केही नर्भस थिए । बायाँ हाते बलर कमल खत्रीको बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै उनले शतक पूरा गरे ।

‘अलिकति नर्भस नाइन्टिज त भइहाल्छ । एकछिनका लागि म नर्भस थिएँ’ उनले भने, ‘शतक बनेपछि रमाइलो लाग्यो ।’

पहिलो शतक धेरै खेलाडीको सेलेब्रेसन हेर्न लायक हुन्छन् । तर उनले हेल्मेट नखोली सेलेब्रेसन गरे । हेल्मेट खोल्ने बानी नै नभएका कारण त्यस्तो भएको उनले सुनाए ।

टीयूमा खुलेका आशुतोष मुलपानीमा मधेश प्रदेशसँग ८ र आर्मीसँग २ रनमा आउट भए ।

मुलपानीमा ब्याटिङ गर्न टीयूको तुलनामा केही कठिन भएको उनको अनुभव छ । ‘मुलपानी भन्दा ब्याटमा अली राम्रो बल आइराखेको छ । मुलपानीमा बल फसेको र कटेको छ’ उनले भने, ‘यतापनि त्यति सजिलो छैन, तर उता भन्दा राम्रो छ ।’

को हुन् आशुतोष ?

पाटनका आशुतोषले स्कुलदेखि क्रिकेट खेल्न थालेका हुन् । डिएभी स्कुलमा पढ्ने क्रममा उनले १४ वर्षकै उमेरमा पहिलो प्रतियोगिता खेलेका थिए । त्यो समय उनी स्कुल क्रिकेटमै रमाए । १२ कक्षा पासपछि उनले इमाडोलमा रहेको बलपार्क क्रिकेट एकेडेमीमा भर्ना भएका थिए । बलपार्कबाट नै उनको क्रिकेट करिअर अघि बढेको हो ।

उनी खुलेर खेल्दा राम्रो भएको बताउँछन् । खुलेर खेल्न खोजी राखेको छु । म्यानेजमेन्टले पनि मलाई खुलेर खेल्न भनेको छ । केहि चिन्ता लिनुपर्दैन । तिमी त्यहाँ बस्देउ मात्रै भन्नु भएको छ । म त्यहिँ गर्न खोजेको छु, उनले भने ।

प्रधानमन्त्री कपमा पहिलो पटक २०१८ मा खेलेका थिए । लुम्बिनीसँग डेब्यू गर्ने मौका पाएका थिए । लाल अधिकारीको बलमा एक रनमा बोल्ड भएपछि उनले पुनः मौका पाएनन् । त्यो सिजन एक खेल मात्रै खेल्नुपर्यो । त्यसपछि वागमतीको टोलीमा फर्किन नै चार वर्ष लाग्यो । २०२२ मा उनले २ खेलमा ३६ रन बनाएका थिए ।

यस पटक वागमती प्रदेश छनोटमा ललितपुरलाई च्याम्पियन बनाएका उनी सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनलमा उनले चितवनविरुद्ध अविजित ८२ रनको इनिङ खेलेका थिए ।

आशुतोषले अहिले जसरी प्रदर्शन गरेका छन्, त्यसले नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक बनाउन लागेको भनिएको नेपाल एमा दाबेदारी प्रस्तुत गरेका छन् । यद्यपि टिममा पर्ने नपर्ने प्रतियोगिताको बाँकी खेलमा उनको प्रदर्शनमा पनि भर पर्छ ।

किनकी धेरै प्रतिभा एक सिजन खेलेर हराएका घरेलु क्रिकेटमा थुप्रै उदाहरण छन् । एक प्रतियोगिता नभएर कुनैपनि खेलाडीको प्रदर्शन लामो समयदेखि हेर्नुपर्ने हुन्छ । तर जसरी खेलेका छन्, सट छनोट गरेका छन्, त्यसले उनीमा सम्भावना देखाउँछ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?