+
+

भलिबल संघले २०२४ मा २ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

 पूर्वकप्तान भरतसहित ३ जना उपाध्यक्षमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते ६:३०

६ माघ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले वर्ष २०२४ मा नेपालमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

संघको शुक्रबार पोखरामा बसेको सातौं पूर्ण बैठकले २०२४ मा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितादेखि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिए । ‘एनभीएले २०२४ अगष्टमा काभा वुमन्स नेसन्स लिग र नोभेम्बरमा काभा मेन्स क्लब च्याम्पियनसिप नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने ।

चन्दले नेपालले यसअघि काभा वुमन्स च्यालेन्स लिगको सफलतापूर्वक आयोजना गरिसकेको र अब अन्य प्रतियोगिता पनि गर्ने अवसर भएको बताए ।

यसअघि नेपालले २०८० वैशाखमा काभा वुमन्स च्यालेन्ज लिग आयोजना गरेको थियो । त्यस्तै २०१९ मा एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलको पनि आयोजना गरेको थियो ।

एनभीए क्लब भलिबल र अवार्ड चैतमा

नेपाल भलिबल संघले आगामी चैतमा दुई महत्वपूर्ण कार्यक्रम गर्ने निर्णय गरेको छ । जसमा एनभीए महिला तथा पुरुष च्याम्पियनसिप र एनभीए अवार्ड रहेको छ ।

चैत १ देखि १० गतेसम्म आठौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप गर्ने बैठकले निर्णय गरेको छ । यसअघि क्लब भलिबल च्याम्पियनसिपको नाममा आयोजना हुने गरेपनि अब भने एनभीए भलिबल च्याम्पियनसिप मात्र राखिएको र त्यसमा क्लब बाहेक अन्य टिमले पनि सहभागिता जनाउने सक्ने एक सदस्यले जानकारी दिए ।

यस्तै  चैतमै एनभीए अवार्ड काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

अवार्डमा वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र टिमलाई सम्मान गरिने संघका अध्यक्ष चन्दले जानकारी दिए । संघले यसअघिका वर्षहरुमा पनि एनभीए अवार्ड आयोजना गर्दै आएको छ ।

यस्तै यही माघ ७ गते  नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरुको सम्मेलन आयोजना गर्ने र रेफ्री कमिशनलाई पूर्णता दिने पनि संघले निर्णय गरेको छ ।

पूर्वकप्तान भरतसहित ३ उपाध्यक्ष मनोनीत

यस्तै बैठकले पुरुष राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान भरत शाहसहित तीन जनालाई संघको उपाध्यक्षमा मनोनीत गरेको छ ।

बैठकले शाहसहित युवराज श्रेष्ठ र श्रीराम बोगटीलाई उपाध्यक्षमा मनोनीत गरेको अध्यक्ष चन्दले जानकारी दिए ।

यस्तै शैलेन्द्र शर्मा, किशोर आचार्य, छ्यामबहादुर थापा, डम्बर बहादुर लिम्बु, निलम बज्राचार्य र रामशंकर चौधरीलाई सदस्यमा मनोनयन गरेको छ ।

गत वर्ष भदौमा भएको निर्वाचनमा जितेन्द्र चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । जसमा ६ जना उपाध्यक्ष सर्वसम्मत चयन भएका थिए । त्यसमा तीन उपाध्यक्ष थप मनोनयन गरिएको अध्यक्ष चन्दले बताए ।

यसैगरी बैठकले राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान तथा पहिलो पुस्ताका खेलाडी रेशम गुरुङलाई सल्लाहकारमा मनोनीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?