+
+

प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि क्षिजित र सिमालाई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते ८:४८

काठमाडौं । प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधी एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सिमा राजबंशीले जितेका छन् ।

फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीद्वारा बशुन्धरास्थित आफ्नै कोर्टमा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१–१९, २१–१४ ले पराजित गर्दै च्याम्पियन बने । नखिपोटका बिवेक चौधरी र एपिएफका अमन महर्जन तेस्रो भए ।

सिमाले महिला एकलको फाईनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१०, १५–२१, २१–१६ ले पराजित गर्दै उपाधी जितिन् । एपिएफका शोभा गौचन र रिना तामाङ तेस्रो भए ।

पुरुष युगलतर्फ एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले आफ्नै क्लबका सुजन थापा र राजु थापाको जोडीलाई १४–२१, २४–२२, २१–१४ ले पराजित गर्दै उपाधी जिते । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी तथा सुनिल जोशी र दीपक बोहराको जोडी तेस्रो भए ।

पुरुष र महिला एकल तथा पुरुष युगलको विजेताले समान ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे । यसका साथै विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरी यू-१९ ब्वाइज एकलमा एपिएफका रोशन साउदले आफ्नै क्लबका अरुण अधिकारीलाई २१–१९, २१–१५ ले पराजित गर्दै विजेता बने । एपिएफकै अनिल मल्ल र युनिटीका सुनिल कार्की तेस्रो भए ।

यू-१९ गर्ल्सतर्फ दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले उपाधि जितिन् । एपिएफकी रिना तामाङ्ग संग पहिलो सेट १५–२१ ले गुमाएकी अश्मिताले दोश्रो सेटमा पनि १३–१६ ले पछि परेको अवस्थामा रिनाले घुँडामा चोट बोक्न पुगे पछि खेल विचैमा छोडे पश्चात जित हात पारेकी थिइन् ।

इमाडोलकी टिशा रानी शाक्य र मोहन भुगोल फाउन्डेशनकी निभा राई तेस्रो भए ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यू-१३ ब्वाईजमा एपिएफका आरुष सिमखडाले कैलालीका रियांस चौधरीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधि जिते । आरुषले नगद १५ हजार र रियांसले नगद १० हजार प्राप्त गरे । यस्तै तेस्रो स्थान प्राप्त गर्ने कास्कीका आदित्य चौधरी र तनहुँका सफल भुजेलले नगद ५-५ हजार प्राप्त गरे ।

यू-१३ गर्ल्सतर्फ मोहन भुगोल फाउन्डेशन, कास्कीकी निभा राईले दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्रीलाई २१–१३, २१–११ ले पराजित गर्दै उपाधी जितिन् ।

सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र ग्यालेक्सी स्कुलकी अप्सरा यादव तेस्रो भए । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।

भेट्रान ४५ वर्ष माथि कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङ्गको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई १९–२१, २१–११, २१–११ ले पराजित गर्दै पहिलो भए । टोखाका टिका थापा र रामशरण के.सी.को जोडी तथा आयोजक फिटनेश पार्कका सुभाष श्रेष्ठ र प्रेम घलेको जोडी तेस्रो भए । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

भेट्रान ५५ वर्ष माथि धादिङका बिष्णु लाल श्रेष्ठ र चितवनका बुद्धि चौधरीको जोडीले कास्कीका मनोज कुमार श्रेष्ठ र दिल पुनको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गर्दै पहिलो भए ।

आयोजक फिटनेश पार्कका उमेश के.सी. र पुर्ण चन्द्र जोशी तथा धन्यन्तरीका गणेश थापा र गंगा बहादुर राईको जोडी तेस्रो भए । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २० हजार १० हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र कुमार थिङ्ग, कोशी प्रदेश ब्याडमिन्टन संघका संयोजक योगश्वर श्रेष्ठ, सदस्य भवानी आङ्गदम्बे, सहआयोजक बट्टार युथ क्लबका अध्यक्ष एवं बागमती प्रदेश फुटवल संघका सहमहासचिव सुरज श्रेष्ठ, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुदिना गुरुङ, समाजसेवी निराजन सिम्खडा लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?