+
+

ग्रामीण कथावस्तुका फिल्ममा अष्ट्रेलियाका नेपालीको रुचि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:५४

सिड्नी । नेपाली डायस्पोरा फराकिलो भएसँगै नेपाली फिल्मको पनि बजार बिस्तार भइरहेको छ । देशमा राम्रो कमाइ गरेका फिल्महरुले विदेशमा पनि दर्शकको माया पाइरहेका छन् । पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसँगै नेपाली फिल्मको पनि यो राम्रो बजार बन्न थालेको छ ।

अष्ट्रेलियामा अहिले नेपालमा रिलिज भएकै दिन दर्शकले फिल्म हेर्न पाउँछन्  । यहाँका सिनेमा हलमा नियमित शोमै नेपाली फिल्म प्रदर्शन हुन्छन् । नेपालमा रुचाइएको फिल्मले अष्ट्रेलियामा चार करोड रुपैयाँसम्मको व्यापार गर्न सक्छ भन्ने ‘कबड्डी ४’ ले प्रमाणित गरिसकेको छ । अहिले अष्ट्रेलियामा आफ्ना फिल्म बेच्न निर्माताहरूबीच प्रतिस्पर्धा नै चल्न थालेको छ ।

नेपाली परिवेशको फिल्मलाई यहाँ निकै रुचाइएको अस्ट्रेलियामा कबड्डी ४ का प्रदर्शक रोशन भट्टराई बताउँछन् । ‘तर सबै फिल्मले यत्तिकै रूपमा व्यापार गर्न निश्चित भने छैन,’ उनी भन्छन्, ‘काल्पनिक कुरा भन्दा पनि नेपाली परिवेशका फिल्महरुलाई अष्ट्रेलियामा मन पराइएको छ । योभन्दा अगाडि पनि जात्रैजात्राले  एक करोडभन्दा माथिको व्यापार गरेको थियो ।’

प्रवासमा रहेका नेपालीले पनि नेपालमा रिलिज भएकै दिन फिल्म हेर्न पाउनु सुखद् भएको भट्टराई बताउँछन् । ‘यसले नेपाली फिल्मले फैलिने मौका त पाएको छ नै, निर्माताहरूलाई आर्थिक रूपमा राहत पनि प्रदान गरिरहेको छ,’ उनी भन्छन् ।

अष्ट्रेलिया अध्ययनका लागि नेपाली विद्यार्थी धेरै जाने देश हो । नेपाली फिल्मको बजार बिस्तार गर्न यसले मुख्य भूमिका खेलेको छ । २० वर्षअघि अष्ट्रेलियामा फिल्म ‘बलिदान’ प्रदर्शन गरिएको थियो । प्रदर्शन मन केसी भन्छन्, ‘आज समयले अष्ट्रेलिया नेपाली फिल्म निर्माताहरूका लागि आर्थिक रूपमा बलियो देश हुन थालेको छ ।’

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्षसमेत रहेका केसीले पछिल्लोपटक ‘शत्रु गते’ र ‘कान्छी’लाई अष्ट्रेलियामा ल्याएर प्रदर्शन गरेका थिए । ‘सबै सिनेमा यहाँ चल्दैनन् । धेरैले गुमाएका पनि छन् । कमाउनभन्दा पनि नेपाली फिल्मप्रतिको माया र सद्भावका कारण नै अष्ट्रेलियामा नेपाली फिल्मले प्राथमिकता पाएका हुन् ।

वितरकहरुका अनुसार अष्ट्रेलियामा नेपाली ग्रामीण परिवेश कथावस्तुका फिल्म बढी चल्ने गरेका छन् । त्यसपछि हास्य विधाका फिल्महरुले पनि राम्रो कमाइ गरेका छन् । अष्ट्रेलियामा लुट, छक्कापञ्जा र कबड्डीका सिरिज, जात्रा, जात्रैजात्रा, शत्रुगते, पशुपतिप्रसाद र जारीले उत्कृष्ट कमाइ गरेको वितरकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?