+
+

बर्लिन रेडकार्पेटमा सोनम तोप्देन र थिन्ले ल्हामो पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १३:१९

काठमाडौं । मीनबहादुर भाम निर्देशित दोस्रो फिचर फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डमा छनोट हुने यो पहिलो नेपाली फिल्म बनेको छ ।

यसबारे जानकारी दिन निर्माताले सोमबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ मीनसहित गायिका आनीछोइङ डोल्मा, कलाकारहरु सोनम तोप्देन र थिन्ले ल्हामो लगायत सहभागी थिए ।

सोनम र थिन्ले दुवैको यो दोस्रो फिचर फिल्म हो । सोनमले यसअघि ‘सम्हालिन्छ कहिले मन’ र थिन्लेले ‘नाका’मा अभिनय गरेका थिए, जुन यी दुवैको डेब्यु फिल्म हो । पत्रकार सम्मेलनमा यी दुवै कलाकार उत्साहित सुनिए ।

कभर गायक समेत रहेका सोनम ‘साम्बाला’मा अडिसनमार्फत छानिएका थिए । करिअरकै महत्वपूर्ण फिल्मको रुपमा आफूले यसलाई लिएको सोनमले बताए । उनले उपल्लो डोल्पाको छायांकन अनुभव पनि बाँडे ।

अभिनेत्री ल्हामोको यो फिल्ममा शीर्ष भूमिका छ, जहाँ उनले पतिको खोजीमा निस्किएकी एक गर्भवती महिला पेमाको भूमिका निर्वाह गरेकी छन् । गर्भवती अवस्थाको रोल निर्वाह गर्न चुनौतीपूर्ण भएको अनुभव उनले बाँडिन् ।

निर्देशक भामले पुरुष निर्देशक भएर महिलाको अवस्थालाई फिल्ममा उतार्न निकै समस्या भएको बताए । ‘हामीलाई स्क्रिप्ट लेख्दा समस्या भइरहेको थियो । महिलाको दृष्टिकोण विशेषगरी महिला गर्भवती हुँदाको ‘माइण्ड स्विङ’को अवस्था कस्तो हुन्छ भनेर हामीलाई चित्रण गर्न गाह्रो भइरहेको थियो । त्यतिबेला निशा अधिकारीले हामीलाई सघाउनुभयो । मैले स्क्रिप्ट उहाँलाई पठाएँ र उहाँले यसबारे कमेन्ट पनि गर्नुभयो ।’

उनले नन–एक्टरलाई लिएर काम गर्दा सजिलो भएको बताए । हल्का जानेको कलाकार छ भने उसले गहिराइमा पुगेर काम गर्न नसक्ने हुँदा नन–एक्टरलाई लिएर आफू अनुकूल ढंगले अभिनय गराउन सकिने उनले बताए ।

७४ औं बर्लिन फिल्म फेस्टिभल फेब्रुअरी १५ देखि २५ सम्म जर्मनीमा आयोजना हुँदैछ । यो फेस्टिभलको रेडकार्पेटमा ‘साम्बाला’को प्रतिनिधित्व गर्दै निर्देशक भामसहित कलाकारहरु थिन्ले ल्हामो र सोनम तोप्देन पनि बर्लिन जाने भएका छन् । साथै निर्माता र छायांकार पनि उपस्थित हुने भएका छन् ।

‘हामीले आजैदेखि भिसा प्रक्रिया सुरु गर्दैछौं,’ निर्देशक भामले भने । यसपटकको बर्लिन फेस्टिभलमा सौरभ घिमिरे निर्देशित छोटो फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ पनि प्रिमियर हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?