+

किन बढ्दैछ भाइरल ज्वरो ? यसरी गर्न सकिन्छ घरमै उपचार

२०८० माघ  ९ गते १८:२७ २०८० माघ ९ गते १८:२७
किन बढ्दैछ भाइरल ज्वरो ? यसरी गर्न सकिन्छ घरमै उपचार

केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ । साथै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्छ ।

भाइरल सङ्क्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने, शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिंगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्छन् । यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुनसक्छ ।

भाइरल ज्वरो सामान्यतया तीनदेखि चार दिनभित्र आफैं निको हुन्छ । निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरोलाई कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ ।

भाइरल ज्वरोका लागि घरेलु उपचार

भाइरल ज्वरोलाई कम गर्न सबैभन्दा पहिले त हाइड्रेट रहनुपर्छ । त्यसका लागि प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ । जति बढी मनतातो पानी खायो त्यति नै छिटो पानी रगतमा फैलिने र भाइरसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ ।

ज्वरो आएपछि सिटामोल खाँदा पनि ज्वरो आइरहेको छ भने घरेलु उपचारको रूपमा पानीपट्टी गर्न सकिन्छ । तर यसको तरिका जान्न भने आवश्यक छ । पानीपट्टी टाउकोमा लगाएर मात्र हुँदैन । टाउकोदेखि काखी, खुट्टा र हातमा पनि पानीपट्टी गर्नुपर्छ ।

खानपानमा विशेष ध्यान दिनुपर्छ । सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ । प्रशस्त मात्रामा हरियो सागपात र फलफूल खानुपर्छ । बासी तथा चिसो खानेकुरा खानु हुँदैन ।

ज्वरो आउँदा पूरा शरीर नै कमजोर हुन्छ । पाचन प्रणाली पनि कमजोर हुने हुँदा खानेकुरा पचाउन कठिन हुन्छ । त्यसैले सुपाच्य खानेकुरा खानुपर्छ । जाउलो, खिचडी, सुपजस्ता झोलिलो र तागतिलो खानेकुरा खानुपर्छ ।

बिरामीलाई गुम्म परेको ठाउँमा राख्नुहुँदैन । कोठामा झ्याल वा भेन्टिलेसन हुनुपर्छ, जसले शरीरको तापक्रम घट्न मद्दत गर्छ । बाक्लो मोटो सिरक ओढाउन हुँदैन । पातलो सिरक वा ब्ल्याङ्केट ओढाउनुपर्छ । जाडोमा भाइरल सङ्क्रमणबाट बच्न चिसोबाट बच्नुपर्छ । तातो लुगा लगाउने र तातोपानीको बाफ लिने गर्न सकिन्छ ।

मधुमेह, उच्च रक्तचाप, दम जस्ता दीर्घरोगीहरुले विशेष ध्यान दिनुपर्छ । मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ भने दम बढ्न नदिन चिसो र प्रदूषणबाट बच्नुपर्छ ।

पारासिटामोलको सेवन गर्न सकिन्छ

पारासिटामोललाई सुरक्षित औषधि मानिन्छ । त्यसैले बिरामीहरूले तत्काल राहत पाउनका लागि यसको प्रयोग गर्न सक्छन् ।

सिटामोल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको शरीरमा निर्भर रहन्छ । ६० देखि ७० किलो तौल भएका व्यक्तिले एक पटकमा ५०० मिलिग्रामको डेढदेखि दुई चक्की खान सकिन्छ । त्यहाँभन्दा बढी तौल भएका व्यक्तिलाई भने दुई चक्की आवश्यक हुन्छ । ज्वरो आइरहेको छ भने ६ घण्टा वा ८ घण्टाको अन्तरमा सिटामोल खान सकिन्छ । ज्वरो क्रमशः घट्दै गएमा यसको सेवन रोक्न सकिन्छ ।

कतिपय भाइरल ज्वरोको लक्षण हेरेर पत्ता लगाउन गाह्रो हुन्छ । औषधि खाँदा र पानीपट्टी लगाउँदा पनि ज्वरो घटेन भने अस्पताल जानुपर्ने हुन्छ । लक्षणअनुसार उपचार गर्न सकिन्छ । डाक्टरहरूले सामान्यतया भाइरल ज्वरोका लक्षणहरू कम गर्न र तापक्रम कम गर्न औषधि दिन्छन् । धेरै दिन उच्च ज्वरो आउँदा घरमै राखिराख्यो भने अन्य जोखिम पनि आउन सक्छ । त्यसैले तीन त्यसैले तीन चार दिन भन्दा बढी लगातार ज्वरो आएमा कारण पत्ता लगाउन अस्पताल जानुपर्छ ।

डा. निहारकुमार दास भाइरल ज्वरो संक्रमण
डा. निहारकुमार दास
लेखक
डा. निहारकुमार दास
इमर्जेन्सी फिजिसियन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६१ अध्ययन : एमबीबीएस हाल काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय