+
+

के किम जोङ उन युद्धको तयारीमा छन् ?

एजेन्सी एजेन्सी
२०८० माघ १० गते १४:३८

एजेन्सी । विश्व इजरायल र प्यालेस्टाइन, रुस र युक्रेन तथा हुथीसँगको युद्धमा व्यस्त भइरहेको अवस्थामा उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले तीव्र रुपमा आणविक हतियार परीक्षण गरेसँगै किम जोङ उनको मनसायबारे बहस सुरु भएको छ ।

जनवरी ५ मा दक्षिण कोरियाको सीमा नजिकै उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमण गरेको थियो । गत शुक्रबार मात्रै उसले हिन्द प्रशान्त क्षेत्रमा रहेको अमेरिकी नौसेनाको पनडुब्बी त्यहाँबाट हटाउनका निम्ति जापानको इलाका नजिक पानीमुनि परमाणु हतियारको परीक्षण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई मित्र नभएर सत्रु राष्ट्र मान्ने बताएको छ । यस्तै आणविक युद्धमार्फत उसलाई आफ्नो अधिनमा ल्याउने महत्वाकांक्षी घोषणा गरिसकेको छ ।

उसको यो घोषणासँगै विश्वसामु नयाँ चुनौती थपिएको छ । शक्ति राष्ट्र अमेरिका हाल इजरायल र हमासबीच भइरहेको युद्ध, रूस र युक्रेन युद्ध र मध्यपूर्वी क्षेत्रमा अल्झिरहेको छ । यस्तो बेला अमेरिकाले किमको भावी कदमको विश्लेषणका लागि उच्चपदस्थ अधिकारीलाई खटाएको छ । किमले मौखिक चेतावनी मात्रै दिएका हुन् वा उनी त्यसभन्दा अगाडि बढिसके भन्ने कुरा अमेरिकी अधिकारीहरुले बाइडेन प्रशासनलाई भन्नुपर्नेछ ।

दशकौँदेखि उत्तर कोरियाले उसका विरोधीलाई तर्साउनका निम्ति बारम्बार हतियार परीक्षण गरिरहेको छ । परीक्षणमार्फत उसले जापान, दक्षिण कोरिया र अमेरिकासहितका देशलाई तर्साइरहेको छ । तर, किमको कदम भने अन्यको भन्दा पृथक रहेको यस मामिला नियालिरहेका विश्लेषकहरु बताउँछन् । कतिपयले उत्तर कोरियाले पश्चिमालाई भ्रम छरिरहेको भनेका छन् भने कतिपयले उसले दक्षिण कोरियामा हमलाको तयारी तीव्र पारिरहेको जिकिर गरेका छन् ।

उत्तर कोरियाली मामिलाबारे जानकार अमेरिकी विदेश मन्त्रालयका पूर्व कर्मचारी रोबर्ट एल र परमाणु वैज्ञानिक सिग्फ्रेड एस हेकरले गत साता आलेख लेखेका थिए । त्यसमा उनीहरुले भनेका थिए –‘किम अबका चुनौती हुन् । उनले साँच्चैनै युद्धको तीव्र तयारी गरिरेहका छन् ।’

उत्तर कोरिया आन्तरिक अवस्थितिका कारण दबाबमा रहेकाले किमले आफ्नो धार परिवर्तन गर्न खोजेको लेखकद्वयको बुझाइ छ । जर्जर आर्थिक अवस्था, खाद्यान्नको अभाव र डोनाल्ड ट्रम्पसँगको वार्ताका बाबजुद अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकाउन असफल भएका किममाथि आन्तरिक दबाब बढिरहेको थियो । तर रुसलाई युक्रेनसँग लड्न हतियार बेचेसँगै उत्तर कोरियाको स्थितिमा केही परिवर्तन आएको उनीहरुको बुझाइ छ ।

अमेरिकी गठबन्धनमा आवद्ध दक्षिण कोरियामाथि सहजै जित निकाल्न नसकिने बुझाइ रहेकाले सकेसम्म युद्ध नगर्ने पक्षमा किम रहेको पनि कतिपयको बुझाइ छ । तर अमेरिकाले हतियार न्यूनिकरणबारे वार्ता गरेर उसको मनोबल बढाएको जानकारहरु बताउँछन् । उत्तर कोरिया मामिलाका जानकार पार्क ओ गोङले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘आफूमाथि निकै खतरा रहेको अवस्थामाबाहेक उत्तर कोरिया युद्धमा जान्छ भन्ने मलाई लाग्दैन । यस युद्ध जितिँदैन भन्नेबारे उनीहरु जानकार पनि छन् । तर विरोधीलाई तर्साएर आफूमाथिको प्रतिबन्ध खुला गर्न सकिन्छ भन्ने विश्वास उसमा रहेको छ’, उनले भने ।

उत्तर कोरियाको सहयोगी राष्ट्र चीनका विश्लेषकहरु समेत ऊमाथि हमला नभएसम्म किम युद्धमा नजाने कुरामा विश्वस्त छन् । उत्तर कोरियाली नेता किम आत्मसंरक्षणको बाटोमा अघि बढेकाले आफ्नो नीति विपरीत पहिलो हमला उनले नगर्ने चिनियाँ प्राध्यापक सी यिनहोङको जिकिर छ । ‘उत्तर कोरिया आफ्नो संरक्षणमा केन्द्रित छ । आफूमाथिको खतरा टार्नका निम्ति उसले आफ्नो शक्ति देखाइरहेको हो । ऊमाथि पहिलो प्रहार नभएम्म सिधै किमले कसैलाई पनि हमला गर्ने छैनन्’, उनले भनेका छन् ।

कतिपय भने आफूविरोधी राष्ट्रलाई त्रासमा नराखीकन नै उत्तर कोरिया सैन्य रुपमा बलियो हुन सक्ने मत राख्छन् । युद्ध नचाहेको हो भने छिमेकीलाई लक्षित गरी घातक हतियारको बारम्बार परीक्षण गर्नुपर्ने कारण नरहेको विश्लेषक भिक्टर चाले न्यूयोर्क टाइम्ससँग भनेका छन् । ‘अहिलेनै युद्ध छेडेको अवस्थामा अमेरिकी प्रतिरोध आफूले धान्नसक्ने विश्वास किममा छैन । तर आफूलाई कम नआँक्न उनले सीमा क्षेत्रमा विभिन्न चरणमा तनाव निम्ताइरहेका छन्’, उनले भने ।

उत्तर कोरियाको विरोधी गठबन्धनका चुनावअघि सधैँ परीक्षण

किमको इतिहास हेर्ने हो भने उनले छिमेकीसहित शक्ति राष्ट्र चुनावमा जान लागेको समयमा हतियार परीक्षण गर्छन् । यसपटक दक्षिण कोरिया र अमेरिका दुबै देशमा चुनाव हुँदैछ । सन् २०१२ मा अमेरिका र दक्षिण कोरिया राष्ट्रपतीय निर्वाचनमा रहँदा पनि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो । सन् २०१३ मा दक्षिण कोरियामा नयाँ सरकार आएसँगै फेरि उसले नयाँ परमाणु हतियार परीक्षण गर्‍यो । सन् २०१६ मा अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेरि अर्को आणविक हतियार परीक्षण गरेको थियो ।

उत्तर कोरियाले अप्रिलमा नयाँ हतियार परीक्षण गर्नसक्ने सोलका विश्लेषक जेइ होङ् बताउँछन् । ‘अप्रिलमा दक्षिण कोरियामा चुनावअघि हतियार परीक्षण गर्दै उसले त्यहाँका मतदातालाई वर्तमान राष्ट्रपति युन सुक उलले युद्ध चाहेको र त्यहाँ परमाणु युद्ध हुनसक्ने त्रास मच्चाउन सक्छन्’, उनले भनेका छन् ।

जर्मनीका कुटनीतिज्ञ थोमस स्काफर आफूमाथिको प्रतिबन्ध खुकुलो बनाउन दबाब दिनका निम्ति उसले अमेरिकी चुनावको नतिजा आएपछि पनि हतियार परीक्षण गर्ने बताउँछन् । ‘कोरियाली प्रायद्वीपबाट अमेरिकी सेना फिर्ती र आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नका निम्ति उत्तर कोरियाली अमेरिकी चुनावी नतिजापछि हतियार परीक्षण गर्नेछ’, स्काफर भन्छन् ।

सन् २०११ मा सत्तामा आएसँगै किमले मुलुकलाई परमाणु हतियारको क्षमता बलियो बनाउन प्रतिवद्ध तरिकाले काम गरिरहेका छन् । परमाणु हतियारले आफूलाइ बलियो बनाएको अवस्थामा बार्गेनिङ शक्ति बढ्ने उनको विश्वास छ ।

वासिङ्टनलाई सहमतिमा ल्याउन सकेको अवस्थामा राष्ट्रसंघको प्रतिबन्ध हटाउन सकिने उसको विश्वास छ । आफूमाथिको प्रतिबन्ध हटाउनका निम्ति किमले प्रयाससमेत गरेका छन् ।

उनले सन् २०१८ र २०१९ मा ट्रम्पसँग वार्ता गरेका थिए । वार्ता असफल भएपछि अपमानित भएर उनी घर फर्किएका थिए । त्यसपछि नयाँ तरिकाले मुलुकलाई अघि बढाउने अठोट लिएका थिए ।

ट्रम्पसँगको वार्ता असफल भएसँगै उनले वासिंटनको आह्वानका बाबजुद वार्ता अस्वीकार गरिरहेका छन् । उत्तर कोरियाले अमेरिकासम्मै मार हान्न सक्ने अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र बनाएको विश्वास अमेरिकालाई छैन ।

दक्षिण कोरिया र जापान भने त्यसमा विश्वस्त छन् । कुटनीतिक मोर्चामा कीमले अमेरिकालाई वार्ताको हिस्सेदारका रुपमा हेरेका छैनन् । बरु उनले अमेरिकालाई नवीन शीतयुद्धको प्रवर्द्धकका रुपमा हेरेका छन् ।

किमले रुससँग सैन्य सम्बन्धलाई बलियो बनाएका छन् । त्यसको बदलामा रुसले प्रविधि र खाद्यान्नमा सहयोग गर्ने आश्वासन उत्तर कोरियालाई दिएको छ । दक्षिण कोरियाली विश्लेषक युह्वान भन्छन्-‘रुसले भरोसा दिलाएकै कारण उनी अमेरिका र उसका सहयोगी गठबन्धनसँग आक्रामक बनेका हुनसक्छन् ।’

चीनसँगको सम्झौताका कारणले पनि किम उक्साहटमा आएको हुनसक्छन् । सन् १९६१ मा दुई मुलुकबीच भएको सन्धिमा कसैले दुईमध्ये एक मुलुकमा हमला गरेमा अर्को सैन्य सहायता गर्ने उल्लेख छ । ‘कोरियाली प्रायद्वीपमा द्वन्द्व भएमा बेइजिङका लागि पनि टाउको दुखाइ हुनसक्छ । पूर्वी एशिया शान्त रहेकै कारण चीनको प्रगति भएको हो । उसले यस क्षेत्रमा द्वन्द्व चाहेको छैन’, विश्लेषक जोन डेलरीले भनेका छन् ।

चीनकै सहायता लिएर उत्तर कोरियामाथि अमेरिकाले लगाम लगाउँदै आएको थियो । यता, मस्कोसँग हात अघि बढाएर पोङयाङले बेइजिङमाथि दबाब बढाएको छ ।

‘महामारी अन्त्यपछि किमले पहिलो भ्रमण रुसमा गरे । उनले आफ्नो विदेशमन्त्रीलाई बेइजिङ पठाएका छैनन् बरु पटक-पटक मस्को पठाएका छन् । तनाव बढिरहेको समयमा किमलाई शान्त पार्न सी जिनपिङले पक्कै केही गर्नेछन्’, डेलरी भन्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?