+
+

निर्वाचन आयोगले सीडीओलाई सोध्यो : विराटनगरमा दलहरुको कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १७:२१

निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रियसभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ ।

आयोगले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेखी विराटनगरमा दलहरुले गरेको गतिविधि निर्वाचन आचारसंहिता विपरीत हो कि होइन २४ घण्टाभित्र लेखी पठाउन निर्देशन दिएको हो ।

‘यस सम्वन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन् ।

आयोगका अनुसार ११ मंसिरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ८ माघको राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले चुनाव प्रचार गर्न पाउने छैनन् ।
यस अवधिमा राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल अन्तर्क्रिया, सभा, सम्मेलन कार्यशाला गोष्ठी गर्न नपाइने व्यवस्था रहेको निर्वाचन आयोगको भनाइ छ ।

तर बुधबार सत्तारुढ गठबन्धन र एमाले-राप्रपा गठबन्धनले अन्तर्क्रिया कार्यक्रम गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् । आयोगले उक्त कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन भनेर सोधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?