+
+

मोरङमा कसरी आइपुग्यो हिउँ चितुवा ?

विश्वनाथ रिजाल विश्वनाथ रिजाल
२०८० माघ ११ गते १२:२९

समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो । हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ ।

बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाएको छ ।

हिमालमा पाइने हिउँचितुवा तराईमा कसरी आयो ? भन्ने कौतुहलता छ । कतिपयले हिउँ चितुवा मोरङसम्म आउन सम्भव नै नभएको बताएका छन् भने कतिपयले कसैले हिउँ चितुवालाई बच्चैमा ल्याएर पालेको हुनसक्ने अनुमान गरेका छन् ।

कतिपयले चोरी सिकारीबाट फुत्केको वा दार्जिलिङतिरको चिडियाखानाबाट भागेर पो आयो कि भनेर ठट्टा समेत गरेको पाइएको छ । जे भए पनि हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा चुरे क्षेत्रको यति तल देखिनु दुर्लभ हो ।

संयोगले यो स्तम्भकारलाई हिउँचितुवा उद्धारस्थलमा पुग्ने र नजिकबाट त्यसलाई अवलोकन गर्दै वास्तविकता बुझ्ने अवसर मिलेको थियो । सामाजिक सन्जालमा हिउँ चितुवा हो कि होइन भन्ने बहस चलिरहँदा मैले त्यसको फोटो खिचेर प्राध्यापक करन शाहलाई पठाएको थिएँ । उहाँले त्यो हिउँचितुवा नै भएको ठहर गर्नुभयो । उहाँले यो वयस्क हिउँ चितुवा नै भएको र ४० किलोग्राम तौलको हुन सक्ने बताउनु भयो ।

तर त्यसको पुच्छर लामो नभएको, शरीरका रौँ पनि विकसित नभएको र मैलो देखिएको कारण हिउँ चितुवा बच्चैमा कसैले समातेर पालेको हुन सक्ने अनुमान गरियो ।

हिउँ चितुवाको पुच्छर उसको शरीर जत्तिकै लामो हुन्छ । तर उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पुच्छर त्यति लामो छैन । बीचमा भाँचिएको जस्तो पनि देखिन्छ । त्यसैले कतिपय संरक्षणकर्मीलाई हिउँ चितुवा नै हो भनेर ठोकुवा गर्न गाह्रो परेको थियो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेलुका ५ बजेसम्म पनि हिउँ चितुवा भनेर ठोकुवा गरेको थिएन । मोरङ जिल्ला वन कार्यालयका प्रमुखसँग संवाद हुँदै गर्दा प्राध्यापक करन शाहको ठोकुवालाई नै मान्य हुने गरी हिउँ चितुवा फेला परेको आधिकारिक खबर सार्वजनिक भयो ।

हिउँ चितुवाले विचरण गर्ने औसत उचाइ चार हजार मिटरभन्दा माथि हो । हालसम्म नेपालमा हिउँ चितुवा दुई हजार ५०० मिटरसम्म मात्र ओर्लिएको पुष्टि भएको थियो । उच्च हिमाली क्षेत्रमा रहने प्राणी तराईसम्म कसरी आइपुग्यो भनेर सरोकारवालाबीच बहस जारी छ । आफैं आइपुग्यो या कसैले ल्यायो भन्ने कुरा थप अध्ययनबाट खुल्ला ।

कतिपयले तराईमा हिउँ चितुवा आउनुमा जलवायु परिवर्तनको कारण हुन सक्ने अनुमान गरेका छन् । यो अनुमानलाई नजर अन्दाज गर्न पनि मिल्दैन । किनकि बितेका वर्षमा मंसिर महिनामा नै हिमपात हुने पूर्वका उच्च हिमालहरु माघ लागिसक्दा पनि पर्याप्त हिउँ परेको छैन ।

माघ महिनाको मध्यतिर आइपुग्दा अकस्मात् कोशी प्रदेशका इलाम, ताप्लेजुङ्ग, पाँचथर र तेह्रथुम जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा हिमपात बढिरहेको र तराईमा हुस्सुका कारण चिसो तापक्रमको अनुभूतिसँगै उक्त हिउँचितुवा चुरेको तल झुक्किएर नझर्ला भन्न सकिने अवस्था छैन ।

मानवीय गतिविधिका कारण बासस्थान बिथोलिएको हुनसक्ने र हिउँदयाम न्यानो हुँदै गएकाले परिवर्तित मौसममा अनुकूलन हुँदै आहारा खोज्दै तराई झरेको हुनसक्ने अनुमान बलियो छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र हिउँ चितुवाको बासस्थान हो । त्यहाँ आमाबाट छुटि्टएर बक्राहा खोलाको बाटो हुँदै वस्तीसम्म आइपुगेको अनुमान गर्न पनि सकिन्छ ।

अध्ययनले हिउँ चितुवाहरू एकै रातमा ४० किलोमिटर भन्दा बढी यात्रा गर्न सक्ने पाइएको छ । त्यसैले मौसममा आएको परिवर्तनसँगै २-३ दिन लगाएर हिमालतिरबाट कम्तिमा ११५ किलोमिटर दुरी पार गर्दै हिउँ चितुवा चुरेको फेदी तिर नझर्ला भन्न सकिन्न ।

बाँसघारी भित्रबाट उद्धार गरिएको हिउँ चितुवा अहिले ललितपुरको चिडियाखानामा राखिएको छ । उद्धार गर्ने बेला त्यसको खुट्टामा चोट लागेको देखिएको थियो । त्यसैले त्यसलाई उपचार गर्ने र तापक्रम अनुकूल बनाएर निगरानीमा राख्ने काम गरिएको छ । आशा छ, हिमालमा पाइने हिउँ चितुवा तराईमा भेटिनुको कारण छिट्टै सार्वजनिक हुने छ ।

(रिजाल अमृत साइन्स क्याम्पसको प्राणी शास्त्रको लेक्चरर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?