+
+

गृहमन्त्रीलाई पछ्याउँदै गएका सहकारी पीडितले भने : हामीलाई लुट्ने कहाँ छन् ?

अमृत सुवेदी अमृत सुवेदी
२०८० माघ ११ गते २२:३७

११ माघ, पोखरा । राष्ट्रिय सभाको निर्वाचनका क्रममा बुधबार पोखरा आइपुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर न्याय माग्नेसूर्यदर्शन सहकारी पीडितहरुको योजना थियो । तर गृहमन्त्री र पीडितको लुकामारी जस्तै चल्यो ।

उपप्रधानमन्त्री श्रेष्ठलाई पछ्याइरहेका सहकारी पीडित भेट्ने समय नदिए काठमाडौं फर्किने क्रममै पोखरा विमानस्थलको गेटमा बाटो छेक्ने योजनामा थिए ।

गितेन्द्र (जीवी) राई समूहले झण्डै डेढ अर्ब रुपैयाँ फिर्ता नदिएपछि डेढ वर्षदेखि आन्दोलनरत पीडितहरुले गृहमन्त्री नै पोखरा आउने भएपछि ब्यानरसहित भेट्ने योजना बनाए । निर्वाचन कार्यालय गण्डकीतिर गृहमन्त्री भेट्न गए ।

तर गृहमन्त्री श्रेष्ठले उम्मेदवार र मतदातालाई भेटेर निस्कने र सहकारी पीडित पुग्ने एकैपटक जस्तो भयो । गृहमन्त्री निस्किसकेको जानकारी पाएपछि पीडितले विरोधको व्यानर देखाए । संघीय सांसद, प्रदेशका मन्त्री लगायतलाई बाटो छेकेर न्याय दिलाइदिन आग्रह गरे । वास्ता नगरी जान थालेपछि नाराबाजी गरे ।

एउटा समूहले भने पर्यटन बसपार्कनजिकै प्रदर्शन गरिरहँदा पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ लगायतको टोली गृहमन्त्रीलाई पछ्याउँदै हिँडेको थियो । गृहमन्त्री श्रेष्ठ भने पन्छिन खोजिरहेका थिए । तर पीडितले पछ्याइरहेको र नभेट्ने हो भने आलोचना हुनसक्ने भएपछि माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले गृहमन्त्रीलाई भेट्ने चाँजो मिलाए ।

गृहमन्त्री श्रेष्ठ पोखरा वुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा माओवादी प्रदेश कमिटीसँग पार्टीको अभियानसँग सम्बन्धित रिपोर्टिङ लिइरहेका थिए । गृहमन्त्रीले भेट्ने समय दिएपछि सहकारी पीडित बुद्धचोक पुगे, न्यायको लागि विलाप गरे ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण र ७९ वर्षीय भीमप्रसाद चपाईँले समस्या राखे । काठमाडौंसम्मै आएर श्रेष्ठलाई भेटेर समस्या राख्ने योजना भएपनि पैसा नभएकै कारण पोखरामा भेट्न खोजेको अध्यक्ष किरणले सुनाए । मकै पोलेर, चना चटपटे बेचेर, छोराछोरीको खाजा कटौती गरेर जम्मा गरेको बचत सहकारीले फिर्ता नदिँदा धेरै जना विरामी परेको उनले सुनाए ।

‘हामीलाई ठगेर जाने कहाँ छन् भनेर धाएकै डेढ वर्ष भइसक्यो । पीरै पीरले मर्दा पजि किरिया गर्न पनि पैसा छैन । अस्ती वीरबहादुर तामाङ मर्दा पनि किरिया गर्ने पैसा नभएर हामीले सय/पचास उठाएर काजकिरिया गर्‍यौं । हामी साह्रै पीडामा छौं,’ संयोजक किरणले भने ।

अर्का पीडित भीमप्रसादले आफू लुटिँदा पनि राज्यबाट न्याय नभएको भन्दै गृहमन्त्रीसँग याचना गरे । ‘१७/१८ हजार जनता लुटिएका छौं । भरे चुलो बाल्ने उपाय छैन, औषधिउपचार गर्ने उपाय छैन । मेरै श्रीमातीलाई नसाको विमारी छ, भित्रबाट बाहिर निस्कन सक्दिन । जाँच गर्न लैजाम भने पनि औषधीका लागि पैसा छैन,’ उनले गृहमन्त्री बिन्ति बिसाए, ‘हामीले न्याय पाउनुपर्‍यो, त्यो जीबी राई भन्नेलाई जसरी पनि जहाँबाट हुन्छ पक्रेर ल्याउनुपर्‍यो ।’

छोराहरुसँग छुट्टाभिन्न भएपछि बुढ्यौलीमा ब्याज खाउँला भनेर जग्गा बेचेर कृषि बैंकमा राखेको रकम सहकारीका मान्छेले प्रलोभन देखाएर लगेको उनले बताए । ‘तलाईं घरमै व्याज ल्याइदिन्छन्, बुढाबुढीको हामी हेरचाह गथर्छौं भनेर फकाए’ चपाईंले अघि भने, ‘हामी लुटियौं, लुट्ने कहाँ छन् ?’

राजनीतिक आवरण र संरक्षणमा आफूहरु लुटिएको र राज्य छ भने न्याय पाउनुपर्ने पीडितहरुको आवाज थियो । ‘तपाईं गृहमन्त्री भएकाले हाम्रो अभिभावक तपाईं हो,’ उनले भने, ‘राज्य छ भने न्याय दिलाइदिनुपर्‍यो हजुर ।’

तपाईंहरुको बेहाल हेर्न सक्ने स्थिति छैन : श्रेष्ठ

पीडितको अनुनय सुनेपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सूर्यदर्शन लगायत सहकारीको समस्याप्रति सरकार गम्भीर रहेको बताए । गृहमन्त्री श्रेष्ठले पीडितहरुको बेहाल हेरेर नबस्ने बताए । ‘तपाईंहरुको हितको रक्षा गर्न सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सरकार दृढ संकप छ’ श्रेष्ठले भने, ‘सहकारीका सन्दर्भमा अझै प्रभावकारी कदम केही चाल्न सकिन्छ कि भनेर केन्द्रमा केही निर्णय पनि गरेका छौं । प्रहरी प्रशासनलाई निर्देशन पनि जारी गरेका छौं ।’

सहकारीका समस्या समाधान गर्न सरकारले ५ वटा निर्णय गरेको गृहमन्त्री श्रेष्ठले सुनाए । ‘सहकारीका नाममा यी सहकारी नै होइनन् । यी चाहिँ ठूला ठूलो लोभ देखाएर लुट्ने अर्को मीटरब्याजी बैंक जस्तो हुन्,’ श्रेष्ठले पहिलो निर्णयबारे भने, ‘सहकारीको मूल अवधारणाबाट हामी विचलित भयौं । अनुगमन पनि भएन । अब आइन्दा ऐन नै संशोधन गर्नुपर्छ भनेर भनेका छौं ।’

सहकारीको राम्रोसँग नियमन हुन नसक्दा यो अवस्था आएको भन्दै श्रेष्ठले गठनादेशद्वारा नियामक निकाय गठन गर्न लागेको बताए । ८० प्रतिशत सहकारी स्थानीय, त्यसपछि प्रदेश र केहीमात्रै संघको हुँदा पनि विभागले नियमन गर्न नसकेको उनको भनाइ थियो । ‘नियमन गर्ने निकायको भूमिका राम्रोसँग नभएका कारण पनि समस्या, मेनपावरका कारण पनि समस्या । त्यसैले तुरुन्तै गठनादेशद्वारा नियामक निकाय गठन गर्दैछौं यही महिनाभित्र’ श्रेष्ठले भने ।

तेस्रो चाहिँ सबै सहकारी पनि संलग्न गराएर बचत तथा कर्जा सुरक्षण कोष भनेर सरकारले घोषणा गर्न लागेको श्रेष्ठले बताए । पछाडि यस्तो कसैलाई आपतविपत नपरोस् भनेर यस्तो कोष घोषणा गर्न लागिएको उनको भनाइ थियो ।

चौथो, समस्याग्रस्त सहकारी हेर्ने छुट्टै युनिट बनाउने तयारी रहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘एउटा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति भनेर छ, त्यो समितिले काम गर्दै जाँदा अहिले समस्या आइराखेका छन् । अहिलेकै जनशक्तिले हेर्ने हो भने ५/१० वर्ष लाग्ने देखियो,’ श्रेष्ठले भने, ‘त्यहाँ मेनपावर थपेर हरेक समस्याग्रस्त सहकारीका लागि एउटा युनिट बनाइदिने । त्यसले फाइनल गरोस् । यो सबै गरिसकेपछि समस्याग्रस्त घोषणा गरोस् ।’

समस्याग्रस्त सहकारीको चलअचल सम्पत्ति कहाँ कहाँ छन् सबै निकालेर बेचबिखन गर्ने र बचतकर्तालाई समानुपातिक हिसाबले त्यो कोषबाट पनि वितरण गरिदिने गरी योजना बनाएको उनले बताए । औपचारिक मात्रै होइन, लुकाएर राखेको पनि कहाँ कहाँ छ अनुसन्धान गर्ने समेत गृहमन्त्रीले बताए ।

पाँचौ, सहकारी विभागमा आएका उजुरीहरु प्रारम्भिक अनुसन्धान गरेर प्रहरी प्रशासनमा पठाइने उनले बताए । ‘सीआईबीलाई पठाउनुपर्छ भने पठाइहाल्ने र हामीले चाहिँ कारबाहीको प्रक्रिया बढाउने भनेर निर्णग गरेका छौं,’ श्रेष्ठले पीडितलाई बताए ।

सूर्यदर्शनको सन्दर्भमा केही पक्राउ परिसकेको र बाँकीलाई पनि पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ताकेता गरिरहेको उनले बताए । जीबी राई लगायतलाई पक्राउ गर्न अन्तराष्ट्रिय नोटिस जारी गर्न लागेको बताउँदै गृहमन्त्री श्रेष्ठले मूल मान्छे पक्राउ परेपछि धेरै कुरा खुल्ने उल्लेख गरे ।

कम्तीमा रविसँग त सम्पर्क हुनसक्छ !

सहकारी पीडितहरुले पोखराको सूर्यदर्शन सहकारीबाट पनि ग्यालेक्सी टिभी खोल्न गोर्खा मिडिया प्रालिका नामबाट पैसा गएको गृहमन्त्री श्रेष्ठलाई सुनाए । पोखराको सूर्यदर्शनबाट ग्लालेक्सीमा लगानी गर्न ३० करोड रुपैयाँको तमसुक बनाएर आफूहरुलाई दिएको पनि संयोजक श्रेष्ठले बताए ।

‘हुँदै नभएको भए हामीलाई ३० करोडको तमसुक बनाएर कसले दिन्थ्यो र ?,’ संयोजक किरणले भने, ‘उहाँ एमडी हुँदै गर्दा गोर्खा मिडिया प्रालिमा यहाँबाट गएको रहेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जो कुनै समय ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक थिए, पोखरा आउँदा आफूले भेटेर ज्ञापनपत्र पनि बुझाएका थिए ।

उनीहरुले रविको अहिले पनि जीबी राईसँग सम्पर्क हुसक्ने आशंका गरे । ‘कसैसँग सम्पर्क नभए पनि जीवीसँग रविको त छ कि भन्ने हामीलाई आशंका छ । कुनै समयमा करोडौंको कारोबार गर्नुभएको हो उहाँहरुले । उहाँको बारे पनि केही सोचिदिनुपर्‍यो’ किरणले भने ।

गृहमन्त्री श्रेष्ठले अहिले अनुसन्धानकै क्रममा रहेको र दोषी कोही पनि नछुट्ने बताए । ‘अनुसन्धान निश्कर्षमा नपुग्दासम्म केही भन्ने कुरा पनि भएन । नीतिगत हिसाबले दोषी कोही पनि छुट्दैन, निर्दोष कसैलाई पनि फसाइँदैन,’ गृहमन्त्री श्रेष्ठले भने ।

जीबी राई समूहले नेटवर्किङ कम्पनीदेखि मिडियामा लगानी गरेको पाइएको छ । नेचर हब्स इन्टरनेसनल, नेचर नेष्ट, स्प्रिङउड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनीजस्ता सहायक कम्पनीमार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ । सहकारीको बचत रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा जीवी राईसहित १५ जना अझै फरार छन् ।

जीवीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेका थिए । सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङलाई पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । जिल्ला अदातलमा दर्ता भएको मुद्धामा१ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?