+
+
व्यङ्ग्य :

अपरम्पार निराशावतार !

निराशावतारमा अधिकार र जिम्मेवारी एउटै सिक्काको दुई पाटा भएको देख्न सकिंदैन। यसमा प्रकट भइसकेपछि सबैजना सर्वत्र अधिकारको खोजी गर्छन्, जिम्मेवारीको खोजी हुँदैन। त्यसैले यसलाई ‘अधिकारावतार’ पनि भन्न सकिन्छ।

सागर तिवारी सागर तिवारी
२०८० माघ १३ गते १२:५९

हिन्दु धर्मशास्त्रहरूका अनुसार ब्रह्माजीले ब्रह्माण्ड र यसमा रहेका सम्पूर्ण जीवनको रचना गर्नुभएको हो। संसारका अन्य धर्मशास्त्र वा सभ्यताहरूमा पनि आ-आफ्ना मान्यताका दैविक शक्तिहरूले जगतको रचना गरेको विश्वास गरिन्छ।

वैज्ञानिकहरूले भने ब्रह्माण्डको उत्पत्तिको बारेमा अनेक सिद्धान्त प्रतिपादन गरेका छन्, जसमध्ये करिब १३.७ वर्ष पहिले एउटा भयानक विस्फोटबाट समय र पदार्थको सिर्जना भएको व्याख्या गरिने महाधमाकाको सिद्धान्त (बिग ब्याङ थ्यौरी) लाई अधिकतम विश्वासिलो मान्ने गरिन्छ।

हाल स्कटल्याण्डको इडिनबर्ग विश्वविद्यालय, सैद्धान्तिक भौतिकशास्त्र विभागमा कार्यरत वैज्ञानिक निल टुरकले विगतमा पेरिमिटर इन्स्टिच्यूटसँग आबद्ध हुँदाको बखतदेखि नै सबैथोकको सरलता (सिम्प्लिसिटी अफ इभ्रिथिङ) सिद्धान्तबारे उल्लेख गर्ने गरेका छन्।

उनका अनुसार भौतिकशास्त्रीहरूले व्याख्या गर्दै आएको ब्रह्माण्डको उत्पत्ति र विकासक्रमलाई पनि पुनःपरिभाषित गरिनुपर्ने आवश्यकता रहेको छ।

महाविस्फोटपश्चात्, प्रारब्धदेखि हामीले अनुभव वा अवलोकन गर्नेभन्दा विपरीत दिशाको अन्तरिक्ष र समयमा, समरुपी ऋणात्मक ब्रह्माण्ड पनि बिस्तार हुँदै गरेको र कुल ऊर्जा, पदार्थ र समयलाई एकैसाथ योग गर्दा योगफल शून्य हुने मान्यताले पनि प्रसिद्धि कमाउदै छ। केन हुज्सले व्याख्या गर्ने गरेको बाईनरी ब्रह्माण्डको सिद्धान्तले पनि हरेक अणुमा धनात्मक र ऋणात्मक तत्व भए जस्तै ब्रह्माण्डमा भएका सबै ऊर्जा र पदार्थको पनि ठिक विपरीत अवयवहरू अस्तित्वमा रहने अवधारणा प्रस्तुत गरेको छ।

ब्रह्माण्डीय विज्ञानका उपरोक्त अवधारणाहरू हाम्रा दैनिकीहरूमा पनि लागू भैरहेको अनुभव गर्न सकिन्छ। त्यसैले ऊर्जै-ऊर्जाले भरिपूर्ण संसारमा अन्धकारै अन्धकारयुक्त चिन्तनहरू पनि उत्तिकै मौलाएका छन्। आधुनिक विज्ञानले हामीलाई चमत्कार लाग्नेभन्दा पनि बढी परिणामहरू प्रदान गरिरहेको, मानिसहरूको गहनतम ज्ञान र चेतनाको स्तर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सन्दर्भमा अन्धविश्वास र नकारात्मकताहरू पनि उही रूपमा चुलिएका छन्।

संसारमा उत्पादन भएको कुल खाद्यान्नको करिब एक तिहाइ खेर गइरहेको अहिलेको अवस्थामा हरेक १० जनामध्ये एकजना भोकै रहने गरेको तितो यथार्थ हाम्रोसामु छ। हरेक दिन करिब पौने तीन अर्ब डलर मूल्यको खाद्यान्न खेर गइरहँदा करिब १० हजार बालबालिका सहित २५ हजार मानिसहरू भोकमरीकै कारण ज्यान गुमाउन बाध्य छन्।

यस्ता कहालीलाग्दा समस्याहरू उच्चारण गर्न हिच्किचाउने कतिपय कथित बौद्धिकले भने तथ्यहरूसँगै मित्थाहरू मिसाउँदै द्रव्यमोहमा बरालिन मन पराउने गरेका छन्। झुट, सफेद झुट र तथ्यांक भने झैं, तथ्यांकहरूको अपव्याख्या गरेर भ्रमको खेती गर्नेहरूको कमि छैन।

एकातिर करिब १५ डिग्री सेल्सियस औसत तापमान रहेको पृथ्वीको सतहको तापक्रममा २ डिग्री परिवर्तन हुँदा समग्र मानव सभ्यता संकटमा पर्ने भविष्यवाणीहरू सुनिने गरेको छ भने अर्कातिर शून्यभन्दा ६० डिग्री सेल्सियस तल औसत तापक्रम रहेको मंगल ग्रहलाई टेराफर्म गरेर मानव सभ्यताको सुरुवात गर्ने सपना सुनिने गरेको छ।

जसो-जसो पुरेत बाजे उसै-उसै स्वाहा भने झैं, अथवा लेखनाथ पौड्यालको कवितामा ‘बडाले जे गर्यो त्यो हुन्छ सर्वसम्मत’ भने झैं आधुनिक संचारका माध्यमहरूमा ठूलाबडाहरूले सत्य होस् वा मिथ्य, बेपर्वाह सम्प्रेषण गर्ने गरेका छन् र तिनका आकाश-जमिन फरक पर्ने कुरा पनि आम मानिसले भने पत्याइदिनुपर्ने स्थिति छ।

यसरी सत्यका अनेक पाटाहरू बाहिरिंदा मानिसहरू विलखबन्दमा परेका छन्। सर आईज्याक न्यूटनले स्याउको दाना खसेको देखेर प्रतिपादन गरिएको भनिने गुरुत्वाकर्षणको नियम करिब अढाइ शताब्दीपश्चात् अल्बर्ट आइन्स्टाइनको समय-अन्तरिक्षको बक्ररेखा (टाइम-स्पेस कर्भेचर) को सिद्धान्तले पुनःपरिभाषित गरिदिएको छ।

भारतीयहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतारेको समाचार सेलाउन नपाउँदै चिनियाँहरूले उक्त दावी झुटो भनेका छन्। अमेरिकीहरूले पाँच दशक अघि चन्द्रमामा मानिस उतारेको दावीलाई झुट भन्ने मानिसहरूको कमि छैन। यसरी वैज्ञानिक तथ्यहरूका अनेक रूप वा अवतारहरू देखा पर्ने गरेका छन्।

त्यसो त हाम्रा पौराणिक साहित्यहरूमा भगवान् विष्णुले विभिन्न २४ अवतारहरूमा प्रकट हुनेबारे वर्णन गरिएको छ- मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध आदि। एउटै अवतार मानिने भगवान् कृष्णलाई पनि माधव, गोविन्द, कन्हैया लगायत दर्जनौं नाम वा रूपहरूले चिनिने गरेको छ।

भगवान् शिवलाई पनि शंकर, महादेव, रुद्रदेव, पशुपति, कालभैरव, नटराज, भोलेनाथ, महेश्वर लगायत भिन्न-भिन्न अवतार वा स्वरूपहरूमा चिनिन्छ।

ब्रह्मा स्वयंका चारवटा टाउका रहेका छन्। ग्रन्थका खलपात्र रावणका पनि दशवटा टाउका रहेका थिए। तर मानव जातिमा रहेका बहुरूप, बहुअवतारहरूका बारेमा भने शास्त्रहरूले न्याय गर्न चुकेको देखिन्छ।

आधुनिकताको नाममा आफूलाई दैवीशक्ति भन्दा कमजोर नठान्ने, आध्यात्मिक सिद्धान्तहरूलाई अन्धविश्वासको खोल ओढाइदिने, विज्ञानको नाममा भ्रमको खेती गरिए पनि त्यसलाई नै अन्तिम सत्य भन्ठान्ने, महामनुस्यहरूको वर्णन नगरिनु उहाँहरूको घोर अपमान हो।

अध्यात्म र अन्धविश्वासलाई एउटै टोकरीमा राख्ने, संसारका महानतम मिथ्याहरूलाई पनि ‘विज्ञान’ को जलप लगाइदिएपछि अन्तिम सत्य ठान्ने, अरुको आस्थालाई खिसिटिउरी गर्ने र आफूलाई देवत्वकरण गर्ने आत्मकेन्द्रित बहुलट्ठकहरूको निराशापनको उत्कर्ष अवतार ‘निराशावतार’को महिमागान अहिलेको टड्कारो आवश्यकता हो।

निराशावतार कुनै व्यक्ति विशेषसँग सीमित छैन। यो त जुनसुकै व्यक्तिहरूमा पनि प्रवृत्तिको रूपमा प्रकट हुने क्षमता राख्छ। अरुलाई हिलो छ्याप्ने अनि आफू पनि अरु जस्तै भएको देखाउने ढोंगी प्रवृत्ति यसको विशेषता रहेकोले यसलाई ढोंगीवतार पनि भन्न सकिन्छ।

निराशावतार आफैंमा विराट अवतार भएकोले यो कुनै एउटा भूगोल, संस्कृति, भाषा, धर्म वा समुदायमा मात्र सीमित छैन। निराशावतार त आफैंमा अपरम्पार छ।

बीसौं वर्षदेखि विश्व राजनीतिको अगुवाइ गर्ने बुश, बिल, बराक, बाइडेन जस्ता अमेरिकी सत्ताका प्रमुख पात्रहरूले विश्वभर बमबारी गर्ने अनि संचारमाध्यमहरूले उनीहरूकै स्तुतिगान गरिरहनुले पनि निराशावतारलाई थप विराट बनाउन मद्दत गरेको छ। नेटो विस्तारले आफ्नो अस्तित्व संकटमा पर्ने निराशाले रूसले युक्रेनमा आक्रमण गरेको छ।

प्यालेस्टिनी लडाकु समूह र इजरायलबीच पटक-पटक दोहोरिने आक्रमण र प्रत्याक्रमणको चक्र पनि यही अवतारको एउटा स्वरूप हो। यसरी मानिसहरूले अन्य मानिसहरूलाई आफ्नो जानी-दुस्मन ठान्ने स्थितिको सिर्जना हुनु निराशावतारको प्राकृतिक गुण हो।

विश्व तापमान अभूतपूर्व वृद्धि भएको यथार्थ अस्वीकार गर्नेदेखि तिललाई पहाड बनाएर अहिलेको जलवायु परिवर्तनले एकदशकभित्रै मानव अस्तित्व संकटमा पार्ने भ्रमको खेती गर्ने ‘भ्रमाचारी’हरू सबैले आ-आफ्नो स्थानबाट निराशावतारको लागि आवश्यक मलजल प्रदान गर्ने गरेका छन्। विश्व समुदायले नै शिरोधार्य गरेको निराशावतारले नेपालबाट आफूलाई अछुतो राख्ने प्रश्नै रहेन।

सत्ता, शक्तिमोहमा कोत पर्वदेखि दरबार हत्याकाण्डसम्मका घटनाहरू निम्तिनुमा पनि अप्राप्तिले अतासिएर प्रस्फुटन भएको निराशावतारको एउटा स्वरूप हो। यो कहिले सुषुप्त अवस्थामा रहन्छ त कहिले छरपष्ट देखा पर्छ। आफूलाई सुर, सुरा, सुविधा र सुरक्षा भएपछि ‘आफू भलो त जगत भलो’ भन्दै आम मानिसहरूले दूध-भात खाई बसेको भन्ठान्ने शासकहरूको दोषी चस्मा यो अवतारको मूल कारकमध्ये एक हो।

मुसा दौडमा लागेका कथित शासकहरूले नागरिकका समस्याहरू चटक्क बिर्सेर नेपालको कुभलो चिताउने विदेशीहरूसँग पनि हातेमालो गर्न पछि नपर्ने चरित्रले नेपाली राजनीतिमा अस्थिरताको बाढी ल्याइदिएको छ। र यसो हुनुमा पनि शासकहरूभित्र लुकेको निराशावतारको भूमिका छ।

‘कागले कान लग्यो’ भनेर हल्ला गर्ने दुष्टहरू र आफ्ना कानै नछामी काग लगार्न दौडने विवेकविहीन कथित बौद्धिकवर्गले निराशावतारलाई हुर्काउने मद्दत गरिरहेका छन्। शासकहरूको आत्मविश्वास भासिएको छ, कुरौटेहरूले तथ्य र मिथ्यलाई एकैसाथ मिसाएर विवेकविहीन बौद्धिकहरूलाई निराशावतारको बुटी पिलाइरहेका छन्, निराशावतार दुवोसरी फैलिएको छ, अनि घरघरमा निराशावतारले जरा गाडेको छ।

निराशावतार कुनै व्यक्ति विशेषसँग सीमित छैन। यो त जुनसुकै व्यक्तिहरूमा पनि प्रवृत्तिको रूपमा प्रकट हुने क्षमता राख्छ। अरुलाई हिलो छ्याप्ने अनि आफू पनि अरु जस्तै भएको देखाउने ढोंगी प्रवृत्ति यसको विशेषता रहेकोले यसलाई ढोंगीवतार पनि भन्न सकिन्छ। आफूले दुनियाँलाई ठग्दै हिंड्ने अनि ठगहरूले देश र समाज बिगारे भनेर गुनासो गर्ने यस अवतारको एउटा प्राकृतिक गुण हो। रेबिज रोगले ग्रसित कुकुर पानीमा डुबुल्की मार्न सक्ला, रतन्धोले ग्रसित मानिसले रातिमा आँखा देख्ला, तर यो अवतारमा प्रकट भइसकेपछि आफ्ना अवगुण र अरुका गुण देख्न सकिंदैन। यो अवतारमा आफूले गुमाउँदा खिन्न भइन्छ, छिमेकीले गुमाउँदा दंग परिन्छ।

निराशावतारमा अधिकार र जिम्मेवारी एउटै सिक्काको दुई पाटा भएको देख्न सकिंदैन। यसमा प्रकट भइसकेपछि सबै जना सर्वत्र अधिकारको खोजी गर्छन्, जिम्मेवारीको खोजी हुँदैन। त्यसैले यसलाई ‘अधिकारावतार’ पनि भन्न सकिन्छ। पाकेको फल खाने अधिकार देखिने तर फलवृक्ष रोप्ने वा गोडमेल गर्ने जिम्मेवारी नदेखिने, भान्सामा पाकेको मिठो-मिठो खान पाउने अधिकार देखिने तर उत्पादन गर्ने वा पकाउने काम नदेखिने जस्ता विशेषताहरू पनि अधिकारावतारकै स्वरूप हुन्।

राज्यले रोगीको नि:शुल्क उपचार गराउनुपर्ने अधिकार देखिने तर आफ्नो स्वास्थ्यको आफैं ख्याल गर्नुपर्ने आफैंप्रतिको जिम्मेवारी नदेखिने, आफ्ना बालबालिकालाई उचित शिक्षाको व्यवस्था गर्ने अभिभावकीय जिम्मेवारी नदेखिने सबैले नि:शुल्क अध्ययनको अवसर पाउनुपर्ने अधिकार देखिने, दिन नजान्ने लिन मात्रै तम्सिने, योगदान गर्दा दाँतबाट पसिना झर्ने सित्तैंमा पाउँदा हड्डी हाँस्ने जस्ता गुणहरू पनि यसकै अन्य रूपहरू हुन्।

यो अवतारमा शिक्षा लिन समय हुन्न तर सिकाउन हतार हुन्छ, अरुसँग सहमत हुन सकिन्न आफूसँग सबै सहमत हुनुपर्ने अडान छाडिन्न, प्रक्रियामा सामेल हुन समय हुन्न तर सबैभन्दा पहिला आफैंलाई परिणाम चाहिन्छ।

निराशावतारीले संसारका सबै अवगुणका लागि आफूबाहेक अरु नै दोषी रहेको स्पष्ट बुझेका हुन्छन्। आफू स्ययं अपराधी बन्नुमा पनि समय, परिवेश वा संगतिको दोष हुन्छ। यो अवतारमा विरामीले डाक्टरको दोष देख्छन् अनि न अन डाक्टरले बिरामीको, जनताले नेताको दोष देख्छन् अनि नेताले अर्का नेताको, शिक्षकले विद्यार्थीको कमजोरी देख्छन् विद्यार्थीले शिक्षकको, सेवादाताले सेवाग्राहीको दोष देख्छन् सेवाग्राहीले सेवादाताको।

आफू निर्दोष र अरु दोषी सावित गर्न आत्मदाह गर्न पछि नपर्ने तर आफ्नो जिम्मेवारी नदेख्ने यो अवतारको एउटा उत्कर्ष स्वरूप हो।

आफ्नो न्यूनतम जिम्मेवारी पनि पूरा नगर्ने, छिमेकीको वाईफाई प्रयोग गरेर सामाजिक संजालमा कोकोहोलो गरेर समय बर्बाद गर्नेहरूको भीड पनि यसैको एउटा स्वरूप हो। बिहान १० बजेसम्म ओछ्यानमै लडेर चिप्रा कोट्याउँदै अरुलाई सत्तोसराप गर्ने र निराशावतारलाई थप मलजल गर्ने प्रवृत्ति पनि यसकै स्वरूप भएकाले यसलाई ‘चिप्रावतार’ पनि भन्न सकिन्छ।

आफूले आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै देश बाहिरका अवसरहरूको सदुपयोग गर्ने अनि अरुका सन्तान लर्को लागेर विदेशिए भनेर सामाजिक सञ्जालमा गुनासो पोख्ने, अरुलाई दुष्टहरूको गोटी भएको देख्ने तर आफैं ती दुष्टहरूको दुश्चक्रमा फसेर आफ्नै घर भताभुंग भएको थाहा नपाउने, अरुले देश व्यवस्थित गर्न सकेनन् भनेर रोइलो गर्ने तर आफ्नै जीवन अस्तव्यस्त पार्ने निराशै-निराशाले भरिपूर्ण यस्तो अवतार प्रकट हुनुमा कुनै व्यक्ति स्वयं भने जिम्मेवार होइनन्। यो त केवल समयचक्रको खेल हो।

आफूले थोपा जिम्मेवारी नलिने र अरुलाई दोष मात्रै दिने यस अवतारमा जिम्मेवारी लिने कार्य गर्नु पनि त अवतारप्रति न्याय भएन। आफूले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्ने हो भने त न अरुको कार्यको लागि निराशै बन्नुपर्ने स्थिति हुन्छ न अरुको कुरा काटेर बस्ने फुर्सद हुन्छ। यसो भयो भने त निराशावतारप्रति व्यापक अन्याय हुन्छ।

भनाइ छ, ‘होप ईज त लाष्ट थिङ वी गिभ अप’ अर्थात् ‘सास रहेसम्म आश बाँकी रहन्छ’। तर निराशावतारमा प्रकट भइसकेपछि भने अवसर नै अवसर बीचमा पनि निराश बन्नु नै प्रकृतिसंगत हो।

त्यसैले चिप्रा कोट्याउने जाँगर भएनि-नभए पनि आफ्नो मूल अवतार अनुसारको मिसन – निराशावादको मलजल गर्नु निराशावतारमा प्रकट हुनेहरूको दिनचर्या हो। दिन-रात, औंसी-पूर्णिमा, सर्दी-गर्मी, आरोह-अवरोह इत्यादिका चक्र भए झैं आशा-निराशाको चक्रमा, अपरम्पार निराशावतारको महिमागान अहिलेको बुलन्द माग हो।

वाह्! अपरम्पार निराशावतार!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?