+
+

साउदी अरबमा खुल्दैछ पहिलो मदिरा पसल, के इस्लामिक पहिचान कमजोर होला ?

बीबीसीबाट बीबीसीबाट
२०८० माघ १४ गते १४:१५

१४ माघ, काठमाडौं । साउदी अरबले निश्चित गैरमुस्लिम विदेशीलाई मदिरा बिक्री गर्नका लागि राजधानी रियादमा पहिलो पसल खोल्ने भएको छ । योसँगै साउदी अरबमा ७० वर्षमा पहिलोपटक मदिरा बिक्री हुनेछ ।

साउदी अरबमा सन् १९५२ देखि मदिरा प्रतिबन्धित छ । राजा अब्दुल अजिजका छोराले रक्सीको नसामा एकजना बेलायती कूटनीतिज्ञको हत्या गरेपछि साउदी सरकारले मदिराको प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

राजधानी रियादमा खुल्ने यो मदिरा पसलका ग्राहक केवल विदेशी कूटनीतिज्ञहरु मात्र हुनेछन् ।
साउदी अरबमा रहेका विदेशी कूटनीतिज्ञ तथा कूटनीतिक नियोगहरुले आफ्नो प्रयोगका लागि चाहिने मदिरा वर्षौँदेखि सिलबन्दी कूटनीतिक प्याकेट अर्थात् डिप्लोम्याटिक पाउचमार्फत् मदिरा ल्याउने गरेका छन् ।

साउदी अधिकारीहरुका अनुसार रियादमा खुल्ने मदिरा पसलले मदिराको अवैध व्यापार रोक्नेछ ।

के छन् मापदण्ड ?

राजधानी रियादमा मदिरा पसल खोल्ने योजनासँग जानकारी एक साउदी सरकारी अधिकारीले रोयटर्सलाई बताए अनुसार मदिरा पसल केही हप्तामै खुल्न सक्नेछ ।

यद्यपि यो मदिरा पसलमा केही मापदण्ड तथा सीमाहरु तोकिएको छ ।

मदिराको कोटा प्राप्त गर्ने कूटनीतिज्ञहरुले सुरुमा नाम दर्ता गराउनुपर्नेछ र त्यसपछि साउदी सरकारबाट स्वीकृति प्राप्त हुनेछ ।

मदिरा पसलमा २१ वर्षभन्दा कम उमरेका व्यक्तिलाई आउने इजाजत दिइनेछैन र पसलभित्र सधैं उचित पोशाकको आवश्यकता पर्नेछ ।

मदिरापान गर्नेले अरु कसैबाट रक्सी मगाउन पाउने छैनन् । अर्थात् कूटनीतिज्ञले आफ्नो नाउँको रक्सी किन्न आफ्नो गाडी चालकलाई पठाउन पाइनेछैन । मदिरा खरीद गर्ने मासिक कोटा तोकिनेछ ।
यद्यपि एएफपीले प्राप्त गरेको दस्तावेजमा उल्लेख भए अनुसार यी नियमहरु खासै कडा भने हुने छैनन् ।

दर्तावाल ग्राहकले प्रति महिना २४० प्वाइन्ट्स मदिरा किन्न पाउनेछन् । यसमा एक लिटर स्पिरिट्सलाई ६ प्वाइन्ट मानिनेछ । यस अनुसार एक लिटर वाइन भनेको तीन प्वाइन्ट्सको हुनेछ । त्यस्तै एक लिटर बियरको एक प्वाइन्ट हुनेछ ।

मदिरा पसलबाट सबै विदेशीहरुले रक्सी खरीद गर्ने पाउने हुन् वा केवल कूटनीतिज्ञले मात्र भन्ने खुलाइएको छैन । योसँगै मदिरा रियादको जनजीवनको हिस्सा बन्नेछ ।

तथापि रक्सी कहाँ पिउने र पिएपछि कस्तो व्यवहार गर्ने भन्ने मदिरापान गर्नेहरुका लागि निकै महत्वपूर्ण बन्नेछ ।

हाल साउदी अरबमा रक्सी पिउनु वा घरमा राख्नु पनि अपराध हुन्छ र त्यसो गर्नेलाई जरिवाना, कैद र सार्वजनिक रुपमा कोर्रा हिर्काइनुका साथै अनधिकृत विदेशीहरुलाई देशनिकाला गर्ने कानून रहेको छ ।

मदिरा नीतिसँग सम्बन्धित नयाँ दस्ताबेज अनुसार साउदी प्रशासन नयाँ नियम तर्जुमामा काम गरिरहेको छ । नयाँ नियम अनुसार रक्सीको निश्चित मात्रा लैजाने अनुमति हुनेछ । यसले मदिराको अनियन्त्रित लेनदेनमा रोक लाग्नेछ ।

जब राजकुमारले बेलायती कूटनीतिज्ञलाई गोली हाने

वर्षौँदेखि कूटनीतिक कर्मचारीहरुले आफ्नो कूटनीतिक झोलाको अधिकार मार्फत् मदिरा भित्राउने गर्दछन् र प्रयोग गर्दै आएका छन् । यसमा साउदी प्रशासनले कुनै अवरोध गरेको छैन ।
साउदी अरबको यो व्यवहारलाई पनि उसको भिजन २०३० को ऐनामा हेरिँदैछ ।

साउदी अरबका प्रधानमन्त्री तथा राजकुमार मोहम्मद बिन सलमानले यो दूरदृष्टि अन्तर्गत मुलुकमा विद्यमान कडा नियमहरुलाई उदार बनाइरहेका छन् ।

खाडीका अन्य देशहरुमा पनि मदिराका सम्बन्धमा यस्तै नीति रहेका छन् । तर यूएई र कतारमा २१ वर्षमाथिका गैर मुस्लिमहरुलाई होटल, क्लब तथा बारमा रक्सी बेच्ने अनुमति छ ।

यद्यपि साउदी अरबले तय गर्ने नयाँ नियममा पनि मदिरा बिक्रीका सम्बन्धमा यूएई र कतारको जस्तै प्रबन्ध हुने नहुने विषयमा केही खुलेको छैन । इस्लाम धर्ममा मदिरालाई हराम भनिन्छ ।

सन् १९५२ सम्म मदिराको सम्बन्धमा साउदी अरबले एकप्रकारको सम्झौतावादी दृष्टिकोण अवलम्बन गरेको थियो । सन् १९५१ म राजकुमार मिसारी बिन अब्दुल अजिज अल साउदले जेद्दामा ब्रिटिस कुटनीतिज्ञ सिरिल उस्मानको गोली हानेर हत्या गरे ।

एउटा कार्यक्रममा रक्सी दिन अस्वीकार गरेको निहुँमा उनले कूटनीतिज्ञको हत्या गरेका थिए । सो घटनाको एकवर्ष पछि राजा अब्दुल अजिजले देशमा मदिरामाथि पूर्णरुपमा प्रतिबन्ध लगाइदिए । मिसारीलाई हत्याको मामिलामा दोषी ठहर गरिएको थियो ।

यसअघि दिएको थियो महिलालाई गाडी चलाउने अधिकार

साउदी अरबमा सन् २०१८ को जुनमा पहिलोपटक १० जना साउदी महिलाले आफ्नो देशमा गाडी चलाउने लाइसेन्स प्राप्त गरेका थिए ।

त्यहीँ वर्ष साउदी राजकुमार मोहम्मद बिन सलमानले महिलाहरुमाथि गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक फैसला गरेका थिए ।

सन् २०१८ को जुनदेखि साउदी अरबमा महिलाहरु सडकमा गाडी कुँदाइरहेका देखिन थालेका थिए ।

महिलालाई गाडी चलाउने अधिकार प्रदान गर्ने उक्त कदम रुढीवादी मुलुक साउदीलाई आधुनिकतातर्फ लैजाने राजकुमार मोहम्मद बिन सलमानको उदारीकण अभियान अन्तर्गत लिइएको हो ।

यद्यपि उक्त कदमका बावजूत राजकुमार सलमानले आलोचनाको समेत सामना गरिरहनु परेको छ । वास्तवमा जो महिला अधिकारकर्मीहरुले त्यहाँका महिलाहरुलाई गाडी चलाउने अधिकार दिनुपर्ने अभियान चलाएका थिए उनीहरुलाई विदेशी शक्तिसँग सम्बन्ध राखेको आरोप लगाएर साउदी सरकारले पक्राउ गरेको छ ।

साउदी अरबमा सन् २०१६–१७ मा भिजन २०३० को घोषणा गरिएको थियो । यो योजनाको मुख्य उद्देश्य साउदी अरबको अर्थव्यवस्थामा तेल निर्यातमाथिको निर्भरता कम गरेर त्यसमा विविधता ल्याउनु रहेको छ ।

मुलुकमा अन्य उद्योगहरुको विकास गर्नु, पर्यटन उद्योगलाई बढावा दिनु र निजी उद्योगहरुलाई बढावा दिनु नै भिजन ३०३० को उद्देश्य छ ताकि देशमा अधिक रोजगारी सिर्जना गर्न सकियोस् र सरकारमाथिको यो बोझ कम होस् ।

के इस्लामिक पहिचानबाट टाढा जाँदैछन् राजकुमार ?

३८ वर्षका मोहम्मद बिन सलमान साउदी अरबका प्रधानमन्त्री तथा राजकुमार हुन् । उनले पछिल्लो ७ वर्षदेखि मुलुकको नेतृत्व गरिरहेका छन् ।

राजकुमार सलमानले आफ्नो नेतृत्वमा साउदी अरबमा यस्ता कैयन् निर्णयहरु गरेका छन् जसका कारण साउदी अरबलाई एक इस्लामिक रुढीवादी मुलुकबाट आधुनिक देश बनाइरहेको भन्दै उनको प्रसंशा समेत भएको छ ।

सन् २०१६ मा राजकुमार बिन सलमानले भिजन २०३० को घोषणा गरेका थिए । उक्त दूरदृष्टि अन्तरगत विभिन्न खालका सुधार सुरु गरिएको छ । उनले साउदी अरबलाई खुल्लापनतर्फ लगिरहेका छन् । उनले चलचित्र तथा कन्सर्टहरुमाथिको प्रतिबन्ध पनि हटाएका छन् ।

यहाँसम्म कि हिपहप कलाकारलाई समेत साउदी अरबमा बोलाइएको छ ।

राजकुमारले प्रतिक्रियावादी धर्मगुरुहरुको भूमिका पनि सिमित गरिदिएका छन् । धार्मिक प्रहरीको प्रावधान हटाएका छन् । उनले इजरायलसँगको सम्बन्ध सुधार गर्ने प्रयास समेत गरेका थिए ।

अमेरिकी पत्रिका द एटलान्टिकले सन् २०२२ मा एक अन्तरवार्ताका क्रममा के साउदी अरबलाई इस्लामिक पहिचान नै कमजोर बन्नेगरी आधुनिक बनाइँदैछ कि भनेर साउदी राजकुमारलाई सोधेको थियो ।

त्यसको जवाफमा उनले भनेका थिए, ‘विश्वमा हरेक देशको स्थापना फरक फरक विचार तथा मूल्यहरुको आधारमा भएको छ । उदाहरणको रुपमा अमेरिका लोकतन्त्र, स्वतन्त्रता तथा स्वतन्त्र अर्थव्यवस्था जस्ता मूल्यहरुको आधारमा बनेको छ । मानिसहरु यिनै मूल्यहरुको आधारमा एकजुट छन् । तर के सबै लोकतन्त्र असल हुन् त ? के सबै लोकतन्त्रले राम्रोसँग काम गरिरहेका छन् त ? निश्चित रुपमा छैनन् ।’

उनले अघि थपेका थिए, ‘हाम्रो देश इस्लामका मूल्य तथा विचारहरुको जगमा बनेको हो । यसमा आदिबासी संस्कृति छ, अरबको संस्कृति छ । साथै साउदीका संस्कृति तथा मान्यताहरु छन् । यो हाम्रो आत्मा हो । यदि हामीले यसलाई छाडिदियौँ भने देश नष्ट भएर जानेछ । हाम्रा लागि प्रश्न यो हो कि साउदी अरबलाई विकास तथा आधुनिकीकरणको सही बाटोमा कसरी ल्याउने ? यस्तै खालको प्रश्न अमेरिकाका लागि हुन्छ, त्यो भनेको कसरी लोकतन्त्र, स्वतन्त्र बजार तथा स्वतन्त्रतालाई सही मार्गमा राख्ने ? यो सवाल यसकारण पनि जरुरी छ, किनकि यो गलत मार्गमा जान सक्दछ ।’

आत्माको रुपमा रहेका आफ्ना मूल्यहरुभन्दा टाढा नहुने उनले प्रष्ट पारेका थिए ।

उनले भनेका थिए, ‘साउदी अरबमा पवित्र मस्जिद छन् र यसलाई कसैले पनि हटाउन सक्दैन । यी पवित्र मस्जिदहरु सदैव रहुन् भन्ने हाम्रो जिम्मेवारी हो । हामी हाम्रो देशलाई साउदीहरुका लागि र यो क्षेत्रका लागि सही मार्गमा राख्न चाहन्छौँ । हामी शान्ति तथा सहअस्तित्वको आधारमा बाँकी विश्वसँग जोडिन चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?