+
+

हुण्डी र क्रिप्टो कारोबारमा जोडिएका ४ जना पुर्पक्षका लागि थुनामा

एक जनालाई ५ लाख धरौटी माग, शम्पत्ति शुद्धिकरणमा बुझाउने प्रहरी तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते २१:४५
थुनामा पठाइएकामध्ये एक अभियुक्त रुपेश श्रेष्ठ ।

१४ माघ, काठमाडौं । हुण्डी र क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका ५ जनामध्ये चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले व्यवसायी रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । आदेशपछि उनीहरुलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।

उनका अनुसार, प्रहरी हिरासतमा रहेका झनिन्द्रप्रसाद खतिवडालाई भने ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । तर, उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि बुझाउनुपर्ने भएकाले खतिवडा हिरासतमै रहेको अधिकारीले बताए ।

प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता गरेको थियो ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । त्यसक्रममा छानबिनका क्रममा मुलुकको सबैभन्दा हुण्डी र क्रिप्टो करेन्सी कारोबारीको समूह फेला परेको थियो ।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका थिए । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनी फरार छन् । व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ ।

उनी विमानस्थल भन्सारले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए ।

रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि फरार छन् ।

यो मुद्दामा दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?