+
+

व्यवसायी रुपेश श्रेष्ठको घरमा भेटियो झण्डै २ अर्ब हुण्डी कारोबारको ढड्डा

गौरव पोखरेल गौरव पोखरेल
२०८० माघ ९ गते १६:१३
हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका व्यवसायी रुपेश श्रेष्ठ ।

९ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको छ ।

ब्यूरोको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।

उनका अनुसार, ‘जोन रोबर्ट’ नाम गरेको ढड्डामा मात्रै १ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको देखिएको छ । उक्त ढड्डामा ९८९ वटा हुण्डी कारोबारको विवरण भेटिएको सीआईबीको भनाइ छ ।

‘रेन बेकर’को नाममा भएको ढड्डामा २७ करोड ५५ लाख ६० हजार रुपैयाँ कारोबारको विवरण भेटिएको छ । यसरी रुपेश श्रेष्ठले कम्तीमा दुई अर्ब २६ करोड रुपैयाँ बढीको अवैध हुण्डी कारोबार गरेको देखिएको सीआईबीका अधिकृतहरुको दाबी छ ।

उनको कोठाबाट बरामद भएको मोबाइल, ल्यापटप, कम्प्युटरको सीपीयू लगायतको प्राविधिक जाँच गर्दा उनले क्रिप्टो करेन्सीको कारोबार गरेको समेत देखिएको एआईजी बज्राचार्यले बताइन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुईवटा खातामा १ नोभेम्बर २०२२ देखि १७ नोभेम्बर २०२३ सम्मको विवरण भेटिएको छ ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

विवरणमा विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेर रकम डेलिभरी भएको, क्लियर भएको आदि जनाउ दिइएको छ । त्यसमा उल्लिखित हस्ताक्षर आफ्नो कर्मचारी शदर भट्टराईको भएको श्रेष्ठले प्रहरीसमक्ष दिएको बयानमा स्वीकारेका छन् ।

रुपेशले अमेरिकामा व्यवसाय गर्ने आफ्ना भाइ दिपेश श्रेष्ठ र भाञ्जा आयुष श्रेष्ठसँगै ग्यास स्टेशनमा काम गर्ने नेपालीहरुको तलब वापतको रकम आफूले नेपालमा रहेका उनीहरुको आफन्तलाई भुक्तानी गरिदिएको प्रहरीसँगको बयानमा जिकिर गरेका छन् ।

‘यसरी भुक्तानी दिने काम करिब १ वर्ष अगाडिबाट गर्न थालेको हुँ, मैले नेपालमा भुक्तानी दिएको रकम मेरो भाइ तथा भाञ्जाले मलाई पठाउने गरेका थिए’, उनले भनेका छन् ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

आफूहरुले पहिले बागबजारमा अपविट कन्सल्टेन्सी प्रालि सञ्चालन गरेको भन्दै श्रेष्ठले त्यतिबेला विद्यार्थी ल्याउन सहयोग गर्नेहरुको विवरण टिप्न जोन र रेन नामको डायरी राखेको बताएका छन् ।

विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई सल्लाह, सुझाव दिन कन्सल्टेन्सी स्थापना गरिएपनि शिक्षा मन्त्रालयले स्वीकृति नदिँदै साझेदारबीच विवाद भएर बन्द गर्नुपरेको उनले बताएका छन् ।

उनको मोबाइलको विवरणमा क्रिप्टोकरेन्सी कारोबारको विवरण पनि भेटिएको सीआईबीका अधिकारीहरुले बताएका छन् । ती विवरणमा व्यवसायी विमल पोद्दार समेत जोडिएका छन् । ६० दिनसम्म अनुसन्धान गरेर सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा रुपेश, विमलसहित १७ जनालाई प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा दायर मुद्दामा दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ ।

व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सारले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए ।

पछिल्लो समय बरामद ठूलो परिणामका सुनको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत भएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ । यद्यपि, अनुसन्धानका लागि दक्ष जनशक्तिको अभाव हुँदा त्यो जालो तोड्न प्रहरीलाई सकस परिरहेको छ ।

यो प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ ।

रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, सरद भट्टराई, वीरेन्द्र मगर, दिपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई फरार प्रतिवादी बनाइएको छ ।

प्रहरीले यो गिरोहलाई नेपालको हालसम्मकै सबैभन्दा ठूलो हुण्डी र क्रिप्टो करेन्सी कारोबारी भनेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?