२० साउन, काठमाडौं । सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारतमा निर्वासित भएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले त्यो आन्दोलन अचानक सुरु नभएको दाबी गरेकी छन् । देश छाडेको दुई वर्षपछि बुधबार पहिलो पटक सार्वजनिक रूपमा पत्रकार सम्मेलनमा सहभागी हुँदै हसिनाले त्यो आन्दोलन नियोजित रूपमा गरिएको दाबी गरेकी छन् ।
हसिनाले विद्यार्थी आन्दोलन चलिरहँदा प्रधानमन्त्रीका हैसियतमा आफै अग्रसर भएर वार्ताको पहल गरेको पनि बताइन् ।
‘मैले आफै विद्यार्थीसँग वार्ताको पहल गरेर प्रधानमन्त्री निवास गणभवन आउन आमन्त्रण दिएकी थिएँ,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘तीन मन्त्रीले पनि उनीहरूसँग वार्ता गरेका थिए ।’
तर, योजनाबद्ध रूपमा झूटा प्रचार फैलाइएको उनले बताइन् । ‘विद्यार्थीको भावनाको प्रयोग गरियो । जबकि संगठित समूहले उनीहरूको आन्दोलनलाई हिंसा र सत्ता परिवर्तका लागि एक आधारका रूपमा प्रयोग गरे,’ हसिनाले भनिन् ।
‘त्यो अचानक सुरु भएको विद्यार्थी अभियान पनि थिएन । त्यसको देखिने र जवाफ दिने नेतृत्व पनि थिएन । पर्दा पछाडिबाट निर्देशित थियो,’ उनले अगाडि भनिन् ।
जुलाई १५ भन्दा पछि विद्यार्थी आन्दोलनको स्वरूप बदलेर हिंसात्मक पारिएको पनि उनले बताइन् ।
‘हत्या, आगजनी, हमलो र लुटपाट सुरु भयो,’ हसिनाले अगाडि भनिन्, ‘सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याइयो, बंगलादेश टेलिभिजनमाथि हमला गरियो र आगो लगाइयो ।’
यस्तै, कानुन कार्यान्वयन गर्ने निकाय र एजेन्सीमाथि संगठित हमला गरिएको पनि उनले बताइन् । ‘प्रहरी र अन्य अधिकारीको हत्या गरियो । उनीहरूको शव फ्लाइओभरमा टाँगियो,’ हसिनाले पत्रकारसँग भनिन् ।
त्यसक्रममा ४६० प्रहरी थानामा हमला गरिएको, कैयौं प्रहरी चौकी जलाइएको, हतियार लुटिएको पनि उनले बताइन् । ‘आगजनी हुँदा कैयौं प्रहरी भित्रै फसे, पिटीपिटी मारियो,’ उनले अगाडि भनिन् ।
सो क्रममा तीन हजार प्रहरी मारिएको तथ्यांक हसिनाले सुनाइन् । ‘उनीहरूमाथि हमला गरियो, प्रताडित गरेर गम्भीर हिंसात्मक ढंगले मारियो,’ हसिनाले पत्रकार सम्मेलनमा भनिन् ।
-बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4