+
+

माधव नेपालको प्रतिवेदन : सरकार जनपक्षीय, प्रतिपक्ष गैरजिम्मेवार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते २१:५३

१४ माघ, काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले सैद्धान्तिक र राजनीतिक रुपमा अझैपनि नेकपा एमाले समस्या बनिरहेको निष्कर्ष निकालेको छ ।

राजधानी काठमाडौंमा आइतबार सुरु भएको दोस्रो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी एमाले अझै मुलुकको समस्या बनिरहेको उल्लेख छ ।

प्रतिवेदनले एमालेलाई प्रतिगामी कित्तामै राखेको छ । ‘पुनरुत्थानवादी, प्रतिगामी तथा पश्चगामी शक्तिहरुको क्रियाकलापहरु र प्रतिपक्षका गतिविधिहरुबाट मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आभास पाइन्छ’, नेपालले लेखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई एकीकृत समाजवादीले जनपक्षीय भनेको छ । ‘.. प्रचण्डकै नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत र नाउपा सम्मिलित सात दलीय गठबन्धनको सरकार कायम छ । यस सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ ।

सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको निष्कर्ष प्रतिवेदनमा छ । सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र लगायतका दलबारे थप केही लेखिएको छैन । तर एमालेप्रति भने अध्यक्ष नेपालले आक्रामक निष्कर्षहरु छलफलका लागि ल्याएका छन् । सैद्धान्तिक, राजनीतिक निर्णय र संगठनात्मक (वाम एकतामै) रुपमै एमाले समस्या रहेको प्रतिवेदनको निष्कर्ष छ ।

‘सत्ताच्यूत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्तै गैरजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्दत छ’, वर्तमान राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

तर गठबन्धन टिकाएर लैजान सत्ता साझेदाहरुबीच आसपी समझदारीमा जोड्न दिनुपर्ने अध्यक्ष नेपालले निष्कर्ष निकालेका छन् । ‘गठबन्धनका दलहरुबीचमा आपसी समझदारीका साथ काम गर्नुपर्दछ भन्नेमा पार्टीले जोड दिन चाहन्छ’, नेपालले लेखेका छन् ।

राष्ट्रियसभाको निर्वाचनकै क्रममा एमालेले सत्ता गठबन्धन तोड्न चाहेपनि सफल हुन नसकेको प्रतिवेदन पेश भएको छ । ‘नेकपा (एमाले) ले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । .. सत्ता गठबन्धनका दलहरु एकजुट भएर उभिन पुगेपछि नेकपा एमालेको प्रयत्न असफल भयो’, प्रतिवेदनमा भनिएको छ ।

तर कोशी प्रदेशबाट एक सिट जितेर एमालेले सत्ता गठबन्धनभित्र समीक्षा गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको अध्यक्ष नेपालको निष्कर्ष छ । सँगै, प्रतिवेदनमा राष्ट्रियसभाको समीकरण फेरिएर एमाले तेस्रो शक्तिमा झरेको खुसियाली लुकेको छैन । ‘यसअघि सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) तेस्रो दर्जामा खुम्चिन पुगेको छ । नेपाली कांग्रेस दोस्रो ठूलो दल बन्न पुगेको छ भने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) चौथो र जसपा पाँचौ दलमा रहेको छ’, प्रतिवेदनमा लेखिएको छ ।

समस्या ओलीमै

आगामी ३–७ जेठमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा पेश गरिने विधान मस्यौदामाथिको छलफल मुख्य एजेण्डा रहेको अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको सैद्धान्तिक कार्यदिशा तथा राजनीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । यसमा पनि ओलीलाई नै समस्या भनिएको छ ।

२०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनले पार्टीको सही कार्यदिशा पारित गरेपनि पार्टी नेतृत्वमा ओली आएकाले कार्यान्वयनमा समस्या आएको निष्कर्ष अध्यक्ष नेपालले प्रस्तुत गरेका छन् । तिनै ओलीले २०७४ सालको दुई तिहाइको सरकार जोगाउन नसकेर कम्युनिष्ट आन्दोलनलाई नै गम्भीर संकटमा पुर्‍याएको प्रतिवेदन छलफलका लागि अगाडि बढाइएको छ ।

‘… सो अवसरलाई तत्कालीन नेतृत्वबाट ठीक ढंगले सदुपयोग गर्न नसकेको र गलत कदम चाली लोकतान्त्रिक प्रणाली र कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा पुर्‍याएको कारणले गर्दा हामीले नचिताएको अवस्थामा देशको राजनीति र कम्युनिष्ट आन्दोलन पुगेको यथार्थ हामी सबैलाई अवगत नै छ’, प्रतिवेदनमा भनिएको छ ।

ओलीको कारण कम्युनिष्ट आन्दोलन ओरालो लागेको र संविधानमाथि चुनौती थपिएको अध्यक्ष नेपालले प्रतिवेदन तयार पारेका छन् । ‘..त्यसैले आजको हाम्रो एउटा महत्वपूर्ण कार्यभार नेपाली कम्युनिष्ट आन्दोलनलाई रक्षा र विकास गर्नु पनि हो’, प्रतिवेदनमा भनिएको छ ।

नेपाली विशेषताको समाजवाद राजनीतिक कार्यदिशा रहेको निष्कर्ष सहित एकीकृत समाजवादीले एमालेका गतिविधिविरुद्ध उभिनुपर्ने प्रतिवेदन अगाडि बढाएको छ ।

‘.. ओली नेतृत्वको गुटले गरेका गलत काम, लिएका दक्षिणपन्थी नीति तथा फैलाइ रहेको गलत विचार र प्रवृत्तिहरु तथा भ्रमहरुलाई चिर्नका लागि वैचारिक क्षेत्रका अभियान सञ्चालन गर्ने विषयहरु यतिबेला एक महत्वपूर्ण वैचारिक कार्यभार बनेको छ’, प्रतिवेदनमा लेखिएको छ ।

तर सँगै वामपन्थी एकता र सहकार्य पनि पार्टीको राजनीतिक कार्यभारका रुपमा उल्लेख गरिएको छ । ‘.. विभिन्न ढंगले मोर्चा निर्माण गरी पार्टी एकताका आधारहरु तयार गर्ने अर्को महत्वपूर्ण राजनीतिक कार्यभारलाई पनि अगाडि बढाउनुपर्दछ’, प्रतिवेदनमा छ । प्रतिवेदनमा गत ४ असारमा माओवादी, जसपा र विप्लव समेतको मोर्चाबारे अलग्गै शीर्षकमा जानकारी दिइएको छ ।

अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थितिबारे प्रतिवेदनको सुरुमा लामै व्याख्या गरेका छन् । चीनविरुद्ध अमेरिकाले घेराबन्दी गर्न खोजेको देखि विश्वभर देखिएका अनेक सशस्त्र र तथा निशस्त्र संघर्षहरु प्रतिवेदनमा लेखिएको छ ।

रुस–युक्रेन युद्ध गम्भीर मोडमा पुगेको, रुसको प्रभाव कमजोर पार्न पश्चिमा शक्ति लागिपरेको, गााजा क्षेत्रमा बीसौं हजार नागरिक मारिएको लगायत प्रतिवेदनमा समावेश छ ।

अन्तर्राष्ट्रिय संघर्षमा एकीकृत समाजवादीले चीन, रुस र प्यालेस्टाइनको ध्रुबमा प्रष्ट उभ्याएको छ । ‘… मानवता विरोधी क्रियाकलापहरुको हाम्रो पार्टी विरोध गर्दछ । यसका साथै दक्षिण अफ्रिका, इण्डोनेसिया लगायतले युद्ध र नरसंहारका विरुद्ध उठाइरहेका कदमहरुलाई हाम्रो पार्टी समर्थन गर्दछ’ प्रतिवेदनमा भनिएको छ, ‘.. अमेरिका र युरोपियनहरुले गरेको भूमिका निन्दनीय छ ।’

अध्यक्ष नेपालको यो प्रतिवेदनमाथि आज समूहगत छलफल भएको छ । भोलि समूहगत छलफलको निष्कर्षलाई उपाध्यक्ष वेदुरामा भुसाल नेतृत्वको सुझाव संयोजन समितिले अन्तिम प्रस्तावका रुपमा तयार पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?