+
+

धरहराको भूमिगत पार्किङले सवारी चालकलाई राहत

काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिने भन्दै पुरानो बसपार्कस्थित काठमाडौं टावर र धरहराको भूमिगत पार्किङ निःशुल्क उपलब्ध गराएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ १७ गते ९:४५

१७ माघ, काठमाडौं । चाबहिल बस्ने भीमराज श्रेष्ठ बुधबार सुन्धारास्थित धरहरासँगै बनेको भवनको भूमिगत पार्किङमा मोटरसाइकल पार्किङ गरेर न्युरोड पुगे ।

पहिलोचोटि धरहराको ‘बेसमेन्ट’ मा पार्किङ गरेका श्रेष्ठले आधा घण्टामा आफ्नो काम गरेर आफ्नो सवारीसाधन लिएर फर्किए ।

महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङ दिएकोमा खुसी व्यक्त गर्दै उनले दुई वर्षअघि गतिलो ठाउँमा मोटरसाइकल पार्किङ नगर्दा हराएको बताए ।

‘महानगरले गरेको काम एकदम ठिक छ । न्युरोड जान ५–७ मिनेट समय लाग्छ, तर निःशुल्क र सुरक्षित पार्किङ गर्न पाउने भएपछि अरू कुरामा थप तनाव भएन,’ श्रेष्ठले भने ।

न्युरोड आइरहने उनले काठमाडौंका अन्य स्थानमा पनि सरकारले नै अपनत्व लिएर पार्किङ बनाए जनताले धेरै सुख पाउने बताए ।

‘न्युरोडमा पहिले पार्किङका नाममा लुट चलिरहेको थियो । पार्किङको ठेक्का लिनेले बदमासी गरेका थिए । अब त्यो हटेको छ, बरु महानगरले यही पार्किङ व्यवस्थित गरे हुन्थ्यो,’ उनले भने ।

उनीजस्तै सुधा कोइरालाले धरहराको पार्किङले गर्दा सहज भएको बताइन् । ‘यत्रो ठूलो पार्किङ रहेछ, तर यहाँ एउटा स्कुटर राख्न एक घण्टा ठाउँ खोजेर पनि पैसा दिनुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले त धेरै नै सहज भएको छ नि ! एक त सजिलै पार्किङका लागि ठाउँ बनेको छ । अर्को, महानगरकै प्रहरी डिउटीमा हुने भएपछि सुरक्षित पनि हुने भइहाल्यो । पैसा पनि बचत भयो ।’

सुन्धारामा पार्किङ गरेर वीर अस्पताल बिरामी भेट्न जान लागेका श्यामकृष्ण तिवारी पनि उनीहरूजस्तै खुसी छन् ।

‘अस्पताल आउँदा पहिले–पहिले पार्किङको कत्रो समस्या हुन्थ्यो । कहिलेकाहीँ बिरामी कुरुवालाई पालो दिउँ भनेर बस्दा सयौंको बिल देखाउँथे, तर अब धरहरामा पार्किङ गर्यो, एकछिन हिँड्यो । यही ठिक छ, बालेनले राम्रो गरेका छन्,’ तिवारीले भने ।

 धुलो र बत्तीको समस्या

महानगरपालिकाले धुलो सफा गर्ने र बत्तीको व्यवस्था गर्नुपर्ने सेवाग्राही बताउँछन् । ‘धुलो त व्यापक नै छ । भर्खरै सुरु भएर होला, धुलोले चाहिँ हैरान नै पार्ने रहेछ, यसमा महानगरले हेर्नुपर्ने हो,’ पार्किङमा भेटिएका मुकेश ओझाले भने, ‘एकैछिनमा बाइक नचिन्ने धुलो हुँदा त अलिअलि समस्या भो । तर, केही नहुनुभन्दा यो पनि ठिकै छ ।’

पार्किङमै भेटिएकी श्रीकला कार्कीले टर्च बालेर स्कुटर खोज्नुपरेको सुनाइन् । डरलाग्दो अँध्यारो भएको भन्दै महानगरले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘एउटाभन्दा बत्ती बलेको रहेनछ, खै पछि राख्छन कि तर अहिले त यत्रो बाइकमा कसरी खोज्ने ? लाइट चाहिँ तत्काल हाल्नुपर्ने देखियो र अँध्यारो नै डरलाग्दो छ,’ उनले गुनासो गरिन् ।

पार्किङ गर्न आउने सेवाग्राही महानगरपालिकाले राम्रो सुरुवात गरे पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने सेवाग्राही अंकित खतिवडा बताउँछन् ।

 न्युरोडलाई विकल्प दिँदा अरूलाई पनि राहत

काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिने भन्दै पुरानो बसपार्कस्थित काठमाडौं टावर र धरहराको भूमिगत पार्किङ निःशुल्क उपलब्ध गरायो । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र काठमाडौं टावरमा ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ ।

यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो । अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्ग्रे अट्न सक्छन् ।

महानगरपालिकाले सुन्धारामा चार पाङ्ग्रेलाई भने पार्किङ खुला गरेको छैन । ‘योसँगै काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा ७ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारी पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो,’ पाण्डेले भने, ‘अर्को व्यवस्था नहुन्जेल पार्किङ निःशुल्क हुन्छ ।’

महानगरको दाबीअनुसार यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।

पाण्डेले न्युरोडमा पार्किङ गर्न जाने सवारी लक्ष्यित भएरै खोले पनि अन्य स्थानका सेवाग्राहीलाई पनि धेरै लाभ भएको सुनाए ।

‘कहाँको मान्छेले गरे भन्दा पनि पार्किङ सुविधा मुख्य कुरा हो । महानगरले जनताका लागि सोचेरै योजना अगाडि ल्याएको हो । अन्य स्थानमा पनि हामी  पर्याप्त पार्किङ सुविधा दिन खोजिरहेका छौं,’ पाढडेले अनलाइनखबरसँग भने ।

महानगरको नीति नै सवारी गुड्ने सडकमा पार्किङ नगर्ने भएको र बिस्तारै काठमाडौं महानगरभरि कालोपत्रे सडकमा पार्किङ निषेध गर्ने पाण्डेले बताए ।

महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय २ पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे सवारी पार्किङ गर्न सकिन्थ्यो ।

जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय दुई पाङ्ग्रे र पाँचवटा चार पाङ्ग्रे, प्युखा १ सय ५० दुई पाङ्ग्रे र ६ चार पाङ्ग्रे, खिचापोखरी १ सय ५० दुई पाङ्ग्रे र १५ चार पाङ्ग्रे र वीर अस्पताल महाबौद्धमा १ सय ५० दुई पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो ।

महानगरले न्युरोडभन्दा अगाडि बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत ठाउँमा पार्किङ निषेध गरिसकेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?