+
+

रास्वपाले प्रदेश समितिको आकार घटाउने, राष्ट्रसेवक समाज बनाउने

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदलले प्रदेश कार्यसमितिको आकारमा व्यापक कटौती गरी विधान तयार गरेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० माघ १७ गते २०:४६

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी विधानलाई संशोधन गरेर संगठन संरचना थप्ने भएको छ । जलेश्वर बैठकबाट पदाधिकारी र सचिवालय पार्टी संरचनामा थप गर्ने निर्णय गरेको रास्वपाले विधानमा संशोधन गर्न कार्यदल बनाएको थियो ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदलले प्रदेश कार्यसमितिको आकारमा व्यापक कटौती गरी विधान तयार गरेको छ ।

उक्त कार्यदलमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे सदस्य थिए ।

विधानमा ‘राष्ट्रसेवक समाज’ को अवधारणा ल्याइएको छ । यो संरचना केन्द्रमा भने गठन नहुने भएको छ । साथै, सबै तहका समितिलाई नियमन गर्ने गरी तहगत परिषद गठन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

प्रदेश समितिको आकारमा व्यापक कटौती

विधान संशोधन हुनुअघिको व्यवस्था अनुसार प्रदेश समिति ५० सदस्यीय भन्दा ठूला सक्ने व्यवस्था थियो । उक्त संख्यालाई घटाएर कार्यसम्पादन समिति बनाउन लागिएको छ । प्रस्तावित विधानमा ११ जनाको कार्यसम्पादन समिति हुने व्यवस्था गरिएको छ ।

प्रदेश समिति ठूलो भएकाले आकार घट्ने गरी नयाँ अवधारणा ल्याइएको रास्वपा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए । जिल्ला सभापतिहरु कार्यसम्पादन समितिमा पदेन सदस्य हुने व्यवस्था गरिएको छ ।

यसअघिको विधानमा भएको व्यवस्था अनुसार संघीय निर्वाचनबाट २, खुलाबाट निर्वाचित ११ र प्रदेश सभापतिले मनोनित गर्ने ३ जना हुने व्यवस्था थियो ।

नियमन गर्न सबै तहमा परिषद्

सबैभन्दा तल्लो पार्टी संरचनामा वडा तहदेखि सुरु गरी पाँचवटा तह छन् । वडा, पालिका, जिल्ला कार्यसम्पादन समिति, प्रदेश र केन्द्रीय समिति क्रियाशील छन् । यी सबै तहलाई नियमन गर्ने गरी परिषद् गठन गर्ने गरी विधानमा व्यवस्था गरिएको छ ।

परिषद् भने ६ तहमा हुने रास्वपाले जनाएको छ । केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडामा गरी छ तहमा परिषद् हुने विधान संशोधन सिफारिस कार्यदल सदस्य रहेको बुर्लाकोटीले जानकारी दिए ।

केन्द्रीय महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा परिषद् हुने रास्वपाले जनाएको छ । विधानमा भएको ‘केन्द्रीय भेला’को स्थानमा परिषद बैठक हुनेछ ‘भेलालाई परिषदमा बदलेर थोरै बनोटमा परिवर्तन गरेका छौं’, बुर्लाकोटी भन्छन् ।

प्रत्येक संरचनामा रहेका सदस्य स्वतः परिषद्को सदस्य हुने व्यवस्था गरिएको छ । तहगत सभापति उक्त समितिको स्वतः सभापति हुनेछन् । परिषदले राय सुझाव सम्बन्धित कार्यसमिति नियमन गर्ने अधिकार छ ।

साथै, सुझाव दिन सकिने व्यवस्था पनि छ । सबै तहले गरेका निर्णय तत् तत् परिषद्बाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वडा तहमा रिक्त पदपुर्ति गर्ने, वार्षिक गतिविधिको छलफल गर्ने, कुनै सदस्यले राम्रो कार्य गर्न नसके प्रत्याह्वान अर्थात् ‘राइट टु रिकल’ गर्ने अधिकार परिषदलाई छ ।

‘संरचनागत कमिटीहरुलाई जवाफदेही बनाउने परिकल्पनाले परिषद्को व्यवस्था गर्न लागिएको हो’, बुर्लाकोटीले भने,‘सबै तहका कमिटी तत् परिषद्प्रति उत्तरदायी हुनुपर्दछ ।’

केन्द्रीय परिषद १०० जनाको हुनेछ । केन्द्रीय समिति भने १२१ जनाको हुने व्यवस्था छ । केन्द्रीय परिषद्को पूर्णता निर्वाचनबाट हुनेछ । केन्द्रीय समितिको एक अवधिमा दुईपटक परिषदका लागि निर्वाचन हुनेछ ।

पहिलो चरणमा ५० जना र महाधिवेशन आउनु ठीक आधा समय रहेको समय थप ५० जनाका लागि निर्वाचन हुनेछ । पहिलो पटक निर्वाचित भएकाहरुको अवधि पाँच वर्ष हुनेछ भने बीचमा थपिएकाहरुको अवधि पनि पाँच वर्षको हुनेछ । परिषद निरन्तर रहने पार्टी संरचनाका रुपमा विधानमा उल्लेख गरिएको छ ।संगठन विभाग प्रमुख बुर्लाकोटीका अनुसार राष्ट्रिय सभाको निर्वाचनका मोडालिटीमा परिषदका नयाँ सदस्य चयन हुनेछन् ।

पार्टी संगठनको संरचनामा रास्वपाले नयाँ संरचना खडा गर्न लागेको छ । राष्ट्रसेवक समाज गठन गर्न लागिएको छ । संशोधित विधानमा राष्ट्रसेवक समाजको व्यवस्था गरिएको छ ।

तीन तहमा राष्ट्रसेवक समाज गठन हुने

जागरुक नागरिकलाई शुभेच्छुकका रुपमा आवद्ध बनाउन राष्ट्रसेवक समाज गठन गर्ने गरी विधान संशोधन गर्न लागिएको रास्वपाले जनाएको छ ।

वडा, पालिका र जिल्ला गरी तिन तहमा मात्रै राष्ट्रसेवक समाज गठन गरिने भएको छ । निर्वाचन क्षेत्र र केन्द्रीय तहमा भने राष्ट्रसेवक समाज गठन नहुने व्यवस्था विधानमा गरिएको छ ।

राष्ट्रसेवक समाजमा आवद्ध हुनलाई पार्टीको सदस्य बन्नुपर्ने वाध्यकारी व्यवस्था छैन । राष्ट्रसेवक समाज गठन गर्नका लागि संयोजक मात्रै पार्टी सदस्य भए हुनेछ ।

न्यूनतम सात जना देखि अधिकतम् ३३ जना सम्म हुने गरी वडा, पालिका र जिल्लामा राष्ट्रसेवक समाज गठन गर्न सकिने छ । कुनै वडामा ३३ भन्दा बढी राष्ट्रसेवक समाजमा जोडिन चाहे छुट्टै गठन गर्न पनि पाइने भएको छ ।

राष्ट्रसेवक समाजमा रहनेलाई पार्टीले सुरु गर्न लागेको ‘उम्मेदवार क्लब’मा प्रवेश गर्न छेकबार नहुने व्यवस्था गरिएको छ । पार्टी संरचनामा थपिएको ‘राष्ट्रसेवक समाज’ शब्दावली अनुसारको भूमिका भने हुँदैन ।

पार्टीले खटाएको कार्यमा खटिनुपर्ने वाध्यता राष्ट्रसेवक समाजका सदस्यलाई हुँदैन । ‘मुलुकको रुपान्तरणका लागि पार्टीमा आवद्ध नभई सहयोग गर्नसक्ने समूह हो,’ सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘हाम्रो पार्टीका शुभेच्छुकहरु कुनै न कुनै रुपमा राष्ट्रसेवकको काममा लागि रहुन् भन्ने अवधारणा हो । भावनात्मक रुपमा राष्ट्र सेवामा जोड्न खोजेका हौं ।’

१६५ वडामा अधिवेशन सकियो

मंसिरको अन्तिम साताबाट सुरु भएको रास्वपाको वडा अधिवेशन जारी रहेको छ । हालसम्म १६५ वडामा अधिवेशन सकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । सात प्रदेश मध्ये बढी वडा अधिवेशन बागमतीमा भएको छ भने कर्णालीमा एउटा मात्रै वडामा अधिवेशन सकिएको छ ।

रास्वपाले मुख्यगरी शनिबारको दिनमा वडा अधिवेशन गरिएको छ । वडा अधिवेशन सक्ने लक्ष्य रास्वपाले चार महिनाको बनाएको छ । पार्टी संरचना नै नबनेका कारणले वडाहरुको अधिवेशन क्रमशः गुर्नपरेको रास्वपाले जनाएको छ । ‘संरचना बनाएर त्यसलाई दुई महिना काम गर्न दिएर बल्ल अधिवेशन गर्दै गइरहेका छौं’, सहमहामन्त्री बुर्लाकोटीले भने ।

रास्वपाका अनुसार सबैभन्दा कमजोर संगठन कर्णालीमा छ । कर्णालीमा भन्दा तुलनात्मक संगठन राम्रो सुदूरपश्चिम र मधेशमा रहेको बुर्लाकोटीले जानकारी दिए । अन्य प्रदेशमा संगठन निर्माण तीव्र गतिमा बढेको बुर्लाकोटीको दाबी छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?